© २०२३
सुनवल, २९ साउन ।
पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिका केराको पकेट क्षेत्रको रुपमा चिनिन्छ । उँखु खेती गर्ने धेरै किसान पछिल्लो केही वर्षदेखि केरा खेतीतर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले पनि केराको पकेट क्षेत्रको रुपमा सो क्षेत्रका किसानलाई उत्पादनमा सहयोग गर्दै आएको छ ।
उखु बिक्री बापतको भुक्तानी समयमै नपाउने समस्याले किसानहरु केरा खेतीतर्फ आकर्षित भएपनि पछिल्लो दुई वर्षदेखि केरामा पनि भुक्तानी नपाउने समस्याले किसानलाई पिरोल्न थालेको छ । प्रतापपुर ८ का किसान लक्ष्मण सिंह थापाले भुक्तानी नपाउने समस्याले उखु खेती छाडेर केरा खेती सुरु गरे । दुई वर्ष सम्म थापाले केरा बिक्री गरेर राम्रो आम्दानी पनि गरे तर पछिल्ला दुई वर्षदेखि उखुमा जस्तै केरा बिक्री बापत भुक्तानी नपाउने समस्याले उनलाई सताएको छ । “छोराछोरी चितवनमा पढ्छन्, घर खर्च शिक्षा दिक्षाको जोहो त्यही केराबाट हुने हो । तर फेरि उखुमा जस्तै पैसा नपाउने समस्या दोहोरिन थाल्यो” थापाले दुखेसो पोखे ।
“व्यवस्था फेरियो, तर हामी किसानको अवस्था कहिल्यै फेरिएन, छेउँमै भएको स्थानीय सरकारले पनि सुन्दैन”– थापाले भने । सुस्ता र प्रतापपुरका किसानले केरा बिक्री बापतको दुई करोड बढी रकम पाउन बाँकी छ । स्थानीय व्यापारीहरुले नै विचौलियाको रुपमा केरा खरिद गर्ने र पैसा भुक्तानी नगर्ने समस्याका कारण किसान मर्कामा परेका छन् । बाहिरबाट केरा खरिद गर्न आउने व्यापारीलाई पनि स्थानीय बिचौलियाले आफैबाट खरिद गराउने गरेका छन् । ठुला व्यापारीबाट पैसा लिने तर किसानलाई नदिने समस्या देखिएको पीडित किसानहरुको भनाई छ ।
हाल सम्म ६५ जना किसानले डेढ करोढ बढी भुक्तानी पाउन बाँकी रहेको निवेदन केरा उत्पादक संघमा दिएका छन् । संघले प्रहरीमा उजुरी पनि गरेको छ तर समस्या बारे जानकारी गराउँदा पनि प्रहरी प्रशासन र स्थानीय सरकारबाट सहयोग नपाएको संघको भनाई छ । “जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरीलाई भन्यो, “फेरि जिल्ला प्रहरी कार्यालयले ईलाका प्रहरी कार्यालयलाई समस्या समाधानको जिम्मा दिएको छ तर किसानले भुक्तानी पाएका छैनन्, बाउन्स चेकहरु पनि हामीसंग छ”– केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले भने ।
सुस्ता र प्रतापपुर गाउँपालिकाका अध्यक्षसंग छलफल गरेर समस्या समाधान गर्ने र केरा उत्पादन संघको प्रस्तावमा उहाँहरुले बैठकमा सहमति जनाउने र बाहिर गएर विरोध गर्ने प्रवृत्ति देखिएको यादवले गुनासो गरे । “किसानको सबैभन्दा नजिकको सरकार नै किसानमारा भएपछि कसको के लाग्छ ?” उनले प्रश्न गरे । अहिले ६५ ओटा निवेदन मात्र आएको छ यसरी पैसा नपाउने किसान धेरै छन्, कम्तीमा पनि दुई करोड बढी रकम किसानको उठ्न बाँकी रहेको संघको भनाई छ ।
तर स्थानीय तहले भने केरा किसानको समस्या केही दिनमै समाधान हुने दाबी गरेका छन् । केरा किसानको भुक्तानी र बजारीकरणको समस्या समाधानका लागि कार्यदल बनाएको र त्यसैको प्रतिवेदनको आधारमा योजना बनाईने प्रतापपुर गाँउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । “केरामा पनि उखुमा जस्तै समस्या देखिएको सत्य हो, यसप्रति हामी गम्भीर छौ”– अध्यक्ष यादवले भने, “किसानको समस्या समाधान हुन्छ ।” सुस्ता र प्रतापुरमा २ हजार विगाहमा केरा खेती हँुदै आएको छ । उचित मूल्य नपाउने, रोग लाग्ने, समयमै मल बिउको व्यवस्था नहुने लगायतका समस्या झेल्दै आएका किसानलाई बिक्रीपछि भुक्तानी नपाउने समस्याले केरा खेतीबाट पनि पलायन हुनुपर्ने हो कि भन्ने चिन्ताले सताएको छ ।