© २०२३
प्यूठान, २४ साउन । प्यूठानको गर्जेनी अहिले गर्जिरहेको छ । प्यूठानीहरूले नाम लिन नचाहाँदा नचाहाँदै पनि अहिले गर्जेनीको चर्चा चुलिएको छ । अरू कुनै खास कारणले होइन्, यहाँको पहिरो र सडक सकसले । गर्जेनी त्यही ठाउँ हो जहाँ आजभन्दा १९ वर्ष अघि २०६१ साल माघ ८ गते दाङको देउखुरीबाट बेहुली लिएर आएको जन्ती बस दुर्घटना भएको थियो । दुर्घटनामा परी दुलाह सहित ४१ जनाले ज्यान गुमाएका थिए । प्यूठान टारीका एकै गाउँका नागरिकहरूले ज्यान गुमाउँदा सिंगो गाउँको चोट अझै पनि सेलाएको छैन् ।
भालुवाङ–प्यूठान सडक खुलेको वर्षौं हुँदा पनि अझैसम्म फराकिलो छैन् । सयौँ ठाउँमा साँघुरा र डरलाग्दा घुम्टी छन् । राम्रोसँग साइड दिन नमिल्ने खालको सडक छ । तर, जति अप्ठ्यारो र साँघुरो सडक भएपनि यो सडक प्यूठान र रोल्पाली नागरिकहरूको दैनिक जिविकासँग जोडिएको छ । दैनिक यात्रा नगरी नागरिकहरूको जनजिविका सहज बन्दैन् ।
गर्जेनीको सडक अप्ठ्यारो र धेरै साँघुरो भएको भन्दै सडक डिभिजन प्यूठानले अघिल्लो आर्थिक वर्षमा घुम्टी कटाएको थियो । बढीमा ९ मिटरसम्म फराकिलो बनाउने गरी सडक स्तरोन्नतिको काम भएपनि यही ठाउँमा अहिले दिनहुँ पहिरो गइरहेपछि दुई जिल्लाका लाखौँ नागरिकहरूले सास्ती खेपीरहेका छन् ।एक साता बढी समयदेखि सडक अवरुद्ध हुँदा दैनिकजसो जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ । बुटवल, नेपालगञ्ज, कोहलपुर, काठमाडौँ लगायत ठाउँमा औषधी उपचार र काम विशेषले यात्रामा निस्केका यात्रुहरू बीचमै अलपत्र परेका छन् ।
सडक डिभिजन कार्यालय चकचके प्यूठानले सडक खुलाउने दिनहुँ प्रयास गरेपनि त्यो दीगो हुन सकेको छैन् । दुई÷चार घण्टा एकतर्फी सडक खुलाएपनि क्षणभरमै पहिरो खस्छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङ निस्कनका लागि यो बाहेक अन्य छोटो सडक नहुँदा नागरिकहरूले विकल्प समेत पाएका छैनन । दाङको बंगलाचुली गाउँपालिकास्थित मुर्कुटी हुँदै घोराही झरेर एउटा सडक र अर्घाखाँचीको सन्धिखर्क हुँदै अर्को सडक भएर मात्र प्यूठान र रोल्पाका नागरिकहरू गन्तव्यमा पुग्न सक्छन् ।
तर, अर्घाखाँची र दाङ हुँदै बुटवल, काठमाडौँ जाँदा धेरै लामो दूरी पर्ने र बिरामीहरूलाई अस्पताल पुर्याउन निकै सकस हुने गरेको प्यूठानका एम्बुलेन्स चालक शुसिल केसीले प्रतिक्रिया दिए । ‘कतिपटक अर्घाखाँची हुँदै बिरामी लगेर बुटवल गयौँ’, केसीले भने, ‘प्यूठानको बाटो भन्दा यो बाटो दोब्बर टाढा छ । बिरामीलाई पनि आर्थिक भार धेरै पर्छ । सडक अवरुद्ध हुँदा धेरै समस्या भयो ।’ उनका अनुसार प्यूठानबाट दैनिक १२÷१५ वटा एम्बुलेन्सहरू बिरामी बोकेर ओहोरदोहोर गर्छन् ।
माण्डवी गाउँपालिका–१ मा पर्ने गर्जेनीको पहिरोको दिगो समाधान नहुँदासम्म दुई जिल्लाका नागरिकहरूले सास्ती भोग्ने देखिएको छ । आकाशबाट दिनहुँ पानी परिरहेको छ । तल गर्जेनी गर्जिन छाडेको छैन् । त्यसैको मारमा परेका छन्, रोल्पा र प्यूठानका आम नागरिक ।
चार÷पाँच दिन लगाएर पहिरो हटाएपनि माथीबाट क्षणभरमै पूनः पहिरो खसेर समस्या पारेको सडक डिभिजन प्यूठानका सव इन्जिनियर प्रकाश अधिकारीले प्रतिक्रिया दिए । ‘पहिरो कतिखेर झर्छ भन्ने नै ठेगान छैन्’, उनले भने,‘एकतर्फी खुलाइरहेका छौँ । तर, जतिबेला पनि अवरुद्ध हुनसक्छ । सकभर रातीमा यात्रा गर्न रोक लगाइएको छ ।’
यस स्थानमा पूर्ण रूपमा सडक संचालन गर्न धेरै चुनौती थपिँदै गएको उनले जानकारी गराए । यस स्थानमा सडकबाट करिब ६५ मिटर लामो दुरीमा पहिरो गएको अधिकारीको भनाइ छ । ‘गर्जेनीको घुम्टी फराकिलो बनाउँदा जिल्लाबासी धेरैले स्याबासी दिनुभएको थियो’,अधिकारीले भने,‘तर, बर्खाको पहिरोले सताउँदा हामीलाई पनि धेरै नरमाइलो लागिरहेको छ ।’ यहाँ करिव ९ मिटर फराकिलो र दुई सय मिटर लम्वाइको सडक स्तरोन्नती गर्ने कार्यालयको योजना रहेको उनको भनाइ छ । ‘अहिलेको बर्खाभरी पर्ख र हेरको अवस्था हुने भयो’,अधिकारीले भने,‘बर्खायाम शुरु भएकाले राम्रोसँग काम गर्न गाह्रो हुन्छ ।’
प्यूठान र रोल्पाली नागरिकहरूको भविष्यसँग जोडिएको भालुवाङ–प्यूठान सडक स्तरोन्नति गर्नका लागि दुवै जिल्लाका राजनीतिक नेतृत्वले चासो दिन सर्वसाधरण नागरिकहरूले आग्रह गरेका छन् । छिमेकी जिल्लाका सडक सञ्जालहरू देख्दा आह ! लाग्ने खालका भएपनि प्यूठानको पुरानो सडक वर्षौ वितिसक्दा समेत फराकिलो नहुँदा जिल्लाबासी निरास बनेका छन् ।