© २०२३
नेपालमा डेंगुका कारण अहिलेसम्म १० जनाको मृत्यु भैसकेको छ । सयौं विरामी डेंगु संक्रमणको जोखिममा छन । डेंगुले यो बर्ष पनि आफ्नो भयावह रूप देखाउने पुष्टी अहिलेसम्म भएको मृत्यु र संक्रमणले गरिसकेको छ । त्यसो त बर्षायाम सुरु भएपछि डेंगुको जोखिमबाट बच्नुपर्ने हरेक नेपाली नागरिकको कर्तब्य हो भन्ने बुझ्नुपर्ने भएको छ । किनभने डेंगु नियन्त्रण कसैले गरिदेला भन्ने सोँच राख्ने हो भने मानिसको मृत्यु भएपछि बल्ल अभियान थालिन्छ । नेपालमा यस्तै हुन्छ । ठूलो मानवीय क्षति भएपछि मात्र राज्यको होस खुल्छ । पालिकाहरू सल्बलाउन थाल्छन । जब प¥यो राती तब बुढी ताती भन्ने उखान डेंगु नियन्त्रण अभियानमा पनि मेल खान्छ । रूपन्देहीका १६ पालिकामध्ये बुटवल उपमहानगरमात्रै अहिले डेंगु नियन्त्रणमा सल्बलाएको छ । त्यहीपनि बुटवलले समेत ढिलो गरि अभियान सुरु गरेको छ । विहिवारदेखि बुटवलमा डेंगु नियन्त्रण अभियान सुरु भएको छ । बाँकी १५ पालिकाहरू अहिलेसम्म गुमनाम छन । मानौं महामारी फैलिएपछि मात्र पालिकाहरूको चेत खुल्छ । हरेक वर्ष पालिकाहरूको यही रवैयाले सोँच्नु बाध्य बनाएको छ– समय घर्किएपछि थालिएको अभियानको औचित्य के होला ? पालिकाहरूले जवाफ दिनुपर्दछ ।
तराईदेखि पहाड हुँदै हिमाल चढेको लामखुट्टे नियन्त्रणमा यसैगरी लापरवाही गर्ने पालिकाहरूको गुमनाम प्रवृत्तिमा सुधार जरुरी छ । अहिले मध्य बर्षाको समय छ । नेपालका तराईका विभिन्न जिल्लामा पानी पर्नेक्रम बढिरहेको छ । रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी जिल्लामा पानी पर्नेक्रमसंगै डुवानको समस्या समेत बढेको छ । डुबान हुँदा लामखुट्टको प्रकोप बढ्ने गरेको छ । डुबानमात्र होइन घर छेउ वरिपरी पानी जम्ने र खाल्डाखुल्डीमा पानी भरिँदा लामखुट्टे बस्ने र त्यसले फूल पारेर अझै प्रकोप बढाउने गरेको छ । नेपालमा बर्षेनी डेंगुको प्रकोप बढ्दै गएको छ । बर्षामै हो डेंगुले आफ्नो प्रभाव फैलाउने समय । नेपालका तराईका जिल्लाहरूमा डेंगुको संक्रमण यसरी नै बढ्दै जाने हो भने भोलिका दिनमा यसले भयावह अवस्था सिर्जना गराउन सक्छ ।
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो । लामखुट्टेले टोकेपछि सर्ने यो रोग नियन्त्रणका लागि सम्वन्धित जिल्लाका स्वास्थ्य संस्थाहरूले समेत ध्यान दिनु जरुरी देखिएको छ । होइन भने यसको संजालभित्र अव गरिवमात्र होइन सम्भ्रान्त धनी वर्गका मानिसपनि पर्नुपर्ने निश्चित छ । रूपन्देहीका १५ पालिकाहरूले डेंगु नियन्त्रण अभियान कहिलेदेखि सुरु गर्ने हुन थाहा छैन तर ती पालिकाहरूले बुटवल उपमहानगरको अभियानबाट सिकून । बुटवलमा डेंगु खोज र नष्ट गर अभियान सुरु भैसकेको छ । बुटवलले रूपन्देहीका अरू पालिकाहरूभन्दा अघि यो अभियान सुरु गरेर महामारीप्रति पूर्व सचेत रहेको छनक दिएको छ । राम्रो कामको प्रशंसा जहाँबाट गर्दापनि हुन्छ । तसर्थ रूपन्देहीका बाँकी १५ पालिकाहरूले छिटोभन्दा छिटो अभियान सुरु गरेर डेंगु नियन्त्रणमा बुटवल उपमहानगरको अनुसरण गरुन् ।
सवै कुराको आशा संघीय र प्रदेश सरकारबाट गर्नु जिम्मेवारीबाट पञ्छिने तरिका हो भन्दा अत्युक्ति नहोला । डेंगु नियन्त्रण अभियान पालिकाहरूले सञ्चालन गर्न सक्छन् । अझैपनि समय छ– पालिकाहरूको डेंगु नियन्त्रण अभियानमा ध्यान जाओस् । डेंगु नियन्त्रण अभियान पालिकामा मात्र होइन, पालिकाभित्रका चोक चोक र टोल टोलबाट सुरु गर्नुपर्दछ ।