© २०२३
पाल्पा, २१ साउन । वगनासकाली गाउँपालिकाको दर्लामका युवा मेघनाथ भण्डारी डिभिजन वन कार्यालय, पाल्पामा खयरको बिरुवा लिन गए । खयर खेतीबाट निकट भविष्यमा राम्रो आम्दानीको आशाले कार्यालय पुगेका भण्डारीले बिरुवा भने पाउन सकेनन् । कालीगण्डकी जलाधार क्षेत्रमा प्रर्याप्त मात्रमा पाइने खयर पछिल्लो समयमा आम्दानीको बलियो माध्यम बनेकाले भण्डारी आफ्नो ७ रोपनी क्षेत्रफलमा खयर खेती गर्ने उद्देश्यले बिरुवाका लागि वन कार्यालय पुगेका थिए ।
व्यवसाय र प्रवद्र्धन र खेतीलाई व्यवसायिक बनाउन लुम्बिनी प्रदेश सरकारले यस वर्षको लागि नीति र कार्यक्रममा पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लालाई खयर बिकास कार्यक्रम लागू गर्ने विषय समावेश गरेको थियो । नीति तथा कार्यक्रम सुन्दा खुसी भएका किसान बजेट मार्फत सम्बोधन हुन नसक्दा खिन्न भएका छन ।
२०६३ साल भन्दा पूर्व कालीगण्डकी जलाधार क्षेत्रका जिल्ला भित्रका २० भन्दा बढि गाउँमा प्रसस्त मात्रमा पाइने खयर गाई भैंसीका गोठमा भकारो बनाउन प्रयोग हुन्थ्यो । राम्दी, रिडी, रानीघाट, खरियाघाट जस्ता शव दहन गर्ने घाटहरूमा शव दहनका लागि दाउराको रूपमा प्रयोग हुन्थ्यो । पछिल्लो समयमा कपिलबस्तु, नेपालगञ्ज, विरगंज जस्ता शहरी क्षेत्रमा खयर प्रशोधन केन्द्र, (कत्था ) उद्योग स्थापना भएपछि प्रशोधित खयर औद्योगिक कच्चा पदार्थको रूपमा प्रयोग हुन लाग्यो । तब भकारो दाउराको लागि प्रयोग भएको खयर आम्दानीको बलियो माध्यम बन्न पुगेको हो ।
कालीगण्डकी जलाधार क्षेत्रका पाखा पखेरा खोल्सामा प्राकृतिक जंगलका रूपमा प्रसस्त रूपमा पाइने खयर बाट वार्षिक रूपमा ७ देखि १० लाख रूपैयाँ सम्म आम्दानी गरेका निस्दी गाउँपालिकाको बाकामलाड्डका स्थानीय ज्ञान बहादुर रानाले यस वर्ष बाट व्यवसायिक खेती सुरुवात गरेको बताउँछन । पछिल्लो समयमा बारीमा लगाएका खाद्यान्न बाली वन्य जन्तुले सखाप परेपछि । खाली रहेको जमिनमा यसको व्यवसायीक खेतीको सुरुवात गरेका हुन । रामपुर नगर गेझाका जनक भण्डारी भन्दछन–‘पहिले पहिले यसको खासै प्रयोग हुदैन थियो । जब कत्था उद्योग खुल्यो तब यसको महत्व बढ्दै गयो । यो काटेर बोक्रा फालेर एक डेढ मिटरको टुक्रा बनाउने हो । अनि तौल गरेर बिक्री गर्ने हो । तौल गरेर बिक्री गर्दा प्रति के.जी ४५ देखि ६० रूपैयाँमा बिक्री गर्ने हो । आफूसंग भएका बस्तु बिक्रीका लागि आफैले बजार खोज्ने हो तर खयरका लागि बजार खोज्न पर्दैन । घर घरमा व्यापारी तथा ठेक्केदारहरू आउँछन ।’
सामान्यरूपमा एउटा बाट बाट १५ देखि २० हजार रूपैया हात पर्दछ । अन्य रुख बिक्री गर्दा सोझौ तथा सिधा मात्र हो यो भने बाड्डो भए पनि बिक्री हुने गर्दछ यो त पेन्सन जस्तै भएको कृषकहरूको अनुभव रहेको छ ।
डिभिजन वन कार्यलयका साहायक वन अधिकृत तथा सुचना अधिकारी सयोग बस्नेत भन्दछन । खयरलाई नगदे वालिका रूपमा स्थापित गर्दै खालि जमिन भराउदै गाउ बस्तीका किसानको जिमन स्तरमा परिवर्तन गराउन यसको व्यवसायीक खेतिको सुरुवातका लागि सव डिभिजन कार्यलय रामपुर र निस्दीमा बिरुवा उत्पादन गरिन्छ । यस वर्ष दुई वटा नर्सरी वाट ४० हजार विरुवा उत्पादन भयो तर माग धेरै भएकाले कृषकको अपेक्षा अनुसार वितरण गर्न सकिएन । आफनो उत्पादनले नपुगेर छिमेकी जिल्लाबाट पनि बिरुवा ल्याइयो । यो वर्ष १ लाख विरुवाको माग रहेको छ उनले भने ।
भौगोलिक बनोट हावापानी तापक्रमका भएको नर्सरी तानसेनमा सभंव हुदैन । चिसो हावापानी भएको ठाउमा यसको विरुवा उम्रन सक्दैन । लगाएको १५ वर्षमा उत्पादन लिन सकिन्छ । त्यसै गरी काटेको ठाउ बाट पलाएको बिरुवा ७ वर्षमा मात्र उत्पादन लिन सकिन्छ । एउटा परिपक्क रुख ५ क्विटल हुन्छ । यसको कटारीको प्रकृया पनि सालको रुखको तुलनामा निकै सहज हुन्छ उनले भने । खयरलाई उद्योगमा प्रशोधन गरी कत्था बनाउने हो । यो जडिवुटी पनि हो । औद्योगिक कञ्चा पदार्थ पनि हो । प्रशोधित बस्तु विदेश निर्यात हुन्छ । विदेशी मुद्रा आर्जन गर्ने बलियो माध्यम बनेको कार्यालयका रेन्जर यमलाल पोखरेलले बताए । पछिल्लो समयमा वगनासकाली गाउपालिका, निस्दी गाउपालिका, रामपुर नगर क्षेत्रका सयौ कृषकहरूका लागि आम्दानीको बलियो माध्यम बनेको पोखरेलले बताए ।
खयरको व्यवसायमा आवद्ध एक व्यवसायीले भने जिल्लामा २० करोड रूपैया भन्दा बढि भित्रिने गर्दछ । आम्दानीको बलियो र भरपर्दो माध्यम पनि बनेको छ । तर अहिले रोप्नका लागि विरुवा पाउन सकिएको छैन् । यस्ता बस्तुको लागि सरकारले प्रोत्साहन गर्दै जिल्ला मै प्रशोधन केन्द्रको स्थापना भएको खण्डमा स्थानिय तह मै रोजगारीको लागि ढोका खुल्ने र विदेशी मुद्राको आर्जन गर्न सकिने स्थानियहरूको भनाई रहेको छ ।