© २०२३
बर्दघाट, १८ साउन । बर्दघाट नगरपालिका–१४ का कृषक रामचन्द्र नेपालले आफूले उत्पादन गरेको कृषिजन्य उपज बिक्रीका लागि विचौलिया गुहार्नु पर्दथ्यो । व्यवसायीहरू घरमा नै आउने, निश्चित मूल्य निर्धारण गरेर उनले उत्पादन गरेका कृषिजन्य उपज लैजान्थे । जसमा किसानको भन्दा पनि व्यवसायीहरूको नै बोलबला चल्दथ्यो । उचित मूल्य समेत नपाईकन किसान नेपालले कृषिजन्य उपज बिक्री गर्दै आएका थिए । तर अहिले भने उनको यो अवस्था फेरिएको छ । उनले आफ्नो उत्पादनको मूल्य निर्धारण उनी आफै गर्दछन्, उत्पादित भएको बस्तु बिक्री नहुने पनि चिन्ता उनीमा छैन । कारण हो बर्दघाट नगरपालिकाले सुरुवात गरेको उत्पादित कृषिजन्य बस्तु किनिदिने व्यवस्थाले ।
विगत १४—१५ वर्षदेखि कृषि पेशालाई मुख्य पेशा बनाएर निरन्तर कृषि पेशा गर्दै आएका उनी कृषि उपज उत्पादन भएपछि बिक्री नहुने हो कि भन्ने भयले चिन्तित हुने गर्दथे तर केही समय अघि बर्दघाट नगरपालिकाले कृषि उपज संकलन एवं बिक्री केन्द्र संचालन गरेपछि तरकारीजन्य उत्पादन बिक्री नहुने हो कि भन्ने डर अन्त्य भएको उनी बताउँछन । ‘धेरै लगानी गरेर तरकारीजन्य बस्तुको उत्पादन गर्यो, बिक्री गर्ने बेलामा बजार नपाउने हो कि भन्ने चिन्ता सधै हुने गथ्र्यो, केन्द्र खुलेपछि केहि आशा पलाएको छ तर पनि पूर्ण विश्वस्त हुन सकेका छैनौँ ’ नेपालले भने ।
करिव ५ विगाहा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका नेपालले बजारको सुनिश्चितता भएमा अझै लगानी र क्षेत्रफल दुबै वृद्धि गर्दै लैजाने योजनामा रहेका छन । ‘मैले उत्पादन गर्ने तरकारी क्विन्टलमा उत्पादन हुन्छ, तर बर्दघाट बजारले उत्पादनको केहि प्रतिशत मात्र खपत गर्छ, बजारको उचित ब्यवस्थापन हुन सकेको छैन, तर केन्द्रले ब्यवस्थापन गर्ने आश्वासन दिएकोले पनि जाँगर मरिसकेको छैन ।’ नेपाल भन्छन ।
स्थानीय सरकारले कृषि पेशालाई मुख्य पेशा बनाएका कृषकहरूलाई अनुदान र सहयोग गर्नु पर्ने नेपालको भनाइ छ । ‘सरकारी सुविधा पहुँच भएका कौशी खेती गर्नेले पाउँछन, हामी पहुँच नहुनेहरू त आफै लगानी गर्ने हो, समयले साथ दिए सफल नत्र असफल’ नेपालले गुनासो गरे ।
उनी जस्तै बर्दघाट नगरपालिकाका सयौं किसानले अहिले आफूले उत्पादन गरेको कृषि जन्य उत्पादन सबै नगरपालिकालाई विक्रि गर्दै आएका छन् । आफूले नै निर्धारण गरेको मूल्यमा बिक्री गर्न पाउँदा किसान दङ्ग, फुरुङ्ग छन् ।
विगत लामो समय देखि बर्दघाट–१५ का किसान बेचन प्रसाद चौधरी पनि कृषि पेशा नै अगाल्दै आएका छन । बिक्री केन्द्रमा तरकारी विक्रिका लागि आएका उनी आफ्नो उत्पादन विक्रिको लागि केन्द्रले सहज बनाइ दिएकोमा खुसी देखिन्थे । “हामी कृषि पेशामा आश्रितहरू दुःख गरेर कृषि उपज उत्पादन गर्दछौँ तर बजारमा तरकारी विक्रि नहुँदा मेहनत र लगानी खेर गइरहन्थ्यो तर अव त्यो अवस्थाको अन्त्य भएको छ ।“ चौधरीले भने । विचौलिया खोज्दै हिँडनु पर्ने र हाटबजारमा तरकारी डुलाउँदै हिँडनु पर्ने अवस्था हट्दै गएको चौधरीले बताए ।
कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना भइसकेपछि नेपाल र चौधरी जस्तै कृषिमा आश्रित कृषकहरू आगामी दिनमा आफ्नो उत्पादनले बजार भाउ पाउने र दैनिक जिवनयापनमा सहज हुने बताउँछन ।
कृषकको मुख्य समस्या समयमा मल विउ नपाउने, सिँचाइ सुविधाको समुचित ब्यवस्थापन नहुने र उत्पादित कृषि उपजले बजार नपाउँदा कृषकहरूमा नैराश्यता छाएको छ । बर्दघाट नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न योजनाहरू अघि सारेको छ जस अन्तर्गत बर्दघाट नगरपालिका वडा नम्बर ४ त्रिवेणी बसपार्कमा रहेको रेडक्रस भवनमा नगरपालिकाले कृषि उपज सँकलन केन्द्र स्थापना गरेको हो । केन्द्र स्थापना भएपछि नगर भित्रका कृषकहरूलाई पहिलो प्राथमिकतामा राखेको उनिहरूले उब्जाएको तरकारी र फलफूल खरिद गर्ने गरेको छ ।
विगतका वर्षहरूमा स्थानिय कृषकका उत्पादनले बजार नपाएर बाटोमा ल्याएर फाल्नु परेको कारणले पनि केन्द्रको स्थापना गरि बजार ब्यवस्थापनमा सहजिकरण गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बर्दघाट नगरपालिकाका नगर उप प्रमुख एवं केन्द्रका सँयोजक रुद्र प्रकाश उपाध्यायले बताए ।
“हामीले कृषकलाई उन्नत विउ ब्यवस्थापन, तथ्याँक संकलन गरी बजारको माग अनुसारको उत्पादनमा प्रोत्साहन, कृषिमा यान्त्रीकरण र सिँचाइको उचित ब्यवस्थपन गर्ने योजना अघि सारेका छौँ, नगरलाई तरकारीजन्य बस्तुमा आत्मनिर्भर बनाउने गरि कार्यक्रम अघि सारको छौ ”– उपाध्यायले भने ।
“किसानले दुख गरेर उत्पादन गरेको तरकारी विचौलियाले कम मुल्यमा लैजाने गर्थे वा किसानहरूले बजारसम्म पु¥याएर कम मुल्यमा तरकारी पसलमा छोडनुपर्ने बाध्यता थियो तर केन्द्रले कृषकहरूलाई मर्का नपारी खरिद गरेको छ, यसले गर्दा किसानहरूको उत्पादनले मुल्य पाएको छ ।” बर्दघाट नगरपालिका कृषि शाखाका कृषि प्राविधिक खुमकान्त न्यौपानेले बताए ।
केन्द्रको स्थापना भएपछि अन्य तरकारी पसलमा भन्दा सस्तो र ताजा तरकारी पाउन थालेको स्थानिय उपभोक्ता चेत नारायण ढकालले बताए । सामान्यतः विहानमा केन्द्रमा तरकारी सँकलन हुने गरेको छ ।
उन्नत विउविजनको ब्यवस्थापन नहुनु, सिँचाइको ब्यवस्था नहुनु र दुख कष्ट गरी उत्पादन गरेको कृषि उपजले बजार नपाउनु कृषकका मुख्य समस्या हुन । यिनै समस्यासँग जुध्न नसक्दा धेरैले कृषि पेशा अँगाल्न सकेका छैनन् । स्थानिय सरकार र सरोकारवाल निकायले कृषकका यस्ता समस्याहरूको समाधानका लागि विभिन्न कार्ययोजना ल्याउन सकेमा नेपालमा केहि गर्ने वातावरण नै छैन भन्नेहरूले नेपालमै सम्भावना छ है भन्ने दिन पक्कै आउने छ । स्थानिय उत्पादनले बजार पाँउदा स्थानियबासी पनि स्थानिय स्वादमा पक्कै रमाउनेछन ।