© २०२३
पाल्पा, १७ साउन ।
पाल्पा रिब्दिकोट गाउँपालिका देउरालीका कृष्ण गौतमलाई घर नजीकैको पँधेराको धारामा कलकल पानी आएको सम्झना अहिले पनि ताजै छ । आफू सानै उमेरको छँदा बाह्रै महिना पानी आउने सो धारा यतिबेला सुख्खा भएको देख्दा अचम्म मान्छन् उनी । एक दशक अगाडि सम्म पनि धारामा पर्याप्त पानी आउँथ्यो । जव २०७२ सालमा महाविनासकारी भुकम्प आयो, त्यसपछि पानीको श्रोत सुक्दै गएर हिउँदको याममा ठप्प नै भएको उनी स्मरण गर्छन् ।
भुकम्पका कारण जमिनको भाग हल्लिंदा पानीको श्रोत नै खलवलियो । जसका कारण पानी आउन ठप्प भएको हुन सक्ने उनको बुझाई छ ।
देउरालीकै श्रीमान रानालाई पनि आफु सानो उमेरको हँुदा बाटोको किनारमा भएका पानीका मुहान आजभोलि कथा जस्तै लाग्न थालेका छन् । आफ्नो घर नजिक र पानीको मुहान माथिबाट चौधरी उद्योगको सिजी सिमेन्ट उद्योग पहुँच मार्ग निर्माण भएको दिनबाटै पानीको मुहान बन्द भएको राना बताउँछन् । “पानीको मुहान माथिबाट ठुला ठुला मेसिन प्रयोग गरी सडक निर्माण गरियो, मेसिनको कम्पनका कारण पानीको मुहानै सुक्यो”– उनले भने ।
रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी ७० वर्षीय उमा खनाल पनि गाउँको सुविधाका लागि सडक निर्माण भएसंगै खानेपानीको समस्या थपिदै गएको बताउँछिन् । पहिले पहिले पानीको समस्या थिएन । बारीसम्म नै कुलोमा पानी लगाएर सिंचाइ हुन्थ्यो । पानी कम भएको महसुस नै हुँदैन थियो । जव सालझण्डी–ढोरपाटन सडक निर्माणको क्रम सुरु भयो तव पानी बिस्तारै कम हुँदै गयो । सडक निर्माणको क्रममा सडकले मुहानै पुरियो । अहिले पनि सुख्खा नै छ । यो त विकासले नै समस्या ल्याएको उनको बुझाई रहेको छ ।
गाउँ टोलमा पहिले एउटा मुहानको पानी काफी नै थियो । तर अहिले मुहान पुरिंदा पछि पानीको समस्या भयो । विकासका नाममा जथाभावी रुपमा डोजरको प्रयोग बढेसंगै खानेपानीको समस्या बढ्दै गयो । कतै मुहान पुरियो त कतै हरायो, त्यसैमाथि महानबिनासकारी भुकम्पका कारण पनि पानीका श्रोतहरु हराउन पुगेको स्थानीयको अनुभव रहेको छ ।
यस्ता मुहानबाट निस्किएको पानी तल खोला नै बन्ने हो । त्यही खोलाको पानी खेतबारीमा सिंचाईका लागि प्रयोग गर्ने प्रचलन थियो । तर यस्ता दिन नयाँ पुस्ताका लागि नयाँ र नौला कुरा भएको स्थानीय बल बहादुर सोमै बताउँछन् । “डोजरको प्रयोग नहँुदा सम्म पानीको श्रोत प्रशस्त थियो । समस्या नै थिएन । त्यतिबेलाको समय र आजको समय फरक फरक भयो । हामीले पानीको मुहान भएको ठाउँमा खिर्रो, खिलुवा, पावरी जसले पानीको श्रोत बढाउन सहयोग गर्ने प्रजातीका बिरुवा लगाउने चलन थियो । तर आजभोलि यस्ता प्रजातिका बिरुवा लगाउने चलन नै छैन”–उनी भन्छन् । यस्ता मानवीय कृयाकलापका कारण पानीका मुहान सुक्दै गएको पुराना पुस्ताका बेनीराम ढकाल बताउँछन् ।
“बिनासका कारण यस्तो समस्या भयोे, जव गाउँमा डोजर पस्यो तब पानीका श्रोत पुरिदै र पातलिदै गयो” निस्दी गाउँपालिका मित्यालका डिलबहादुर रास आफ्नो अनुभव सुनाउँदै भन्छन्–“पहिले पहिले पानीकै लागि भनेरै बिरुवा रोप्ने चलन थियो, तर आज भएका पुराना रुखहरु काट्ने मात्र भएकाले पनि यस्तो भएको हो ।” पहिले मोटर बाटो निर्माण हुँदा वातावरणीय सन्तुलन कायम हुन्थ्यो । सडक निर्माणका क्रममा घरेलु औजार प्रयोग हुन्थ्यो । सडक किनारामा वृक्षारोपण हुन्थ्यो । हरियाली बनाउने चलनै थियो । आज यस्ता सबै हराएको पाका पुस्ताको अनुभव रहेको छ ।
सरकारी कार्यक्रम नै शुन्य
स्थानीय सरकारको निर्माणसँगै गाउँगाउँमा मोटर बाटो निर्माणको होडवाजी नै चल्यो वातावरणीय संरक्षणतर्फ अहिले सम्म कुनै पहल नै भएन । स्थानीय सरकारको तर्फबाट पानीको म्हान संरक्षण गर्नु पर्दछ भन्ने विषयमा नारा मात्र भएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु स्वीकार गर्छन् । वन, वातावरणको क्षेत्रमा स्थानीय वन उपभोक्ता समितिसंग पनि पानीका श्रोत संरक्षणका सवालमा स्पष्ट नीति र कार्यक्रम नभएको सरोकारवालाहरु बताउँछन् ।
डिभिजन वन कार्यालयका साहायक वन अधिकृत तथा सूचना अधिकारी संयोग बस्नेत भन्छन्, “कार्यालयको मात्र एकल प्रयासबाट मात्र हुँदो रहेनछ । हामीले पानीको श्रोत संरक्षणका लागि नै भनेर वृक्षारोपणलाई जोड दिने हो, तर हामीले मात्र चाहेर हुँदो रहेनछ ।”
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख अनोज उपाध्याय भन्छन्, “यस्ता पानीको मुहान संरक्षणका लागि अत्यन्तै न्युन बजेट आउँदा पनि समस्या भएको हो, हामीले वृक्षारोपण भन्दा संरक्षणका लागि वैकल्पिक उपाय अपनाउने हो, समस्या बजेट नै हो ।”
यही गतिमा अगाडि बढेको खण्डमा भोलिका दिनहरुमा ग्रामीण बस्ती काकाकुलबन्ने प्रवल संभावना रहेको पुराना पुस्ताको बुझाई रहेको छ ।