© २०२३
लमही, १६ साउन । जथाभावी तवरले राप्ती नदिको उत्खनन् हुँदा नदिको बहाव नै परिर्वतन भएको छ । जसको कारण नदीबाट कुलोमार्फत सिंचाई गर्ने किसान प्रत्यक्ष प्रभावित भएका छन् । एकाएक राप्तीको धार बदलिएर कुलोमा पानी नचढेपछि किसान समस्यामा परेका छन् । त्यसरी उत्खनन् हुँदा समेत स्थानीय प्रशासन मुकदर्शक भएर बस्दा खेती किसान प्रभावित बनेका हुन् ।
अहिले खेतमा धान लगाएर सकिएको छ । धान खेतलाई पानीको आवश्यक पर्ने बेला कुलो भने सुख्खा छ । राप्तीका अधिकांश खेतबारीको सिंचाइको भर त्यही कुलोको पानी हो । राप्तीको प्रगन्ना कुलो सिंचाई आयोजना अन्तर्गतका पहिलो र दोस्रो गरी दुईवटा ईन्टेक छन् । पहिलो ईन्टेकबाट बग्ने कुलामा पानी नहुँदा त्यसबाट आश्रित किसानहरू समस्यामा छन् । पहिलो ईन्टेकको मुहान ईलाका प्रहरी कार्यालय र हनुमानगडीको बीचमा छ । त्यसै मुहानबाट उत्तर किनारै किनार किसानका खेतसम्म कुलो पु¥याइएको छ । सधै कुलोमा बग्ने पानी अहिले भने भालुबाङ पुलमुनीबाट धार परिबर्तन गरि दक्षिण किनारबाट बग्न थालेको छ । कुलोभन्दा नदिको सतह कम भएका कारण यस्तो समस्या निम्तिएको हो ।
पहिलो ईन्टेकबाट राप्तीका १५ सय हेक्टर जमिन सिँचाई हुने गर्दछ । राप्तीका १,२,३ र ४ नम्बर वडा अन्तरगतका पाखापनी, लामटिया, बराखुठी, मसुरिया, शान्तीबाघगड्डी सिउंगुडे, मजनीगड, पिपरखुटी, सुन्दरपुर लगायतका बस्तीहरू प्रगन्नाको पहिलो ईन्टेकबाट आश्रित छन ।
पुलमुनीबाट राप्तीले धार बदलेपछि किसानहरू जुटेर अस्थाई बाँध बनाए । लगत्तै कुलामा पानी त बग्यो तर पहिले जस्तो पर्याप्त भएन । अहिले किसान मोटर र बोर्डिङको बिकल्प खोज्न थालेका छन । “पानीको बहाब बढेपछि नदिले धार बदल्यो । कुला सुख्खा भयो । पुलमुनी अस्थाई बाँध बनाईयो किसान चिन्तामणी सुबेदीले भने–पानी त कुलामा बग्यो तर अलिअलि मात्र ।“ हाल बगिरहेको पानीले नजिकका बस्तिहरूको केही समस्या हल भएपनि पश्चिमका अन्य बस्तिहरूमा भने समस्या उही झेल्दै आएका छन् ।
तत्काल समस्या समाधानका निम्ती किला ढुँगा राखेर अस्थाई बाँध बनाईयो । फेरि बाढी आउछ बगाउँछ सुबेदीले भने त्यो बाँध कति टिक्ला ? प्रश्न तेर्सिएको छ । बिगतमा कहिल्यै पानीको समस्या नझेलेका त्यहाँका किसानलाई अहिले भने धानमा सिंचाई कसरी गरौ भन्ने चिन्ताले पिरोल्न थालेको छ । “पहिले कुलोमा प्रसस्तै पानी हुन्थ्यो । पानी बढि भएर छताछुल्ल हुन्थ्यो अर्का किसान निमबहादुर दर्लामीले भने–अहिले त कुलोमा पानी खोज्नुपर्ने अबस्था आयो ।“ उनले जथाभाबी उत्खनन्का कारण नदिले धार बदलेको बताए । उत्खनन् नगरौ भनेर बारम्बार सरकारलाई आग्रह गरेपनि नितिगत रूपमा हुने उत्खनन्ले किसान मर्कामा पर्ने गरेको उनले बताए । प्रगन्नाको दोस्रो ईन्टेक आसपासमा नितिगत उत्खनन् गरिएको थियो ।
राप्ती गाउपालिकाले प्रगन्ना कुलो सिँचाई सफाई भनेर टेण्डर आह्वान गर्यो । काम शुरु भयो । उत्खनन् तोकिएको ठाउँभन्दा अन्यत्र भयो । “कुलो सफाई“ कागजमा मात्र सिमित रह्यो । राप्तीमा जथाभाबी उत्खनन् नै अहिले किसानका लागी ठूलो समस्याका रूपमा खडा भईदियो । जुन उत्खननका क्रममा पत्रकारदेखी उच्च पदस्थसम्मलाई रकम लिएको भन्ने आरोप समेत लाग्यो । त्यसको तत्काल असर अहिले किसानहरूले झेल्नुपरिरहेको छ । अहिले देखापरेको किसानका समस्या निम्तिनु मनपरी उत्खनन् नै भएको जानकारहरू बताउँछन ।
प्राबधानलाई कुल्चिएर हेभी मेसिनहरूको प्रयोगले उत्खनन् गर्दा नदिको सतह घटेको समाजसेवी महेश रिजालले बताए । अहिले जता ओरालो उतै पानी बग्न थालेको छ । जसले गर्दा कुला सुख्खा हुँदै गईरहेका छन ।
“जथाभाबी उत्खनन् नगरौ । किसान समस्यामा पर्छन भन्दापनि सुनुवाई भएन रिजालले भने– देखियो त तत्कालै समस्या । अझै कति समस्या झेल्नुपर्ने हो ।“ उत्खनन् सँगै पहिलो ईन्टेक कच्चि भएका कारणपनि यस्तो समस्या निम्तिएको रिजालको बुझाई छ । ५५ सालमा पहिलो ईन्टेक निर्माण भएको हो । अहिले सम्म पक्की हुन सकेन जसले गर्दापनि किसान मर्कामा परेका छन रिजालले भने ।
यो भन्दा पहिले प्रसस्त पानी हुँदा त्यहाँका किसानले हिँउदामा पनि धान लगाएको स्मरण गर्छन । तर अहिले यो बर्खायाममा पनि धानमा कसरी सिँचाई गर्ने भन्ने चिन्ता बढ्न थालेको छ । बर्षमा दुईपटक धान उतारेर पनि मकै खेतीपनि गर्ने गरेको किसान बिजय ज्ञावलीले स्मरण गरे । “पानी प्रसस्तै हुन्थ्यो । बर्षमा ३ बालीपनि उतारिन्थ्यो ज्ञवालीले भने–अहिले त बर्खे धानपनि जलेर मर्ने होकि भन्ने चिन्ता बढेको छ ।“ उनले डेढ बिगाह जमिनमा धान लगाएका छन । ठूलो मात्रामा धानखेती गर्नेहरू झनै समस्यामा पर्ने देखिन्छ । नदिको सतह बढाउन उत्खनन् रोक्नुपर्ने किसान हरू बताउँछन् ।