© २०२३
‘नरैनापुरले हिजो भन्दा आज पक्कै पनि तरक्की गरेको छ । तर हामी यत्तिकैमा सन्तुष्ट भएर हुँदैन पालिकाका अध्यक्ष ईस्तियाक मोहमद शाह भन्छन् यहाँका नागरिकको जिवनस्तर कसरी उकास्ने भन्ने तर्फ काम गर्नुपर्ने छ ।’
पाँच वर्ष पहिले बाँकेको नरैनापुर ‘सुगम जिल्लाको कर्णाली’ भनेर चिनिन्थ्यो । न बिजुली नत बाटो नै । पूर्वाधार अभाव झेलिरहेका कर्णालीका अनकन्टार ठाउँ जस्तो । सदरमुकाम नेपालगन्ज आउन भारतीय बाटो समात्नुपर्ने बाध्यता थियो । बर्षातमा त सदरमुकामसंग सम्पर्क बिच्छेद हुन्थ्यो ।
सीमा पारी भारतीय गाउँहरु राती बिजुलीले झलमल हुँदा वारी नरैनापुर अन्धकारमा बस्न बाध्य थिये । बर्षौ पहिले बिजुलीका पोलहरु गडिएका त थिए तर स्थानीयले बिजुली बाल्न पाएका थिएनन् । चुनावी नाराका लागि गाडिएका पोलमा तार जडान गरिएको थिएन भने बिजुली जोड्ने कुरा त हुँदै भएन ।
सीमावर्ती भारतीय बजारसंग मात्र सम्पर्क हुने गरेकाले नेपाली नोट चल्दैन थियो । आफ्नै देशमा नेपाली नोट नचल्ने गाउँ भनेर समाचारका हेडलाइनहरु बर्षौसम्म बनिरहे । तर नरैनापुरका लागि यि सबै कुरा अब बिगत भइसकेको छ । स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएयता नरैनापुरले आफ्नो परिचय फेरेको छ । गाउँमा बाटो पुगेको छ । बिजुली बलेको छ भने नेपाली नोट धमाधम चल्छन् । गाउँ क श्रेणीका बैंकले बित्तीय कारोवार गर्दै आएका छन् । अब नरैनापुर सदरमुकाम नेपालगन्जदेखि ‘दुर’ रहेन ।
विकासको गति तिव्ररुपमा समातेको नरैनापुरले यस क्षेत्रकै सबैभन्दा ठुलो क्रिकेट रंगशाला निर्माण गर्नेसम्मको महत्वकांक्षी योजना अघि सारेको छ । किसानलाई पेन्सन वितरण गर्नेदेखि भारतीय गाउँले समेत गुहार्ने गरी दकमलसम्म खरिद गरिसकेको छ भने विद्यार्थीलाई पढ्न सजिलो होस् भनेर सरकारी विद्यालयमा बस समेत सन्चालन गरिरहेको छ ।
विकट नरैनापुरले झेलेका अनेक कष्टका साक्षी हुन ५५ वर्षीय रामचन्द्र पासी । दुई वर्षअघिसम्म नरैनापुर पुग्न भारतको रूपैडिहा हुँदै दिनभरि यात्रा गर्थे । सदरमुकाम नेपालगन्ज आउन निकै कष्ट व्यहोर्नुपथ्र्यो ।
‘धेरै दुःख पाइयो । अहिले त गाडी, बिजुली सबैको सहजता छ । हाम्रै पालामा यस्तो देख्न पाइयो ।’ उनले भने, ‘अहिले निकै राम्रो छ ।’
नरैनापुरका प्रमुख इस्तियाक अहमद शाहनरैनापुरले काँचुली फेरेको बताउँछन् । भन्छन्, ’ नरैनापुर भन्ने बित्तिकै कर्णाली सम्झिने गरिन्थ्यो । तर अहिले त्यस्तो छैन । हामीले अझै धेरै गर्न बाँकी छ तर सुरुवात राम्रै भएको महसुस गरेका छौं ’
स्थानीय सरकार बनेपछि कार्यालय व्यवस्थापन कम्ता चुनौतीपूर्ण थिएन । पानी, बिजुली, शौचालय केही थिएन । त्यसैले कर्मचारीहरू सितिमिति नरैनापुर जान मान्दैन थिए । जान माने पनि केही दिनमा फर्किन्थे । तर अहिले कर्मचारीहरु त्यही बस्छन् । नेपालगन्जबाटै आउजाउ गर्न पनि सहज छ ।
नेपालगन्जदेखि नरैनापुरको अन्तिम सीमाक्षेत्रसम्म ४४ किलोमिटर कालोपत्रे हुलाकी सडक निर्माण भएको छ ।नेपालगन्ज आउजाउन गर्न कुनै समस्या छैन । तर पालिका प्रमुख शाह नरैनापुरका नागरिकको जीवनस्तर उठाउँन अझै बाँकी रहेको बताउँछन् । भन्छन्–‘नरैनापुरले आधारभुत पूर्वाधार निर्माणको काम गरेका छौं । जनताको जिवनस्तर उठाउन धेरै काम गर्न बाँकी छ ।’
नरैनापुरमासडक नहुँदा यहाँका महिलाहरूलाई सुत्केरी हुन भारत जानुपर्ने बाध्यता थियो । सडक निर्माणले नेपालगन्जका अस्पतालसम्म पु¥याउन सहज भएको छ। अस्पताल निर्माण गरिएको छ । स्वास्थ्यकर्मीहरु गाउँमै बस्न थालेका छन् । कोभिडको पहिलो मार खेप्यो नरैनापुरले । त्यही इखका कारण स्वास्थ्य पूर्वाधार निर्माणको काम धमाधम गरिएको थियो ।
बिजुली र सडक पूर्वाधार निर्माणसंगै विकासका अन्य कामहरु पनि धमाधम भइरहेका छन् । सनराइज बैंकले गाउँ शाखा कार्यालय खोलेर वित्तीय कारोवार गरिरहेको छ । स्थानीय स्वदेशी वित्तीय पहुँचभित्र आएको बैंकले जनाएको छ । पालिका प्रमुख शाह भन्छन्–‘ नरैनापुरमा गर्न धेरै बाँकी छ तर हिजो भन्दा तरक्की (प्रगति) पक्कै पनि गरेको छ ।’