© २०२३
दाङ, ८ साउन ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ का भैरव चौधरीले १४ वर्षअघि धानले बोटमा गाँज हाली सकेको बेला उखेलेर फेरि रोप्दा गाउँलेहरुले गाली गरे । धानका बाला लाग्ने बेलामा यो के गरेको होला ? भनेर नकारात्मक टिप्पणी गरे । उनलाई सबैले गाली गरेपनि आफुले सिकेको ज्ञानलाई नवीन रुपमा प्रयोगमा ल्याएर सबैलाई देखाएरै छाड्ने अठोटका साथ पहिलो वर्ष दुई कट्ठामा कलमी गरेको धान रोपे ।
धानको कलमी गर्ने तरिका सिके जसरी रोपेको धान निकै फल्यो । राप्ती गाउँपालिकाको जगपुरमा पहिलो पटक कलमी गरेर रोपेको धान धेरै फल्ने मात्रै होईन, पोपटा पनि निकै भएपछि भैरवलाई अझ आत्मविश्वास जाग्यो । अहिले उनले यो क्षेत्रमा सबैभन्दा पहिले अपनाएको धानको कलमी गर्ने विधीलाई सबैले अनुशरण गर्दै आएका छन् ।
‘मलाई धानको कलमी गर्ने तरिका मेरो भिनाजुले सिकाउनुभएको हो । बगरापुरबाट यसको बारेमा जानकारी लिएको हुँ’, भैरवले भने, ‘पहिलो वर्ष बीउ उमार्ने अनि त्यसलाई रोप्ने तरिकाबारे जानकारी लिएर प्रयोगमा ल्याएँ । यो गाउँमा सबैभन्दा पहिले मैले कलमी धान रोप्न थालेको हुँ ।’
‘धेरै मान्छेले मलाई गाली गरे । एक पटक रोपेर फल्ने धानलाई किन अनावश्यक दुई पल्ट रोपेको होला भने । कोहीले त काम नपाएर के गरेको होला पनि भने’, उनले भने, ‘मैले कलमी गरेर रोपेको धान फलेको देखेपछि सबै छक्क परे । अहिले त सबैले यही विधि अपनाउने भएका छन् ।’
उत्पादन राम्रो हुने भएकाले यो विधि राप्ती गाउँपालिका बासीका लागि पहिलो रोजाई बन्दै गएको छ । पालिकाका अधिकांश ठाउँमा कलमी गरेरै धान रोप्ने गरिएको छ । ‘बिज्जु गरेर रोपेको धान परम्परागत जस्तै हो । फलेपनि बालामा पर्याप्त धान हुँदैन । पोपटा बढी हुन्छ, तर कलमी गरेर रोपेको धानको उत्पादन पनि धैरै हुन्छ, पोपटा पनि हुँदैन’ उनले भने, ‘सामान्यता यो ठाउँमा बिज्जु गरेको धानबाट प्रति कट्ठा तीन–साढे तीन क्वीन्टल धान फल्छ भने कलमी गरेर रोपेको धान प्रति कट्ठा पाँच क्वीन्टलसम्म फल्छ’ उनले भने ।
राप्ती गाउँपालिका वडा नम्बर ४, ५, ६, ७ र ८ लाई पालिकाले कृषि पकेट क्षेत्र घोषणा गरेको छ । यस क्षेत्रका किसानले धानको कलमी गर्दा यसबाट धेरै लाभ लिने गरेका छन् । कलमी गर्दा बीउ पनि बिज्जुभन्दा आधा कम लाग्ने गरेको छ । प्रति कट्ठा ३ किलोसम्म बीउ लाग्ने गरेकोमा कलमी गर्दा १ किलोमै पर्याप्त हुने गरेको राप्ती गाउँपालिका वडा नम्बर ७ की सरिता चौधरीले बताइन् ।
देउखुरीका सिँचाई सुविधा प्रशस्त भएका धेरैजसो स्थानमा कृषकले कृषि पेशाबाट राम्रो आम्दानी गर्दै आएका छन् । ‘हाम्रो यो ठाउँमा बाह्रै महिना खेतीपाती हुन्छ, फागुनमा रोपेको मकै भाँचेर अहिले धान रोपेका छौँ’ राप्ती ५ का सत्यनारायण चौधरीले भने, ‘बाँझो खेतमा धान रोपेर सकाउने बित्तिकै मकै रोपेको ठाउँमा पनि धान रोप्छौँ ।’
कृषिको राम्रो क्षेत्र मानिएको यस ठाउँका किसानले धानबाली जस्तै अरु अन्नबाली पनि नयाँ ढंगले गर्ने गरेका छन् । सिंचाईको राम्रो सुविधा भएको राप्ती गाउँपालिकाको यो क्षेत्रमा कृषि कर्म गर्दै आएका किसानले वर्षमा ३ बाली लगाउने गरेका छन् । यसबाट कृषि उत्पादकत्वमा निकै फाईदा पुग्ने गरेको कृषि शाखा प्रमुख सिमा भट्टले बताइन् ।
‘तरकारी खेती र अन्नबालीको राम्रो पकेट क्षेत्र भएकाले यहाँका किसानले निकै राम्रो प्रयास गर्दै आएका छन्, बाह्रै महिना सिंचाई सुविधा भएकाले पनि यहाँका किसानलाई कृषि कर्ममा सहज भएको छ’ उनले भनिन्, ‘यहाँका किसानले खेतबारीमा बाह्रै महिना व्यस्त हुने गरेका छन् । वर्षमा तीन बाली भित्र्याउने गरेका छन् ।’
दाङमा हाईब्रीड, उन्नत जातको धान रोपाई हुने गरेको छ । केही स्थानीय तहमा स्थानीय रैथाने जातको धान रोपाइ हुने गरेको छ । कृषिको उर्वर भूमि मानिएको दाङमा अन्य खेतीको तुलनामा धान खेती बढी हुने गरेको छ ।
दाङमा करीव ३९ हजार ६ सय हेक्टरमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र दाङको तथ्यांक छ । जसमा राप्ती गाउँपालिकामा कुल क्षेत्रफलको ६९ दशमलव ६२ वर्ग किलोमिटर कृषि क्षेत्र रहेको छ । ३ हजार ३ सय ४७ हेक्टरमा १६ हजार ९ सय ८० मेट्रिक टन कृषि उत्पादन हुने गरेको बताईन्छ ।