© २०२३
गुल्मीमा खोलाले एउटा सबारी साधन बगाएको छ । सोमबार बिहान बुटवलबाट वामीटक्सार तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको यात्रुवाहक जीप खोला तर्ने क्रममा गुल्मीको सत्यबती गाउँपालिका ६ अन्र्तगत डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अपरान्ह दिउसो २ः३० बजेको समयमा डहरे खोला तर्ने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक जीप रोकिएपछि यात्रुहरु तत्कालै जीपबाट झरेका थिए । जीपमा सवार नौ जना यात्रुहरु जीपबाट झरेलगत्तैे ठाडो खोलामा माथिवाट आएको पानीको बहावले जीप लाई बगाएर बढीघाट खोलामा पुराई बेपत्ता बनाएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए ।
दुई दिनदेखिको लगातार वर्षाको कारण डहरे खोलाले बगाएको उक्त जीप बाढीले नजिकै रहेको बढीघाट खोलामा पुराएपछि यात्रुहरुले हेर्दा हेर्दै जीप खोलाको भेलसँगै वेपत्ता बनेको थियो । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी टोली घटना स्थलमा पुगे पनि खोलाले बगाएको उक्त सबारी साधन अझै फेला पर्न सकेको छैन ।
अबिरल वर्षाका कारण सोमबार विहानदेखि अबरुद्ध बनेको रिडी–रुद्रवेणी सडक भने स्थानीय पालिकाको पहलमा केहीबेर अघि सुचारु बनेको सत्यबति गाउँपालिका अध्यक्ष ढकालले जानकारी दिएका छन् ।