© २०२३
पाल्पा, २२ असार ।
गत वर्ष धान रोपाईको समयमा बढी मूल्यमा कमसल खालको भारतीय युरीया मलको प्रयोग गरेका माथागढीको कसेनीका कृषक हुम बहादुर घर्ती यसवर्ष सहज रुपमा सरकारी अनुदानको मल स्थानीय सहकारीबाट पाउँदा निकै खुसी छन् ।
पुर्वखोला गाउँपालिकाको पुर्व खोलाकी सरस्वती दर्लामी गत वर्ष रासायनिक मलबिना रोपाई गरेको बताउँदै यसवर्ष समयमै आफ्नै गाउँको सहकारीबाट युरीया मल समयमै पाउँदा खुसीको सीमा नै नरहेको बताउँछिन् ।
रासायनिक मलको बिक्री वितरणको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनीलाई सरकारले उपलब्ध गराउने रासायनिक मलको कोटा अनुरुप समयमै उपलब्ध गराएका कारण यस वर्ष कृषकहरुले समयमै रासायनिक मल प्राप्त गर्न सफल भएका हुन् ।
कृषि सामग्री कम्पनीलाई सरकारले दिएको बिक्रीको लक्ष्य अनुरुप समयमै डिएपी, युरीया, पोटास जस्ता रासायनिक मल चैत वैशाखदेखि नै उपलब्ध गराएका कारण जिल्लामा सहज रुपमा व्यवस्थापन भएको हो ।
कृषि सामग्री कम्पनी लिमीटेडका पाल्पा शाखा प्रमुख खेमराज भुसालका अनुसार यसवर्ष सरकारले १२ सय मेट्रिक टन युरीया मल वितरण गर्ने लक्ष्य दिएको थियो । सरकारी लक्ष्य पूरा हुन लागेको र यसवर्ष पाल्पाका कृषकहरुलाई आवश्यकता अनुरुप रासायनिक मलको उपलब्ध हुने छ । गत बुधबार सम्म ११७९. ६५० मट्रिक.टन युरीया गाउँ गाउँका सहकारी मार्फत कृषक समक्ष पुगिसकेको छ भने १७५. १५० मेट्रिक टन युरीया मल मौज्दात रहेको छ । त्यसैगरी थप एक लट युरीया आउन बाँकी रहेको छ ।
कृषकले खाद्यान्न वालीमा प्रयोग गर्ने डिएपी गत बुधबार सम्म ४६३ मेट्रिक टन डिएपी ६४.६५० पोटास मलको खपत भएको र ११८.६०० डिएपी, १४.१०० मेट्रिक टन पोटास मल मौज्दात रहेको कार्यालयले जनाएको छ ।
सरकारले निर्धारण गरेको बिक्रीका लागि जिल्लालाई दिएको लक्ष्य अनुुरुप ३५० डिएपी ४२ मेट्रिक टन पोटास, १२ सय मेट्रिक टन युरीया जिल्लाको कृषि समितिले खेतीयोग्य जमिनको आधारमा स्थानीय तहलाई कोटा उपलब्ध गराउने र स्थानीय सरकारले सहकारीका लागि वितरणको लागि सिफारिस गरे अनुरुप जिल्लाका १० वटा स्थानीय तहका ६५ वटा सहकारीले बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनीका प्रमुख भुसाल बताउँछन् ।
रासायनिक मलको प्रयोग बढ्दो
कृषकहरुले परापुर्व कालदेखि नै रासायनिक मलको विकल्पमा प्रयोग गर्ने गरेको गोठे, हरियो र कम्पोष्ट मलको प्रयोग कम हँुदै गएपछि वर्षेनी खेतबारीमा रासायनिक मलको प्रयोग बढ्दै गएको हो ।
गाउँ बस्तीमा गाई भैसी, बाख्रा पालन गर्नेको संख्या कम हँुदै गएका कारण र अधिकांश कृषक शहर केन्द्रित भएका कारण रासायनिक मलको प्रयोग बढेको हो । आर्थिक वर्ष ०७७÷ ०७८ अवधिमा युरीया १४१२. ५५ मेट्रिकटन, ५५५. ३०० डिएपी, ८४.४५० मेट्रिक टन पोटास खपत भएको थियो । गत वर्ष भने कृषकहरुको माग अनुरुप मलको व्यवस्थापन हुन नसक्दा युरीया ५४९. २५०, डिएपी २७६.२५० टन, पोटास ५३.०५ व्यवस्थापन भएको थियो ।
प्राविधिक सुझावबिना प्रयोग
कृषकहरुले प्रति रोपनी न्युनतम रुपमा प्रयोग गर्ने मापदण्ड अनुरुप प्रयोग नगर्ने र आफु खुसी रासायनिक मलको प्रयोग गर्ने गरेको कृषि प्राविधिकहरु बताउँछन् । आफु खुसी अन्धाधुन्ध रासायनिक मल प्रयोग गरेका कारण माटोको उर्वराशक्तिमा ह्रास आउने गरेको वागवानी विज्ञ राजेन्द्र कोइराला बताउँछन् ।
समाचारप्रति ध्यानाकर्षण
रासायनिक मलको विषयलाई लिएर केही दिन अगाडि प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको रामपुरका व्यवसायी कृतिनाथ श्रेष्ठ बताउँछन् । “रहस्यमय बन्दै रामपुरको मल काण्ड” शीर्षकमा प्रकाशित समाचारका केही सन्दर्भ आफु संग नजोडिएको विषयलाई समाचारमा उलेख्य भएकाले आफ्नो विमती रहेको र समाचारमा प्रकाशित केही विषयले आफ्नो सामाजिक जिवनमा असर परेको उनले बताएका छन् ।