© २०२३
उमेर गुडिरहेको छ, जसरी जन्मिएपछि सबैको गुड्छ ।
त्यसरी गुडेर मोहम्मद हनिलले ५५ बर्ष पूरा गरिसके । कपिलवस्तु नगरपालिका वडा नंं. ९ जगदीशपुर हो उनको घर । घरसम्म मात्रै बन्ने जग्गाजमिन भएको हुँदा उनको खेतीपाती छैन् । त्यसैले दिनभर काम गर्ने घरको खर्च टार्नुपर्ने उनको बाध्यता हो ।
उमेरसँगै गुडदै उनले साइकिल मर्मत गर्दै घरपरिवार चलाइरहेका छन् ।
मर्मत पसल खाबो गाडेर बनाएको फुसको छानो भएको तर झ्याल, ढोका बिहीनी छाप्रोमा छ । काम सकेर पसल गर्दा उनको पसलमा ढोका बन्द हुदैनन्, बन्द हुन्छ त पसलमा रहेको एउटा बाकस । उनले त्यही बाकसमा साइकल मर्मत सम्बन्धी सरसामान राख्ने गरेका छन् ।
सन् २००३ सालमा रामसार सुचीमा सुचीकृत भएको कपिलबस्तु जिल्लाको महत्वपूर्ण धरोहर जगदिशपुर तालको नजिक उनको साइकल मर्मत पसल छ ।
जगदिशपुर तालको कुरा गर्ने हो भने यो तालमा प्राचीन भागीरथी हाल बाँणगँगा नदिको नामले परिचित नदिको लक्ष्मणघाटमा बाँध निर्माण गरी पानी ल्याइएको छ । यो ताल नेपालकै मानव निर्मित जैविक विविधतायुक्त तालहरुमध्ये सबैभन्दा ठुलो ताल हो । ताल कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट लगभग करिब १२ किलोमिटर उत्तरमा पर्दछ ।
साइकलबाट जगदिशपुर पुग्नेहरु हुन या जगदिशपुरका स्थानीय हुन साइकलको पाङ्गा गुड्न छाडे वा गडबडी भए खोज्दै खोज्दै उनको पसलमा पुग्छन् । जगदिशपुरको उनकै मर्मत पसलमा साइकल बनाउँदै गर्दा भेटिएका मोहम्मद हनिलले भने, जब साइकलका पाङ्ग्रा गुडदैनन् मलाई खोजी हाल्छन् । यसरी खोज्न आउनेमा जगदिशपुर घुम्न आउनेहरु बढी भएको उनले बताए । टाढा टाढाबाट आउँदा साइकिलमा केही समस्या आइहाल्छ अनि घर फर्किनका लागि मर्मत गर्न म कहाँ आउँछन् हनिलले भने ।
कति भयो त साइकल मर्मत शुरु गरेको ?
भन्ने जिज्ञासामा हनिलले भने, हजुर के कुरा गर्ने, बर्षले ३२ पुग्यो नि ।
कस्तो चल्छ त पसल ? अर्को जिज्ञासामा उनले उत्तर थियो, चलेको छ हजुर जसरी साइकलको पाङ्ग्रामा हावा हुँदा चल्छ नि त्यसरी नै । म बाँचिरहेको छु, पसल नि चलिरहेछ ।
हाँस्दै उनले थपे, साइकल गुड्न छाड्दा मेरो पसल चल्छ, साइकल गुड्दा मेरो पसल रोकिन्छ । तर साइकल गुडिरहोस्, अझै मैले बनाएको साइकल त नबिग्रीयोस भन्ने मेरो इच्छा हुन्छ उनले थपे ।
किन नि ?
भन्ने जिज्ञासामा उनको सिधा जवाफ थियो, यसले राम्रो साइकल मर्मत गर्छ भन्ने भयो भने त बल्ल ग्राहक आउँछन् नि ।
साइकल पन्चर टालेको हनिलले २० रुपियाँ लिने गरेका छन् । तर उनले मर्मत पसल शुरु गर्दा भने पन्चर टालेको १ रुपियाँ थियो । जमाना फेरिएको उदाहरण दिदै उनि भन्छन्, पहिले १ रुपियाँमा हुने काम अहिले २० रुपियाँ भयो । पसल शुरु गर्दा म भर्खरको जवान थिए, अहिले बुढो भए । पहिले साइकल हुने, साइकल चढ्ने गाउँकै ठूलो हुन्थ्यो, अहिले कार हुने ठूलो मान्छे हुन्छ ।
पसलबाट कमाई राम्रै छ ? भन्ने जिज्ञासामा उनले दिनको कम्तीमा एक सय रुपियाँ बचत हुने र कहिलेकाही बढी पनि हुने गरेको उनले सुनाए ।
आफ्नो काम कस्तो लाग्छ त ? अर्को जिज्ञासा राखेपछि उनले भने, काम ठिक छ भनेर जवाफ दिए ।
कमाई धेरै नहुँदा नि ठिक हुन्छ र ? उनको जोसिलो जवाफ आयो पसलले मलाई गुडाइरहेछ, पसलको सानो कमाइले पनि मेरो जिन्दगी गुडिरहेछ अनि ठिक हुँदैन त ?
दैनिक हजारौ र मासिक लाखौ कमाउने तर असन्तुष्ट हुनेहरुका लागि उनको जवाफ चोटिलो र उदाहरणीय छ ।
विद्यालयमा औपचारिक शिक्षा नलिएका हनिलले अक्षर भने चिनेका छन् । भारतको मुम्बई करिब ३ बर्ष रहदा अक्षर चिनेको उनले सुनाए । अक्षर त चिनेको छु तर स्कुल पढेको छैन् उनले भने, मर्मतको कामको लागि पनि अक्षर चिन्दा सजिलो हुने रहेछ ।
सम्पत्तिको नाममा साढे ५ धुर जमिन र सानो घर छ उनले भने, यहि ठाउँमा काम गरेर परिवार पालेको छु । साइकलको पाङ्ग्रा मर्मत गर्दै जीवनको पाङ्ग्रा गुडाइरहेको छु । तर अहिले कोरोनाको यो वेला पाङ्ग्रा गुड्न सकिरहेका छैनन् ।