© २०२३
बुटवल, २ असार ।
तिलोचन न्यौपाने रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं ६ का स्थायी बासिन्दा हुन् । लामो समयदेखि यही ठाउँलाई आफ्नो कर्मभूमी बनाएका न्यौपाने किसान हुन् । सिजन अनुसारको खेतीपाती लगाउनु उनको दैनिकी हो । उमेरले ७५ वर्ष पुगेका न्यौपानेले यो वर्ष असार शुरु भई सक्दा पनि धान रोप्ने बेलामा राख्ने मल पाउन नसकेको बताए ।
२७ वर्ष अघिबाट आनन्दवन कृषि सहकारी संस्था लिमिटेडबाट मल लयाएर धान रोप्ने गरेका न्यौपानेले यो पाली मल पाउने नपाउने पत्तो नभएको बताए । उनले भने, “पहिले पहिले खेत धेरै भए पनि मल सहजै पाउन सकिन्थ्यो । तर आजभोली खेतीपाती गर्ने पनि कोही छैन । कम खेत छ तर पनि मल छैन । यो सब हुनुमा राजनैतिक अस्थिरता हो भन्ने लाग्छ । पहिले सरकार थियो जनतालाई सरकार भएको अनुभुति हुन्थ्यो तर अहिले त्यस्तो छैन । जताततै भ्रष्टाचार मात्रै छ सरकारमा भएकाहरुलाई कमाउनै पर्ने छ । जनताका बारेमा सोच्ने कोही छैन । जनता मरे पनि कसैले पछुतो मान्ने छैन । यस्तै यस्तै विकृतिको शिकार हामी हुनु परेको छ ।”
त्यसैगरी तिलोत्तमा नगरपालिकाको पुर्व पहुनीका ताराबहादुर मगर पटक पटक सहकारी धाउँदा पनि मल नपाउँदा निराश छन् । १५ कट्ठा जमिन भएका मगरले असार लागि सक्दा पनि मल नपाएको बताए । “जहाँ जसरी पनि हामी किसान नै मर्कामा छौ यसको जिम्मा कसले लिने ?” उनले भने ।
मणिग्रामका हरि न्यौपानेले विगत १५ वर्षदेखि यही सरकारी मल प्रयोग गर्दै आएको बताए । “यहाँ सरकारको अनुदानमा आउने भएकाले राम्रो र केही कम मूल्यमा मल पाईन्छ भन्ने छ । यहाँ कति बेला मल आउँछ थाहा नै हुँदैन”–उनले भने ।
आनन्दवन कषि सहकारी संस्था लिमिटेडले स्थापना देखि नै मल विउ वितरण गर्दै आइरहेको छ । सिजन अनुसार धानको विउ, गहुँको विउ, युरिया मल, डिएपी पोटास बिक्री वितरण गरिरहेको छ ।
यो पाली असार शुरु भईसक्दा पनि मल पु¥याउन नसकिएको संस्थाका व्यवस्थापक टंकप्रसाद ढकालले बताए । उनले मलको मात्रा भन्दा पनि धेरै माग गर्ने किसान भएका कारणले मल पु¥याउन नसकिएको बताए । ढकालले भने, “हामीले ४ हजार क्वीन्टल डिएपी, ६ हजार क्वीन्टल युरयिाको माग गरेका थियौ । त्यसमा हामी जेठ मसान्त सम्म ८ सय बोरा डिएपी पायौ र वितरण गरेका छौ ।” माग बढी भएका कारणले मल अभाव भएको व्यवस्थापक ढकालको भनाई छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड मणिग्रामका व्यवस्थापक चन्द्रमणि न्यौपानेले मल अभाव रहेको बताए । उनले भने, “हामीले दुईवटा वडा ५ र ९ लाई वितरण गर्ने हो हामीकहाँ एक महिनामा जम्मा ७५ बोरा मल आउँछ । जो आउनु हुन्छ, वितरण गर्छौ । बाँकी किसान आउने जाने मात्रै समस्या भएको छ ।”
त्यसैगरी साना किसान कृषि सहकारी संस्था लिमिटेड शंकरनगरमा पनि उस्तै समस्या छ । व्यवस्थपक देवी गिरीले डिएपीको समय भएपनि मल नभएको बताइन् । “किसान आउने जाने मात्रै भएको छ । नगरले कहिले बोलाउँछ भन्ने प्रतिक्षामा छौ”–उनले भनिन् ।
तिलोत्तमा नगरपालिका भित्र १० वटा कृषि सहकारीले मल वितरण गर्ने गरेका छन् । तिलोत्तमा नगरपािलकाका कृषिशाखा प्रमुख दोमलाल भुषालले केही दिनमा नै मल आउने र अभावको अत्य हुने बताए । उनले केही प्राविधिक तथ्यांक तयार हुन समय लागेकाले तत्काल मल अभाव देखिएको बताए ।
भुसालले भने, “विगतमा नगरले सिफरिस गरेका सहकारीहरुले मल वितरण गर्ने र त्यसका लागि भूमिका आधारमा मल सिफारिस नगरपालिकाले गने गरेको थियो । तर यो वर्ष केही वडाका अध्यक्षहरुले भूमिलाई राम्रोसँग तथ्याक मिलाएर मलका लागि सिफारिस गर्न अनुरोध गरेका कारणले हामीले सुचना तथा सञ्चार शाखासँग सहकार्य गरेर भूमिको यकीन तथ्यांक निकाल्ने प्रक्रियामा छौ त्यसले गर्दा मल अभाव भएको हो । यो काम सकिना साथ मल सबै सहकारीहरुमा आउने छ ।”