© २०२३
मुल्लाको घरमा पाहुना आउँदै रहेछन् । मुलबाटोबाट आफ्नो बारीतिर आउनथालेको देखेपछि आफ्नै घरमा आउने पाहुना हुन् भन्ने छर्लंग भयो । हेर्दैजाँदा केही अनुहार परिचितजस्तो पनि लाग्यो । मुल्लाका बुढाबुढी पिँढीमा बसेर हेर्दै थिए । पाहुनालाई स्वागत गर्नु पहाड सम्याउनुजस्तै हुन्छ । घरमा दुई छाकलाई पुग्नेभन्दा बढी दानापानी छैन । पानीले भिजेर दाउरा बाल्न समस्या छ । ग्यास चुल्होको प्रबन्ध छैन । अनाज सुकाउन नपाएर अनाज कुटानी पिसानी हुन पाएको छैन । पाहुनाले यो समस्या बुझ्दैनन् । पाहुनालाई कसरी तर्काउने भनेर मुल्लाले जुक्ति निकाल्यो । श्रीमतीसँग सल्लाह गर्दै भन्योः अब यो गरौँ । पाहुना आए भने तिमी कचकच गरे । म भित्र आउँछु र तिमीलाई कुटेजस्तो गर्छु । तिमी रोएजस्तो गर्नु । मलाई धारेहात लगाउँदै गाली गर्दै ठुस्केर बारीतिर लाग्नु । मैले गाली गर्दै दाउरोको झटारो हान्छु । तिमीलाई लाग्दैन । त्यसपछि हातमा अर्को दाउरो लिएर आउँछु र पिट्न थाल्छु । तिमी चर्को श्वरले रुनु । पाहुना आफै जान्छन् । यति सल्लाह गरेर तयार भए । पाहुनाहरु पनि आइपुगे । मुल्लाको घरमा रडाको मच्चियो । सल्लाहबमोजिमको सबै काम भयो । नभन्दै पाहुनाहरु पनि हिँडे । बुढाबुढी जम्मा भएर गफ गर्दैथिए । देख्यौ त कस्तो रह्यो योजना ? मैले पिटेजस्तो गरेँ । तिमी रोएजस्तो गर्यौ । यत्तिकैमा पाहुनाहरु फर्केर आएर भनेः हामी पनि गएजस्तो गर्यौं । नाटक फेल भएकोमा मुल्लाका बुढाबुढी चारचित् परेछन् ।
हाम्रा नेताहरु पनि ठ्याक्कै मुल्लाका बुढाबुढीजस्ता छन् । कामको लागि जनता घरमा आए भने ढोकाको चुक्कुल ठोक्छन् । फोनमा कुरा गर्न थाल्यो बैठकमा ब्यस्त छु भन्ने तयारी म्यासेज आउँछ । कहिले उठिहाल्यो भने अन्य मानिसले उठाउँछ र नाम सोध्छ । नेताजीले छैन भनिदेउ भन्छ । फोन उठाउनेले उहाँ त खोई मोवाइल छाडेर नजिकै फिल्ड हेर्न जानुभएको छ भनिदिन्छ । जनतालाई भने गएजस्तो गर्नु वाध्यता हुन्छ ।