© २०२३
बुटवल,३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्न उपयुक्त हुने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सभापति देउवालाई नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुने बताएका हुन् ।
गगन थापाको भनाई जस्ताको तस्तै
मेरो र सभापतिज्यूको सम्बन्धको सन्दर्भमा, पार्टीभित्र म उहाँको कार्यकर्ता हो । मेरो उहँसँग कुनै व्यक्तिगत आग्रह हिजो पनि थिएन, आज पनि छैन, भोलि पनि रहँदैन । खाली आजको दिनमा नेपाली कांग्रेसको आम सदस्यको चाहना, त्यो भन्दा पनि कांग्रेसको समर्थक, शुभेच्छुकको चाहना, देशको आवश्यकता, यो सबै कुरालाई हेरेर मैले उहाँलाई राख्न चाहेको विषय के हो भने नेपाली कांग्रेसका सभापतिले जे जति कुरा यो पार्टीका लागि गर्नुपर्ने हो गर्नुभयो, उहाँको ठूलो योगदान छ, हामी आभारी छौं, जीवनपर्यन्त यसलाई सम्झिन्छौं ।
तर यो भन्दा अगाडिको यात्रा अब नेपाली कांग्रेसको नेतृत्व मैले गरिराख्नुपर्छ, मैले गरिन भने पार्टी सम्हालिन्न भन्ने सोचाइबाट उहाँ बाहिर निस्कनुपर्छ । जति छिटो नेपाली कांग्रेसको नेतृत्व उहाँले हस्तान्तरण गरिदिनुभयो, जो सुकै होला कसैले पार्टीले नेतृत्व गर्ने अवस्था आयो भने यो उहाँको हितमा छ, पार्टीको हितमा छ ।
त्यतिमात्र होइन, यो संसदीय कार्यकालमा नेपाली कांग्रेसको नेतृत्वमा एक न एक पटक सरकार त बन्छ । प्रधानमन्त्रीका रुपमा पनि उहाँले ५ पटक काम गरिसक्नुभयो । ५ पटक प्रधानमन्त्री हुँदै गर्दा देश र जनताका लागि थुप्रै काम भएका छन् । नेपाली जनताले ती कामहरुको सम्मान गर्दै अब नेपाली कांग्रेसको तर्फबाट कोही नयाँ व्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेका छन्, जो पनि हुन सक्छ ।
तर यसका निम्ति सभापतिजीले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने कुरा र नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री हुने कुराका लागि मार्ग प्रशस्त गरिदिनुभयो भने त्यो उहाँको हितमा पनि छ, पार्टीको हितमा पनि छ । यो बीचको समयमा यो कुरा होस् भन्ने म चाहन्छु । र आफ्नो चाहनालाई व्यवहारमा अनुवाद गर्न प्रयत्न पनि गर्छु । किनकी यो प्रयत्न गर्ने कुरा आजको दिनमा म पार्टीको हितमा छ भन्ने ठान्छु ।