© २०२३
तिलोत्तमा,१८ जेठ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरु (रिटर्नी ) को लागि पुनः एकीकरण कार्यक्रम अन्तर्गत बारिष्ता र बेकरी बनाउने सीपमूलक तालिमको बिहिवारबाट सुरूवात भएको छ । वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा तिलोत्तमा नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको समन्वयमा बारिष्ता र बेकरी बनाउने १५ दिने तालिम सुरू भएको हो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले बैदेशिक रोजगारीबाट फर्किएकाहरू खाली बस्न नपरोस् भन्ने सोचले तालिम सञ्चालन गरेको बताइन् ।
बिदेशबाट फर्किएका तिलोत्तमाका बासिन्दाको गुनासो सम्बोधन गर्दै स्वरोगार तिलोत्तमा बनाउने सोच रहेको उपप्रमुख चौधरीले बताइन् । तिलोत्तमा जस्तो नगरपालिकामा पटक पटक सूचना गर्दा पनि ४० जनाको कोटामा २३ जनाको मात्रै आवेदन आउनु दुखको कुरा भएको उनको गुनासो छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नेपालका युवा शक्ति पढाइ सकेर या नसकिदै विदेश जाँदा नेपालमा रेमिट्यान्स भित्रिएपनि बास्तवमा यो सही नभएको बताए । पछिल्लो समय हरेक शुभकर्ममा कफि र केक तथा बेकरीको माग बढिरहेकाले यस किसिमको तालिमको आयोजना गरिएको अर्यालको भनाइ छ ।
कार्यक्रममा लेखा अधिकृत रमेश बस्यालले यो तालिमपश्चात तालिममा सहभागीहरु उद्यमी वा व्यवसायी बन्ने बताए । रिटर्नी सन्तोष अर्यालले अन्यत्र ३५ हजार शुल्क तिरेर लिनुपर्ने तालिम नगरपालिकाको पहलकदमीले निशुल्क भएको बताए ।