© २०२३
भेरी अस्पताल नेपालगन्जमा कोभिड बिशेष अस्पताल निर्माणका लागि सहयोग जुटाउन शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले खजुरास्थित क्यान्सर अस्पताललाई बनाएको कोरोना बिशेष अस्पताल बन्द गरी भेरीलाई बनाउने निर्णय गरेसंगै त्यसको व्यवस्थापन भइरहेको हो ।
संघीय सरकारबाट आउने बजेटमा ढिलाई हुनेभएपछि स्थानीयस्तरबाटै सामान र पैसाको जोहो गरी कोभिड बिशेष अस्पताल बनाउने क्रममा नेपालगन्जका चारवटा स्वास्थ्य प्राविधिक कलेजहरुले रु २५ लाख मूल्य बराबरको २० वटा एसी जडान गर्दै छन् । जिल्लामा कार्यरत सरकारी र नेपाल राष्ट्र बैंकका कर्मचारीले आर्थिक सहयोग गरिसकेका छन् ।
सामाजिक उत्तरदायित्व महसुस गर्दै कैलपाल हस्पिटल एण्ड कलेज, मध्यपश्चिम प्राविधिक शिक्षालय, नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्ज हेल्थ कलेजले संयुक्तरुपमा मिलेर एसी खरिदको प्रक्रिया शुरु गरेका हुन । कैलपाल हस्टिल एण्ड कलेजकी निर्देशक रेवती सिंहका अनुसार, खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रक्रिया सकिनासाथ केहीदिनमै भेरी अस्पताललाई एसी हस्तान्तरण गरिने छ । ‘कोभिडको महामारीका बेला सरकारलाई आवश्यकता महसुस भएपछि हामीले सामाजिक उत्तरदायित्व बहन गरेका हौं ।’– सिंहले भनिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार सुशील कोईराला प्रखर क्यान्सर अस्पताल लाई कोभिड(१९ लेबल २ खारेज गरि भेरी अस्पताललाई लेबल २ अस्पताल घोषणा गरेको थियो । भेरीमा सूविधा सम्पन्न कोभिड अस्पताल बनाउनकै लागि स्थानीय तहले रु १० लाख उपलब्ध गराएका छन् भने जिल्लास्थित सरकारी कर्मचारीले एकदिनको तलव दिने घोषणा गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले सहयोगका लागि अपील गर्दै सहयोग गर्न चाहानेले भेरी अस्पताल विकास समितिको खाता नं. ४१३०२०७०००७०१ (राष्ट्रिय वाणिज्य बैंक) मा रकम जम्मा गर्न सक्ने छन् ।‘सरकारबाट प्राप्त हुने सहयोगसंगै स्थानीयस्तरमा के कसरी छिटो काम गर्न सकिन्छ भन्नेमै यतिबेला हामी लागिपरेका छौं ।’ भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल भन्छन–‘बजेट आउँदा र प्रकृयामा जानेबेलासम्म ढिला हुन्छ की भनेर सरोकारवाला निकायसंग सहयोगको अपील गरेका छौं ।’