© २०२३
बुटवल,११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण यही जेठ १७ गते देखि २० गतेसम्म हुने भएको छ ।
जेठ १५ गते बजेट सार्वजनिक भएपछि १७ गते उनी भारत जाने तय भएको हो । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको हो । प्रधानमन्त्री प्रचण्डले गत वैशाखमै भारत भ्रमणको तयारी गरेका थिए । तर नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण उनले भ्रमणको मिति पछि सारेका थिए ।
भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक शुक्रबार वा शनिबार हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन प्रेस रिलिज सार्वजनिक गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने छन् । त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । जेठ १९ गते उनी मुम्बई जाने र २० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रुप दिने तयारी भइरहेको छ ।