© २०२३
बुटवल,११ जेठ । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।
नेपालीलाई एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । उनी एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत थिए ।
घटनाको निरुपण नहुँदासम्मका लागि प्रदेश कमिटी सदस्यबाट निलम्बन गरिएको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
बचतकर्ताले प्रशासनमा उजुरी दिएको, अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको र छानबिन अगाडि बढाएकाले छानबिन गर्न निलम्बन गरिएको दवाडीको भनाइ छ ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपाली उपमेयर धनबहादुर कायतलाई कार्यबाहकको पत्र थमाएर सम्पर्कविहीन भएका थिए । उनलाई अध्यागमन विभागले समेत विदेश यात्रामा रोक लगाइसकेको छ ।
गत निर्वाचनमा नेपाली नेकपा एमालेबाट दोस्रो पटक ढोरपाटनको मेयर निर्वाचित भएका थिए ।