© २०२३
घुमफिर गर्नु, रमाउनु र बुझ्न खोज्नु मानवीय प्रवृत्ति हो । फरक प्राकृतिक वनावट, भूदृश्य, खोला नदी, तालतलैया, जीवजन्तु, वनस्पति अनि मानव निर्मित फरक संरचनाले मानिसहरुलाई आकर्षित गर्ने गर्दछ । मानिसहरु रमाईलोको लागि मात्र नभएर अध्ययन अनुसन्धानको लागि समेत घुमफिर गर्ने गर्छन् । मानिसहरुका रुची अनुसार विश्वमा घुमेर हेर्न सकिने सम्पदाहरु लाखौ छन् । मानिसहरुले चाहेर पनि त्यस्ता सम्पदासम्म पुग्न सक्दैनन् । टाढा टाढा पुग्न नसक्ने मानिसहरुलाई शहर ÷ वस्तीको नजिक नै घुमफिर गर्नको लागि निश्चित क्षेत्रलाई व्यवस्थित गरिएको हुन्छ । यस्ता व्यवस्थित स्थान नै पार्क हुन् । पार्क÷ उद्यानको इतिहास मानव सभ्यता जत्तिकै पुरानो छ । हिन्दु पुराण÷ उपनिषदमा उल्लेखित स्वर्गको उद्यान, रामायणमा उल्लेखित रावणको बगैचा, महाभारतमा उल्लेखित हस्तिनापुरको उद्यान, बौद्ध ग्रन्थहरुमा उल्लेखित लुम्बिनी उद्यानले मानिसहरुले हजारौ वर्ष पहिलेदेखि नै पार्क÷ उद्यानको निर्माण र उपयोग गर्दै आएको प्रष्ट हुन्छ ।
पार्कलाई शहरीकरणको अभिन्न अंग मानिन्छ । स्थानीय सरकार सन्चालन ऐन २०७४ ले कुनैपनि क्षेत्रलाई नगरपालिकाको रुपमा वर्गीकरण गर्नको लागि त्यो ठाउँमा तोकिए बमोजिम पार्क हुनुपर्ने कुरा उल्लेख भएपनि कति क्षेत्रफलमा फैलिएकोलाई पार्क मान्ने र पार्कमा के के भएमा व्यवस्थित भएको पार्क मान्ने भन्ने कुनै निश्चित मापदण्ड भएको देखिदैन । नेपाल सरकारले तयार गरी कार्यान्वयनमा ल्याएको उद्यान विकास तथा व्यवस्थापन कार्यविधि २०७५ ले “उद्यान भन्नाले सांस्कृतिक, ऐतिहासिक, सामाजिक एवं जैविक पहिचानको संरक्षण र प्रवद्र्धन गर्न तथा मनोरञ्जन गर्ने प्रयोजन समेतको लागि बनाईएको सार्वजनिक स्थल सम्झनुपर्छ “भनी पार्कलाई परिभाषित गरेको छ । कार्यविधिले पार्क निर्माणको उद्देश्य तथा प्रयोजनको लागि पार्कहरुलाई ६ किसिमले वर्गीकरण गरेको छ ।
क. प्राकृतिक तथा पर्यावरणीय पार्क
प्राकृतिक रुपमा आफै तयार भएका भू–दृश्य, वनजंगल, जीवजन्तुहरुलाई व्यवस्थित गरेर बनाईएको उद्यानलाई प्राकृतिक तथा पर्यावरणीय पार्क भनिन्छ । यस्तो पार्क अन्तर्गत जुलोजिकल पार्क (प्राणी उद्यान) र जियोलोजिकल पार्क (भौगर्भिक उद्यान) समेत पर्छन् । यस्ता पार्कहरु मानिसहरुले निर्माण गरेका हुदैनन्, उनीहरुले प्राकृतिक वस्तु÷ सम्पदालाई संरक्षण र पर्यटनमैत्री बनाएर मानिसहरुलाई आकर्षित गरेका हुन्छन् । प्रायजसो यस्ता पार्कहरु वस्तीदेखि केही पर रहेका हुन्छन् । प्रकृतिमा रमाउन चाहनेहरुको लागि यस्ता पार्क उपयुक्त मानिन्छन् ।
ख. सांस्कृतिक तथा ऐतिहासिक पार्क
कुनै ऐतिहासिक तथा साँस्कृतिक महत्व भएका स्थान वा सम्पदालाई केन्द्रमा राखेर यस्ता पार्कहरु बनाईएका हुन्छन् । प्रायजसो यस्ता पार्कहरु सम्पदा पाईएकै मूलथलोमै निर्माण गरिएका हुन्छन् । बुटवल मणिमुकुन्द पार्क यस्तो पार्कको उदाहरण हो । सांस्कृतिक पार्क भने कुनै धार्मिक वा सास्कृतिक स्थलको सेरोफेरोमा वा अन्यत्र त्यस्तो वातावरण निर्माण गरेर तयार गरिन्छ । अचेल प्रचलनमा आएका जातीय सांस्कृतिक पार्क भने कुनै खास संस्कृति झल्कनेहरु नयाँ स्थानमा बनाएको पाइन्छ ।
ग. वनस्पति उद्यान
फरक फरक स्थानमा पाईने वनस्पतिहरुलाई संग्रह गरेर यस्ता पार्कहरु बनाईएको हुन्छ । यस्तो पार्कमा वनस्पतिहरुको हर्वेरियम समेत बनाएर राखिएको हुन्छ । यस्ता पार्कमा छोटो समयमै घुम्दा धेरै किसिमका वनस्पतिहरु देख्न र तिनीहरुको बारेमा बुझ्न सकिन्छ । यस्तो पार्क विद्यार्थी र अध्येताहरु माझ लोकप्रिय हुन्छन् । गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान यस्तै किसिमको पार्क हो.।
घ. बाल उद्यान
बालबालिकाहरुलाई घुमफिर गर्न र मनोरन्जन प्रदान गर्नको लागि यस्तो पार्क बनाईएको हुन्छ । सामान्यतया यस्ता पार्कहरु शहर नजिकै बनाईएका हुन्छन् र तुलनात्मक रुपमा कम क्षेत्रफलमा फैलिएका हुन्छन् । यस्तो पार्कमा बालबालिकालाई भुल्न र रमाईलो गर्नको लागि पिङ्ग, झुला, मोनोरेल, घोडचढी, जनावरका डमी समेत राखिएको हुन्छ ।
ङ . विज्ञान तथा सुचना प्रविधि पार्क
यस्तो पार्क घुमफिर र मनोरन्जनको लागि नभई विज्ञान तथा प्रविधि सम्बन्धी जानकारी लिन, यस क्षेत्रमा भैरहेका परिवर्तन अध्ययन गर्न तथा सूचना प्रविधिको केन्द्रको रुपमा बनाईएको हुन्छ । यस्तो पार्क अध्ययन अनुसन्धान र आविश्कारको लागि उपयुक्त मानिन्छन् ।
छ . औद्योगिक पार्क
औद्योगिक क्षेत्रमा धेरै किसिमका उद्योगहरु रहेका हुन्छन् । यस्तो क्षेत्र आफैमा पार्क सरह हुन्छ । मानिसहरुलाई उद्योगको इतिहास, उत्पादन प्रक्रियाको बारेमा रुची हुन्छ । त्यसैले विभिन्न ठाउँमा पुराना उद्योग वा औद्योगिक क्षेत्रलाई पार्क बनाएर पर्यटकलाई आकर्षित गरिएको हुन्छ । केही ठाउँहरुमा पुराना उद्योग र मेसिनहरु संकलन गरी नयाँ ठाउँमा समेत यस्तो पार्क बनाईएको हुन्छ ।
कति छन् पार्क ?
केही राष्ट्रिय उद्यान बाहेक अन्य पार्कहरु समुदायले संचालन गर्ने र ती पार्कहरु वन कार्यालय, धार्मिक संघ सस्था, सामुदायिक वन समूह, स्थानीय युवा क्लब र गैरसरकारी सस्थाहरुले संचालन गरिरहेकोले नेपालका पार्कहरुको एकीकृत तथ्यांक भेटिदैन । एक दुई कट्ठा जग्गामा तारबार गरेर केही बिरुवाहरु लगाएर बस्नको लागि ३÷४ वटा बेन्च राखेर पार्क भन्ने नाम दिने भएकोले पनि वास्तविक पार्कको संख्या यकिन गर्न गाह्रो हुन्छ । पछिल्ला ५ वर्षमा मात्र लुम्बिनी प्रदेश सरकारले यस प्रदेशका २३० भन्दा बढी स्मृति पार्क र अन्य पार्कहरुलाई बजेट छुट्याएकोले लुम्बिनी प्रदेशमा यो भन्दा बढी पार्कहरु भएको सहजै अनुमान गर्न सकिन्छ । २ वटा बेन्च राखेर अनि तारबार गरेर बनाईएका पार्कहरुलाई घुमफिर गर्ने पार्कको रुपमा गणना नगर्दा पनि लुम्बिनी प्रदेशमा एक सय भन्दा बढी पार्कहरु रहेको अनुमान गर्न सकिन्छ ।
पर्यटन र अन्य क्षेत्रमा योगदान
पार्कहरु आधारभूत पर्यटकीय क्षेत्र हुन् । टाढा जान नसक्ने, टाढा जान नरुचाउने र समय कम भएका मानिसहरुको लागि पार्क घुमफिरका उपयुक्त स्थानहरु हुन् । लुम्बिनी प्रदेशका मुख्य पार्कहरुको टिकट विक्री र प्रवेश तथ्यांकलाई हेर्दा यो प्रदेशका पार्कहरुमा ६० लाख पटक आन्तरिक र बाह्य पर्यटकहरु पुगेको देखिन्छ । कुनै व्यक्ति वर्षमा एक भन्दा धेरै पार्कमा धेरै पटक समेत पुग्ने भएकोलेले पार्कमा पुग्ने मानिसहरुको संख्या प्रदेशको जनसंख्या भन्दा बढी देखिन्छ । जुन पर्यटन क्षेत्रको लागि सुखद संकेत हो । व्यवस्थित पार्कहरुमा घुमफिर गर्दा घुम्न जानेहरुले प्रवेश शुल्क समेत तिरेका हुन्छन्, यो शुल्क पर्यटनबाट प्राप्त हुने पहिलो आम्दानी हो । घुमफिर गर्न जानेहरुको कारण यातायात, होटेल तथा रेष्टुरेन्ट र किराना व्यवसायीहरुले समेत फाईदा प्राप्त गरिरहेका हुन्छन् । चलेका पार्कहरुबाट ठुला पर्यटन व्यवसायीहरुले भन्दा पनि साना र स्थानीय विक्रेताहरुले फाईदा लिन सक्छन् ।
पार्कबाट पर्यटनमा मात्र नभई अन्य क्षेत्रमा समेत योगदान पुगेको हुन्छ । शहरी पार्कहरुले खुला क्षेत्रको अभावलाई परिपूर्ति गर्ने र शहरी हरियाली प्रवद्र्धन गर्ने काम गरेका हुन्छन् । पार्कहरुले सार्वजनिक जग्गाको संरक्षण, प्राकृतिक श्रोतको संरक्षण, लोपोन्मुख वनस्पति र जीवजन्तुको संरक्षण, हरियाली प्रवद्र्धन, पानीका श्रोतहरुको संरक्षण जस्ता उपलब्धि मार्फत वातावरणीय सेवा प्रदान गरेका हुन्छन् । पार्कको व्यवस्थापनमा विभिन्न किसिमका जनशक्तिहरु आवश्यक पर्ने भएकोले नेपालका पार्कहरुले ४÷५ जनादेखि सय जनासम्मलाई रोजगारी प्रदान गरिरहेका छन् । यस बाहेक पार्कको आडमा चलेका व्यवसायहरुमा पनि दर्जनौ व्यक्तिले अप्रत्यक्ष रोजगारी पाएको देखिन्छ ।
पार्कका चुनौतीहरु
पर्यटन, रोजगारी र सांस्कृतिक तथा पर्यावरण संरक्षणमा पार्कहरुको महत्वपूर्ण योगदान भएपनि पार्कहरुको व्यवस्थित संचालनमा ठुलो समस्या छ । प्रायजसो पार्कहरु समुदायको सहयोग र व्यवस्थापनमा संचालित छन् । समाजमा देखिने राजनैतिक प्रतिष्पर्धाको शिकार पार्कहरु समेत हुने गरेका छन् । पार्कको स्थापनामा समुदाय र केही मात्रामा सरकारको सहयोग प्राप्त हुने भएपनि त्यसको निरन्तर संचालन र पूर्वाधार विस्तारमा समुदायले निरन्तर लगानी गरिरहन सक्दैनन् र राज्यले पनि निरन्र सहयोग गरेको पाईदैन, जसले गर्दा एकपटक संचालनमा आएका पार्कहरु निरन्तर रुपमा संचालन हुन् नसकी बन्द भएको समेत देखिएका छन् । अधिकांश पार्कहरु सार्वजनिक जग्गा र वनको स्वामित्व रहने जग्गामा संचालित छन् । यही कारणले गर्दा पार्क रहेको जग्गाको स्वामित्वलाई लिएर स्थानीय सरकार र वन प्रशासनसंग द्वन्द्व हुने र पार्कका संचालक वा पदाधिकारीले मुद्दा बोक्नुपरेको समेत देखिन्छ । पार्कहरुको आम्दानीको श्रोत प्रवेश शुल्क मात्र हो । यदि पार्क घुम्ने मानिसहरु कम हुने हो भने आम्दानी रोकिन्छ र पार्क व्यवस्थापन गर्न समेत कठिन हुन्छ । कोरोनाकालमा सबै पार्कहरुले यस्तो समस्या भोगेका थिए । पार्कहरुले पर्यटन प्रवद्र्धनमा सहयोग गरिरहेको भएपनि पर्यटन बोर्ड र पर्यटन व्यवसायीका सस्थाले पार्कलाई चिन्दैनन् र पर्यटनका नीति तथा कार्यक्रममा पार्कसंग सम्बन्धितलाई वास्ता गर्दैनन् । स्थानीय सरकारले पनि पार्क चलेको देखेमा लाभमा हिस्सेदारी खोज्ने तर पार्कको पूर्वाधार विकास तथा दिगोपनमा लगानी नगर्ने प्रवृत्ति देखिएको छ । यी सबै व्यवहारहरु पार्कको सामु चुनौतीका पहाड बनेर ठडिएका छन् ।