© २०२३
“हाम्रा बाल्यकालका ….सर अब हामीबीच रहनु भएन ।” फेसबुकवालमा फिलिङ्ग स्याड रियाक्सन सहितको उनको भावुक पोष्ट तर्फ मेरो नजर पुग्यो । म सहित धेरैको दुःखी भएको रियाक्सन सहितको “हार्दिक श्रद्धाञ्जली” भन्ने कमेन्ट थियो । लामो समयदेखि बिरामी रहेका गुरुको हाल खबर बुझने फुर्सद हामी सबैजसो श्रद्धाञ्जली कर्तालाई मिलेको थिएन । बस हामीले हाम्रो दायित्वको तह भर्जुअल भावनाको एउटा स्वरूप श्रद्धाञ्जलीमा आफ्नो जिम्मेवारी टुङ्ग्यायौ । धेरै समय बिरामी भएर थलिएर मृत्युवरण गरेका हाम्रा सरको देहान्त “हार्दिक श्रद्धाञ्जली” भन्ने भर्चुअल भावनामै टुङ्गिने हो त ? मनभरि प्रश्न तेर्सीरह्यो । फेरी फेसबुकलाई स्कोरल गर्दै थिएँ । नेतालाई जन्मदिनको शुभकामना दिनेको लर्को भेटेँ । चिनेका नचिनेका धेरैले ट्याग गरेर जन्मदिनको शुभकामना दिएको देखेँ । जन्मदिनको शुभकामना मात्रै होइन कि सो सगैं विशेषणका तमाम शब्दगुच्छा जो थिए । शायद लाग्दथ्यो– यो व्यवस्था र समाजको विकासमा खेलेको अतुलनीय भूमिकाका लागि उनलाई त्यति विधि शुभकामनाहरू दिइएको थियो । अर्कातिर देखेँ, पदबाट हटेका नेताको भने जन्मदिनको शुभकामनाको ग्राफ त ह्वात्तै घटेको पो रहेछ । हिजो जन्मदिन, वैवाहिक वार्षिक उत्सव, सानातिना सम्मानमा पनि मुहार पुस्तिकामा लामा लामा विश्लेषण लेख्नेहरूको शब्दकोषबाटै सायद उनका लागी ति शब्दहरू हराएको प्रतीत भयो । मुद्दतीमा राखेका शब्दहरू झिके तिनका वार्षिक ब्याज घट्छ कि भने जस्तै कन्जुस्याँइ देखियो, ति हिजोका शुभकामनाकारहरूमा । भाइरल हुन चाहनेहरूको बिहानै उठेर चिने नचिनेका सबैलाई जन्मदिनको शुभकामना व्यक्त गर्नु एउटा दैनिक कर्म जो बन्न थालेको छ । तर, तिनै शुभकामना खाएकाहरूलाई शुभकामना ग्रहण गर्न पाएको खुसी त्यस बेला खल्लो लाग्छ– जब शुभकामनाकार भेटिँदा उनलाई प्रत्यक्ष चिन्दैनन् ।
कहिलेकाँही त यो भर्चुअल भावनाले राजनीति सँगै प्रतिष्पर्धा गरेको पो हो कि भन्ने अनुभुति हुन्छ । राजनीतिमा आवश्यकता पर्दा प्रयोग गर्ने अनि अरू बेला चिन्दै नचिन्ने जो प्रवृत्ति छ । त्यसैको आधुनिक सिको पो हो कि भर्चुअल भावना । फिलिङ्स स्याड, फिलिङ्ग लभ, फिलिङ्ग बोर जस्ता रियाक्सन दिएर मनोविश्लेषणात्मक शब्द खर्चिएका व्यक्ति निकट पुग्दा ठ्याक्कै नचिन्ने व्यवहार नै त होला “भर्चुअल भावना” । भर्चुअल भावनाले कतै दिन प्रतिदिन परिवार, समाज र मानवीयताको आयामसँग निरन्तर दूरी बनाउदै त छैन । प्रविधि प्रयोगको प्रयुक्त आयाममा एउटा प्रयोगकर्ताको रूपमा मोबाईल, कम्प्युटर र ल्यापटपमा दृष्यात्मक भागमा ईन्टरफेस सँगको संवादले कतै हामी भित्रको मानवीय संवेदनालाई रित्याउदै लगेको त होईन ? अव प्रश्न गर्ने दिन आएन र ! भर्चुअल संसारले हामीलाई कतै नितान्त एक्लो बनाउदै लगेको त छैन ? । “मलाई भेट्दा प्रशंसा गर्छौ तर मेरो जन्मदिनमा एउटा शुभकामनासम्म लेख्दैनौं ।” केही निकटस्थबाट बारम्बर आईरहने प्रश्न हो मेरा लागि । त्यसैले अन्तरकुन्तर नमानेपनि भर्चुअल भावना प्रदर्शन गर्न मैले पनि सिक्न थालेको छु । त्यस्तो भावना समाजलाई मात्रै होईन कि, परिवारलाई पनि चाहिएको छ । जीवनको आरोह अवरोहमा उपस्थिति होस् वा नहोस बस भर्चुअल भावना व्यक्त गरिदिए सबै सधैं खुसी ।
जसरी मलामी जाँदा जो कोहिलेपनि “यस्तै त रहेछ संसार ! आज मरें भोली दुईदिन । भो अबबाट कसैलाई कुनै दुःखी बनाउँदिन । कमाउनु रमाउनु यस्तै पो रहेछ । अन्तिम स्थान त त्यहि घाटको चार हात जमिन नै त रहेछ नि ।” भन्छन । अनि फेरी फर्किएर दैनिकीमा लाग्छन । अनि मन, मष्तिष्क र भावनाबाट मसान बैराग्य हट्छ् । लोभ, लालच, मोह, क्रोध, माया, तृष्णामा फस्न थाल्छन । कतै ठ्याक्कै त्यहि मसान बैराग्यको आधुनिक स्वरूप पो हो कि भर्चुअल भावना ? मेरो मनले मनलाई नै सोध्छ बेला बेलामा । सामाजिक संजालमा भाइरल ट्रेन्डको प्राथमिकतासगै समाज कतै भर्चुअल भावनाको लहडमा लाग्दै त छैन ? भन्ने प्रश्नले मलाई बेला बेलामा घोत्ल्याउन थालेको छ । व्यक्तिका मनका अन्तर कुन्तरलाई मोलमोलाई गर्दै भर्चुअल भावनाले अरूलाई दिग्भ्रमित बनाउन नियोजित रूपमै लाग्दैछ । हरेक मान्छेलाई भर्चुअल संसारमा आफूलाई अति उत्तम प्रस्तुती गर्ने आशक्तिले भर्चुअल भावनालाई जागृत गर्दै गएको छ । दैनिकीको करिब एक तिहाई समय प्रबिधीको प्रयोग गरि सामाजिक संजालमा देखाउने भर्चुअल भावनाले लाग्छ व्यक्तिहरूमा परिवार, समाज, देश प्रति अगाध माया छ । सबै सबैजसो पात्र रामराजका आदर्श पात्र हुन । ति आदर्शवानहरूमा मानवियता, नैतिकता र समर्पणको अनन्त वेग छ ।
कसैले दुःखद बिषयलाई सामाजिक संजालमा पोस्ट ग¥यो भने धेरैका सहानुभूति र प्रार्थनाहरू लेखिएका कमेन्टहरू आउँछन । के यो भर्चुअल भावनायुक्त सहानुभुति वास्तविक हो त ? कि कतै एक सेकेन्डमा टाईप गरिएको सान्त्वना स्वरूपको एउटा भर्चुअल भावनाको प्रदर्शनी । हामी भर्चुअल भावनाको नशामा यति बिध्न फसिसकेछौ कि संवेदनशीलताबाट संवेदनशून्यतासम्म पुग्न थालेका छौं । भर्चुअल भावना व्यक्त गर्नेहरू वास्तविक दुखः सुन्दा ईरिटेड हुने यो कस्तो भावना अनि कस्तो संवेदना ? हामी हाम्रा मान्यताहरू, मूल्यहरू, व्यवहार, नियमहरू र आपसी सम्बन्धको आधारमा एउटै संरचनाभित्र बाँचेका मानिसहरूको समूह न हौं । जसलाई समाजको उपमा दिइएको छ । यो भर्चुअल भावनाले एउटा मानव भएका कारण हामीमा हुनुपर्ने दया, करुणा, प्रेम, समझदारी, माफी, सहयोग र नैतिकता जस्ता गुणहरू कतै मासिदै गएको पो हो कि ? अब समिक्षा गर्ने बेला आयो कि ? भावनाका पर्याय प्रेम, रिस, डर, दुःख, खुसी, घृणा र आशा हुन । हामीले भर्चुअल भावनाका नाममा यि सबै मानविय भावनालाई कतै बन्धकी राखेर नितान्त एक्लो हुँदै पो छौ कि ? भावना बिना मानवियता संभव हुदैन । मानवियता नभए मानिसमा नीति र नैतिकता रहँदैन । कतै भर्चुअल भावनाले हाम्रो भावना मात्रै होईन कि परिवार, समाज र संस्कारलाई नै बिखण्डित त गर्ने होईन ? अब गहिरिएर सोच्ने कि !