Butwal Today

‘आजको निर्णयले भोलि पछुताउनु नपरोस्’ 

२३ बैशाख २०८३, बुधबार
अ+
अ-
धनी होस् या गरिब, सहरमा बस्ने होस् या गाउँमा, पढ्ने विद्यार्थी होस् या काम गर्ने व्यक्ति हामी सबैसँग समय छ । हामी सबैलाई दिनको २४ घण्टा नै दिइएको छ ।
तर किन कसैले यही २४ घण्टामा आफ्नो जीवन बदल्छ, सपना पूरा गर्छ, सफलताको शिखरमा पुग्छ, अनि कसैले त्यही समय बिताउँदा पनि आफूलाई त्यहीँ उभिएको पाउँछ ? फरक केवल एउटै छ समयलाई कसरी प्रयोग गरिन्छ । आजको युवा पुस्तामा ऊर्जा छ, सपना छ, केही गर्ने चाहना छ तर यही पुस्ता सबैभन्दा बढी समय गुमाउने जोखिममा पनि छ ।
मोबाइलको स्क्रिनमा बितेको समय, सामाजिक सञ्जालमा बितेको अनगिन्ती घण्टा, अरूसँग तुलना गर्दै बिताएको मानसिक तनाव यी सबैले युवाको वास्तविक सम्भावनालाई बिस्तारै कमजोर बनाइरहेका छन् । समस्या केवल समय नभएको होइन, समस्या समयको सदुपयोग नहुनु हो । एक छिन सोच ।
बिहान उठेदेखि राति सुत्ने बेलासम्म तिमीले के–के गर्छौ? कतिपय काम त आवश्यक हुन्छन् पढाइ, घरको काम, आराम तर तीबाहेकको समय कता जान्छ? कति समय बिना कुनै उद्देश्य फोन चलाउँदै बित्छ? कति समय “अझै पाँच मिनेट” भन्दै बित्छ ? र त्यो पाँच मिनेट कहिले घण्टामा बदलिन्छ, थाहा नै हुँदैन ।
यति सानो–सानो रूपमा गुमेको समय नै जीवनको ठुलो हिस्सा खेर जाने कारण बन्छ । समय एउटा यस्तो सम्पत्ति हो जुन फर्केर कहिल्यै आउँदैन । पैसा हरायो भने कमाउन सकिन्छ, अवसर छुट्यो भने फेरि आउन सक्छ, तर एक पटक बितेको समय सधैँका लागि हराउँछ। यही कारणले समयको मूल्य बुझ्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
तर केवल “समय मूल्यवान् छ” भनेर बुझ्नु मात्र काफी हुँदैन, त्यसलाई व्यवहारमा उतार्नु आवश्यक हुन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने धेरै युवाहरूको साझा समस्या अनिश्चितता देखिन्छ । “अब के गर्ने ?” भन्ने प्रश्नले उनीहरूलाई घेरेको हुन्छ । पढाइ सकियो, तर स्पष्ट लक्ष्य छैन । लक्ष्य छैन भने समयको प्रयोग पनि अस्पष्ट हुन्छ ।
जब दिशा हुँदैन, तब समय आफै बगिरहन्छ, र हामी त्यससँगै बगिरहन्छौँ । त्यसैले समयको सदुपयोग गर्न चाहने हो भने सबैभन्दा पहिले आवश्यक कुरा हो दिशा । दिशा भनेको ठुला–ठुला लक्ष्य मात्र होइन । सानो–सानो लक्ष्य पनि दिशा नै हो । यदि तिमीले आज के सिक्ने, के गर्ने, के सुधार गर्ने भन्ने कुरा स्पष्ट बनायौ भने तिम्रो दिन आफै अर्थपूर्ण बन्न थाल्छ ।
उदाहरणका लागि, दिनको एक घण्टा नयाँ सीप सिक्ने, आधा घण्टा पुस्तक पढ्ने, वा कुनै सानो प्रोजेक्टमा काम गर्ने यी साना निर्णयहरूले बिस्तारै ठुलो परिवर्तन ल्याउँछन् । तर, यहाँ अर्को चुनौती पनि छ—आलस्य । मानिसको स्वभाव नै सजिलो बाटो रोज्ने हुन्छ । फोन चलाउनु सजिलो छ, भिडियो हेर्नु सजिलो छ, काम टार्नु सजिलो छ ।
तर यही सजिलोपनले दीर्घकालमा कठिनाइ निम्त्याउँछ । आज गरेको आलस्य भोलिको पछुतो बन्छ । त्यसैले समयको सदुपयोग गर्न चाहनेले पहिलो लडाइँ आफैसँग लड्नुपर्छ । कहिलेकाहीँ हामी भन्छौँ– “मसँग समय नै छैन ।” तर सत्य के हो भने, समय नभएको होइन, प्राथमिकता नमिलेको हो । जसले आफ्नो प्राथमिकता स्पष्ट बनाउँछ, उसले समय पनि निकाल्छ । यदि तिमीले कुनै कुरा साँच्चै गर्न चाहन्छौ भने, तिमी त्यसका लागि समय निकाल्छौ ।
तर यदि तिमीले त्यसलाई टार्दै गयौ भने, त्यो केवल बहाना मात्र हुन्छ । सामाजिक सञ्जालको प्रभाव पनि यहाँ ठुलो छ । अरूको जीवन देखेर आफूलाई तुलना गर्ने बानीले समय मात्र होइन, आत्मविश्वास पनि घटाउँछ । अरूले के गरिरहेका छन् भनेर हेर्दा–हेर्दै आफ्नै जीवनको समय बित्छ । तर वास्तविक प्रगति त्यति बेला हुन्छ, जब तिमी अरूलाई होइन, आफूलाई हेर्न थाल्छौ । तिमी हिजो भन्दा आज कति सुधारियौ ? तिमीले आज के नयाँ सिक्यौ ?
यी प्रश्नहरूले नै तिम्रो समयलाई अर्थपूर्ण बनाउँछन् । समयको सदुपयोग भनेको सधैँ काममै लागिरहनु होइन। आराम पनि आवश्यक हुन्छ, रमाइलो पनि चाहिन्छ । तर फरक के हो भने, त्यो सब सन्तुलनमा हुनुपर्छ । यदि रमाइलो नै जीवनको मुख्य भाग बन्यो भने, लक्ष्य हराउँछ। यदि काम मात्रै भयो भने, थकान आउँछ ।
त्यसैले समयलाई सन्तुलित रूपमा प्रयोग गर्न सिक्नु नै बुद्धिमानी हो । जीवनमा सफल भएका मानिसहरूलाई हेर्ने हो भने उनीहरूमा अनुशासन देखिन्छ । उनीहरू प्रेरणाको भरमा मात्र चल्दैनन्, उनीहरू आफ्नो समयलाई नियन्त्रणमा राख्छन्। उनीहरूले के गर्ने भन्ने निर्णय आफै गर्छन्, समयले उनीहरूलाई चलाउँदैन ।
यही कुरा युवाहरूले बुझ्न जरुरी छ । प्रेरणा कहिलेकाहीँ आउँछ र जान्छ, तर अनुशासनले निरन्तरता दिन्छ । समयको सदुपयोग गर्नका लागि ठुलो परिवर्तन गर्नुपर्छ भन्ने पनि होइन । सानो सुरुवात नै पर्याप्त हुन्छ । आजदेखि मात्र ३० मिनेट आफ्नो विकासका लागि छुट्टाउने निर्णय गर। त्यो ३० मिनेटले केही दिनमा बानी बन्छ, केही महिनामा सीप बन्छ र केही वर्षमा तिम्रो पहिचान नै बदल्न सक्छ । यही सानो सुरुवातले ठुलो परिणाम दिन्छ ।
तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने समयको सदुपयोग गर्नु भनेको केवल आफ्नो फाइदाको लागि मात्र होइन। जब तिमी आफै राम्रो बन्छौ, तब तिमी आफ्नो परिवार, समाज, र देशका लागि पनि उपयोगी बन्छौ । एक सचेत, अनुशासित, र जिम्मेवार युवा नै देशको भविष्य हो । यदि युवाले समय खेर फाल्यो भने, देशको सम्भावना पनि कमजोर हुन्छ ।
तर यदि युवाले समयको मूल्य बुझ्यो भने, त्यो देशको शक्ति बन्छ । अब प्रश्न एउटै हो तिमी आफ्नो समयलाई कसरी हेर्छौ ? केवल बिताउने चीजको रूपमा, वा आफ्नो जीवन बनाउने साधनको रूपमा? समय त जसरी पनि बित्छ, तर त्यसलाई कसरी बिताउने भन्ने निर्णय तिम्रो हातमा छ। तिमीले आज गरेको निर्णयले नै भोलिको तिम्रो अवस्था निर्धारण गर्छ । आज तिमीले समयलाई गम्भीरताका साथ लिएनौ भने, भोलि समयले तिमीलाई गम्भीर बनाउँछ ।
त्यसैले अहिले नै सोच, अहिले नै निर्णय गर र अहिले नै सुरु गर । किनकि सही समय भनेको भोलि होइन, अहिले नै हो । र यदि तिमीले आजबाट आफ्नो समयलाई सही तरिकाले प्रयोग गर्न थाल्यौ भने, केही वर्षपछि तिमी फर्केर हेर्दा पाउनेछौ कि तिमीले केवल समय बिताएको होइन, तिमीले आफ्नो जीवन निर्माण गरेको छौ, तर यदि तिमी अझै पनि “पछि गरौँला” भन्ने सोचमै अड्किरह्यौ भने, त्यो पछि कहिल्यै आउँदैन र तिमी त्यहीँ उभिएको देख्नेछौ जहाँबाट तिमीले सुरु गरेका थियौ, फरक यति मात्र हुनेछ कि समय धेरै बितिसकेको हुनेछ र अवसरहरू बिस्तारै टाढा गइसकेका हुनेछन्।
त्यस बेला पछुतो गर्ने बाहेक धेरै विकल्प बाँकी रहँदैन, र मानिसले प्रायः त्यही बेला बुझ्छ समय कति बहुमूल्य थियो भन्ने कुरा तर जीवनको सुन्दर पक्ष के हो भने, चेतना आउने बित्तिकै परिवर्तन सुरु गर्न सकिन्छ । चाहे तिमी अहिले जहाँ छौ, जुन अवस्थामा छौ, जति ढिलो भइसकेको जस्तो लागे पनि—समयको सदुपयोग सुरु गर्ने सही क्षण सधैँ “अहिले” नै हुन्छ । अतीतले सिकाउँछ, भविष्यले आशा दिन्छ, तर वर्तमानले मात्र काम गर्ने मौका दिन्छ ।
हामी प्रायः ठुला परिवर्तनको प्रतीक्षा गर्छौँ “अबदेखि म पूरै बदलिन्छु”, “भोलिदेखि म एकदमै अनुशासित हुन्छु” तर यस्ता ठुलो निर्णयहरू धेरै पटक टिक्दैनन् । किनकि परिवर्तन सानोबाट सुरु हुन्छ, निरन्तरताबाट बढ्छ, र बानीमा परिणत हुन्छ । त्यसैले आजको दिनलाई जित्नु नै सबैभन्दा ठुलो उपलब्धि हो। यदि तिमीले आजको समयलाई सही तरिकाले प्रयोग गर्‍यौ भने, भोलि आफै सजिलो हुँदै जान्छ ।
तिमीले आफैलाई एउटा सरल प्रश्न सोध्न सक्छौ “आज मैले के गरेँ जसले मलाई हिजोभन्दा राम्रो बनायो?” यदि यो प्रश्नको जवाफ तिमीसँग छैन भने, त्यो दिन केवल बितेको दिन हो। तर यदि सानो भए पनि प्रगति भएको छ भने, त्यो दिन मूल्यवान् भएको छ। समयको सदुपयोग भनेको ठुलो उपलब्धि हासिल गर्नु मात्र होइन, सानो–सानो सुधारलाई निरन्तरता दिनु हो । समयलाई लगानी गर्ने बानी बसाल्नका लागि स्पष्ट उद्देश्य आवश्यक हुन्छ ।
उद्देश्य बिना गरिएको काम छिट्टै थाक्छ, तर उद्देश्यसहित गरिएको कामले ऊर्जा दिन्छ । यदि तिमीलाई थाहा छ कि तिमी किन केही गरिरहेका छौ, भने तिमीलाई थकाइ कम लाग्छ, अल्छी कम लाग्छ, र निरन्तरता दिन सजिलो हुन्छ । त्यसैले आफ्नो “किन” खोज्नु समय व्यवस्थापनको आधार हो।साथीहरूको प्रभाव पनि समयको प्रयोगमा महत्त्वपूर्ण हुन्छ ।
यदि तिमी यस्तो समूहमा छौ जहाँ सबैले समय खेर फाल्ने बानी बनाएका छन् भने, तिमी पनि त्यही दिशामा तानिन्छौ । तर यदि तिमी प्रेरित मानिसहरूको सङ्गतमा छौ भने, तिमी पनि सुधारतर्फ अघि बढ्छौ । त्यसैले सङ्गत छान्नु पनि समयको सदुपयोगको एउटा महत्त्वपूर्ण पक्ष हो । अर्को महत्त्वपूर्ण कुरा हो—धैर्य ।
आज गरेको मेहनतको परिणाम भोलि नै देखिँदैन । धेरै युवाहरू यही ठाउँमा हार मान्छन् । केही दिन प्रयास गर्छन्, अनि परिणाम नदेखेपछि छोड्छन्। तर समयलाई सही तरिकाले प्रयोग गर्नेले बुझ्छ—प्रगति बिस्तारै हुन्छ, तर स्थायी हुन्छ। जब तिमी निरन्तर काम गरिरहन्छौ, एक दिन अचानक तिमीले आफैलाई त्यस्तो स्थानमा भेट्छौ जहाँ पुग्ने कल्पना पनि पहिले गर्न सकेका थिएनौ । समयको सदुपयोग गर्न सिक्नु भनेको जीवनलाई नियन्त्रण गर्न सिक्नु हो।
यदि तिमी आफ्नो समयलाई नियन्त्रण गर्न सक्छौ भने, तिमी आफ्नो भविष्यलाई पनि नियन्त्रण गर्न सक्छौ । तर यदि तिमीले समयलाई नै स्वतन्त्र छोडिदियौ भने, त्यो तिमीलाई जहाँसुकै बगाएर लैजान सक्छ । त्यसैले समयसँग खेल्ने होइन, समयसँग सहकार्य गर्ने कला सिक्नुपर्छ।
जीवनको अन्तिम क्षणहरूमा मानिसहरूले प्रायः एउटै कुरा सम्झन्छन्—“काश, मैले आफ्नो समय राम्रोसँग प्रयोग गरेको भए ।” कसैले पनि “कास, मैले अझ धेरै फोन चलाएको भए वा “काश, मैले अझ धेरै समय खेर फालेको भए” भन्दैन । त्यसैले आज नै निर्णय गर, ता कि भोलि पछुताउनु नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?