© 2026
मानव जीवन विविधता, क्षमता र सम्भावनाले भरिएको छ । यही विविधताभित्र अपाङ्गता पनि एक महत्वपूर्ण यथार्थ हो, जसलाई धेरैजसो अवस्थामा केवल “चुनौती” का रूपमा मात्र बुझ्ने गरिन्छ । तर, आजको परिवर्तित सोच, अधिकारमुखी दृष्टिकोण र समावेशी विकासको अवधारणाले अपाङ्गतालाई फरक ढंगले व्याख्या गर्न थालेको छ ।
प्रश्न उठ्छ– के अपाङ्गता साँच्चै केवल चुनौती हो, वा यसले अवसरका ढोका पनि खोल्न सक्छ ? यसको उत्तर सरल छैन, तर स्पष्ट छ– अपाङ्गता आफैंमा समस्या होइन, समस्या हाम्रो सोच, संरचना र व्यवहारमा लुकेको हुन्छ ।
अपाङ्गता भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी अवस्थाका कारण व्यक्तिको दैनिक जीवनका गतिविधिहरूमा देखिने कठिनाइलाई जनाउँछ । विगतमा समाजले अपाङ्गतालाई दया, आश्रय र कमजोरीको दृष्टिले हेथ्र्यो । यस्तो दृष्टिकोणले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूल प्रवाहबाट टाढा राख्यो ।
उनीहरूलाई आत्मनिर्भर बन्ने अवसरभन्दा पनि सहाराको पात्रको रूपमा चित्रित गरियो । तर आधुनिक समयमा “सामाजिक मोडेल” (Social Model of Disability) ले नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ, जसले भन्छ – अपाङ्गता व्यक्तिको शरीरमा होइन, समाजले बनाएका अवरोधहरूमा हुन्छ ।
यदि वातावरण, संरचना र नीति समावेशी भए भने अपाङ्गता बाधा होइन, सामान्य जीवनको एक हिस्सा मात्र बन्न सक्छ । यद्यपि व्यवहारमा हेर्दा अपाङ्गता भएका व्यक्तिहरूले अझैपनि थुप्रै चुनौतीहरू सामना गरिरहेका छन् । शिक्षा क्षेत्रमा उनीहरूको पहुँच अझै सीमित छ । धेरै विद्यालयहरू भौतिक रूपमा अपाङ्गमैत्री छैनन्, न त शिक्षण विधि नै सबैका लागि उपयुक्त छ । स्वास्थ्य सेवामा पहुँच, उचित उपचार र पुनःस्थापना सेवाहरू पर्याप्त छैनन् ।
रोजगारीको क्षेत्रमा पनि समान अवसरको अभाव देखिन्छ । अपाङ्गता भएका व्यक्तिहरूलाई क्षमता नभएको भन्ने पूर्वाग्रहले गर्दा उनीहरूलाई कामका अवसरहरू कम दिइन्छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, सडक तथा भवनहरूमा आवश्यक पहुँचको अभावले उनीहरूको दैनिक जीवन थप कठिन बनाएको छ ।
सामाजिक दृष्टिकोण पनि अर्को महत्वपूर्ण चुनौती हो । अझैपनि धेरै ठाउँमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेला, उपेक्षा वा सहानुभूतिका नजरले मात्र हेरिन्छ । यस्तो व्यवहारले उनीहरूको आत्मविश्वासमा असर पार्छ र समाजमा सक्रिय सहभागिता गर्नबाट रोक्छ । विशेषगरी ग्रामीण क्षेत्रहरूमा चेतनाको अभावका कारण अपाङ्गतालाई अभिशाप वा कर्मको परिणामका रूपमा व्याख्या गरिन्छ, जसले समस्या झन् गम्भीर बनाउँछ ।
तर, यी सबै चुनौतीहरूका बीचमा अपाङ्गता अवसरको रूपमा पनि देखापर्न सक्छ । इतिहास र वर्तमान दुवैमा यस्ता थुप्रै उदाहरणहरू छन् जहाँ अपाङ्गता भएका व्यक्तिहरूले असाधारण उपलब्धि हासिल गरेका छन् । उनीहरूको जीवनले प्रमाणित गर्छ कि सही अवसर, प्रोत्साहन र पहुँच पाउँदा कुनै पनि व्यक्तिले आफ्नो क्षमता प्रदर्शन गर्न सक्छ।
अपाङ्गता भएका व्यक्तिहरूमा प्रायः दृढता, धैर्यता, समस्या समाधान गर्ने क्षमता र संघर्षशीलता उच्च हुन्छ, जुन कुनै पनि समाजका लागि महत्वपूर्ण पूँजी हुन् । प्रविधिको विकासले पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि नयाँ सम्भावनाहरू सिर्जना गरेको छ । सहायक उपकरणहरू (Assistive Technologies), डिजिटल प्लेटफर्महरू, र अनलाइन शिक्षा तथा रोजगारीका अवसरहरूले उनीहरूको जीवनलाई सहज बनाउँदै लगेको छ ।
उदाहरणका लागि, दृष्टिविहीन व्यक्तिहरूका लागि स्क्रिन रिडर, शारीरिक अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष उपकरणहरू र सांकेतिक भाषाको प्रयोगले सञ्चारमा सहजता ल्याएको छ । यसले देखाउँछ कि उचित प्रविधि र नवप्रवर्तनले अपाङ्गतालाई अवसरमा रूपान्तरण गर्न सक्छ । यस सन्दर्भमा राज्यको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।
नेपालमा पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न विभिन्न कानुनी प्रबन्धहरू गरिएको छ । संविधानले समानता, सम्मान र सहभागिताको अधिकार सुनिश्चित गरेको छ भने विभिन्न नीति तथा कार्यक्रमहरूले समावेशी विकासलाई प्राथमिकता दिएका छन् । तर, कानुन मात्र पर्याप्त हुँदैन, यसको प्रभावकारी कार्यान्वयन अझ महत्वपूर्ण हुन्छ ।
नीति निर्माणदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका व्यक्तिहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्छ । समावेशी समाज निर्माणका लागि शिक्षा प्रणालीलाई रूपान्तरण गर्न जरुरी छ । सबै बालबालिकालाई, चाहे उनीहरू जुनसुकै अवस्थाका किन नहुन्, एउटै कक्षामा समान अवसरसहित अध्ययन गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।
शिक्षकहरूलाई समावेशी शिक्षाको तालिम दिनु, पाठ्यक्रमलाई लचिलो बनाउनु र आवश्यक सहयोगी सामग्री उपलब्ध गराउनु आवश्यक छ । त्यस्तै, रोजगारीको क्षेत्रमा पनि समान अवसर र क्षमता अनुसारको काम सुनिश्चित गर्नुपर्छ । अर्कोतर्फ, समाजको सोच परिवर्तन गर्नु सबैभन्दा ठूलो चुनौती र आवश्यकता दुवै हो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अधिकारको दृष्टिले हेर्ने संस्कार विकास गर्नुपर्छ । सञ्चार माध्यम, शिक्षा र जनचेतनामूलक कार्यक्रममार्फत सकारात्मक सन्देश फैलाउनु जरुरी छ । परिवार, समुदाय र संस्थाहरूले पनि समावेशी व्यवहार अपनाउनुपर्छ । अन्ततः, अपाङ्गता न त केवल अवसर हो, न त मात्र चुनौती ।
यो हाम्रो दृष्टिकोण, नीतिगत व्यवस्था र सामाजिक व्यवहारमा निर्भर रहने विषय हो । यदि हामीले समानता, समावेशिता र सम्मानलाई व्यवहारमा उतार्न सकेका छौं भने, अपाङ्गता भएका व्यक्तिहरूका लागि जीवन अवसरले भरिएको बन्न सक्छ । तर यदि हामी पुरानै सोच र अवरोधहरूमा अडिग रह्यौं भने, यो चुनौतीकै रूपमा रहिरहनेछ ।
यसैले, आजको आवश्यकता भनेको अपाङ्गतालाई नयाँ दृष्टिले हेर्ने हो–जहाँ प्रत्येक व्यक्ति समान अधिकार र अवसरको हकदार हुन्छ । “कसैलाई पछाडि नछोड्ने” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्दै, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनु अपरिहार्य छ । अपाङ्गता भएका व्यक्तिहरूलाई सक्षम नागरिकका रूपमा स्वीकार गर्दै उनीहरूको क्षमता र सम्भावनालाई उजागर गर्नु नै साँचो विकासको मार्ग हो ।