Butwal Today

‘प्रेसमाथिको दमन र विभेद स्वीकार्य हुँदैन’

२० बैशाख २०८३, आइतबार
अ+
अ-

आज विश्व प्रेस स्वतन्त्रता दिवस । नेपाली प्रेसले विगतमा राजनैतिक अधिकारका लागि भएका आन्दोलनमा सगरमाथा जस्तै अटल र अविचलित भूमिका निर्वाह गरेकोले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ ।

नेपालमा विगतमा भएको २०४६ सालको प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन होस् या २०६२/०६३ को ऐतिहासिक लोकतान्त्रिक आन्दोलन हरेक राजनैतिक सङ्घर्षमा नेपाली प्रेसले खेलेको भूमिका कसैले बिर्सने चेष्ट गरे पनि इतिहासले भुल्न सक्दैन । त्यो नेपालको इतिहासले प्रमाणित गरेको विषय हो ।

नेपाली प्रेसले पञ्चायती कालखण्डदेखि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म आईपुग्दा धेरै संघर्ष, प्रताडना, आन्दोलन गर्नुपरेको छ । विडम्बना भनौँ अहिले पनि नेपाली प्रेसले कठिन दिनहरूको सामना गर्नुपरेको छ ।

बालेन नेतृत्वको सरकार बनेपछि नेपाली प्रेसमाथि पुनः अङ्कुश लगाउने प्रयास भएको छ । प्रेसको घाँटी निमाठ्ने काम हुन थालेको छ । बालेन नेतृत्वमा नयाँ सरकार बनेपछि नीजि मिडियालाई सरकारी विज्ञापन नदिने निरंकुश शैलीको सुरुवात भएको छ ।

यसले निजी मिडियालाई धरासायी बनाएर सरकारले जे गरे पनि चुपचाप सहनुपर्ने बाध्यताको सिर्जना गर्ने प्रयास भैरहेको छ । यस्तो लाग्दैछ अव नेपाली प्रेसले केही समय कठिनतम र चुनौतिपूर्ण दिनहरूको सामना गर्नुपर्नेछ । लोकतन्त्रको हिमायती मानिएको बालेन सरकारको कदम प्रेस स्वतन्त्रताविरुद्ध छ ।

प्रेसको घाँटी निमोठेर सरकारले कुन तन्त्रीय शासन व्यवस्था लाद्न खोजेको हो ? सोचनीय विषय छ । यो विषय प्रेस जगतका लागि मात्रै होइन, सारा नेपालीको चासो र चिन्ताको विषय बन्नुपर्दछ ।

किनभने निरंकुशतन्त्र फालेर लोकतन्त्र ल्याउन भूमिका खेलेको प्रेसमाथि यस प्रकारको विभेद सुरु हुन्छ भने भोलीको दिनमा नेपाली जनताको बोल्ने अधिकारमाथि पनि कैची चल्न सुरु नहोला भन्न सकिदैन् ।

तसर्थ अझै समय छ– बालेन सरकारले प्रेसमाथि जसरी विभेदको नीति लिएको छ, त्यसबाट पछि हटनु उसैका लागि हितकर छ । यस्तै विभेद र दमनको नीति विगतमा ज्ञानेन्द्रको शासन व्यवस्थाले गरेको थियो ।

स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको एउटा आधारस्तम्भ हो । प्रेस, अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक अधिकारको सवाल राजनैतिक अधिकारसँग जोडिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो चरणसम्म आइपुग्दा पटकपटक संघर्ष र बलिदानको गाथा लेखिइसकेको छ । त्यसमा राज्यको चौथो अंग प्रेसको भूमिकाको चर्चा सायदै गरिरहनु पर्दैन ।

नेपाली प्रेसको भूमिका सशक्त नभएको भए सायद आज नेपाल अहिलेको राजनैतिक अधिकार प्राप्तिको यो अवस्थासम्म आईपुग्थेन भन्ने कुरा मनन गरेर सोचौं । बिडम्वना नेपाली प्रेसले निषेध र नियन्त्रणको मार खेप्दै आउँदै गर्दा लोकतान्त्रिक व्यवस्थामा पनि त्यस्तै खाले प्रवृत्तिसँग जुध्ने अवस्था आउनु चिन्ताको विषय हो ।

प्रेसमाथि अङ्कुश लगाउन खोज्नु कुनैपनि सर्तमा नेपाली सञ्चार जगतले स्वीकार गर्दैन । नेपाली प्रेसले पेसागत दायित्व पालनामा सावधानी र संयम अपनाउनुपर्छ भन्ने मान्यता सञ्चारकर्मीहरूले स्वीकार्दै आएका छन् ।

तर, निरंकुशता नेपाली प्रेसका लागि अभिषाप हो । तसर्थ नेपाली प्रेस आफ्नो मर्यादा र आचारसंहिताभित्रै रहेर जिम्मेवारी निर्वाह गर्छ । नेपाली जनताले गरेको आन्दोलन जनताको अधिकारकासाथै नेपाली प्रेसको अभिब्यक्ति स्वतन्त्रतासंग जोडिएको थियो । अहिले त्यसैको प्रतिफल हरेक नेपालीले लेख्न र बोल्न पाएका छन् ।

तसर्थ नेपाली प्रेसले देशको सुरक्षा, हित र नेपाली माटोसंग जोडिएको राष्ट्रियताको कुरामा जिम्मेवार भूमिका निर्वाह गर्दछ र भोलिको दिनमा पनि गर्नेछ । बिडम्वना भन्नुपर्दछ– प्रेसमाथि अझैपनि बक्रदृष्टि राख्नु न्यायोचित होइन ।

विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसरमा प्रेस स्वतन्त्रताको आन्दोलनमा सहादत प्राप्त गर्ने, लेखेकै र कुनै विषय प्रसारण गरेकै आधारमा ज्यान उत्सर्ग गर्न बाध्य भएका विश्वका ती सवै महान प्रेसकर्मीहरूप्रति हार्दिक श्रद्धाञ्जली ।

भोलिको दिनमा प्रेसले फेरी आन्दोलन गर्नु नपरोस् । प्रेसमाथि दमन गर्ने सोँच र नियत राख्ने शासकहरूमा चेतनाको दियो बलोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?