© 2026
प्रधानमन्त्रीको भारत भ्रमणलाई केवल औपचारिक भेटघाट, राजनीतिक सम्बन्ध र कूटनीतिक शिष्टाचारका रूपमा मात्र हेर्नु हुँदैन । नेपाल र भारतबीचको सम्बन्ध भौगोलिक निकटता, ऐतिहासिक सम्बन्ध, सांस्कृतिक समानता, धार्मिक आस्था र आर्थिक अन्तरनिर्भरतासँग जोडिएको छ । त्यसैले यस्तो उच्चस्तरीय भ्रमणलाई नेपालको राष्ट्रिय हित संरक्षण गर्दै आर्थिक समृद्धिका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा उपयोग गर्नुपर्छ । सीमा समस्या, सन्धि, व्यापार, पारवहन र ऊर्जा जस्ता महत्त्वपूर्ण विषयसँगै धार्मिक पर्यटनलाई पनि विशेष प्राथमिकता दिनु आवश्यक छ । नेपाल–भारत सम्बन्धका कतिपय विषय अझै समाधानको प्रतीक्षामा छन् । सन् १८१६ को सुगौली सन्धि, सन् १९५० को शान्ति तथा मैत्री सन्धि, महाकाली सन्धि तथा व्यापार र पारवहनसम्बन्धी व्यवस्थाहरूलाई समयसापेक्ष पुनरावलोकन गर्दै दुवै देशको हितमा अघि बढाउनुपर्छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका सीमा विवादलाई ऐतिहासिक प्रमाण, नक्सा, सन्धि र कूटनीतिक संवादका आधारमा समाधान गर्ने विषयमा नेपालले स्पष्ट र दृढ अडान राख्नुपर्छ । मित्रता भनेको राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतालाई कमजोर बनाउनु होइन । समानता, पारस्परिक सम्मान र न्यायपूर्ण सहकार्य नै वास्तविक मित्रताको आधार हो । तर यस भ्रमणको एउटा महत्त्वपूर्ण सम्भावना धार्मिक पर्यटन पनि हो । भारत विश्वकै ठूलो धार्मिक तथा सांस्कृतिक पर्यटन बजारमध्ये एक हो । त्यहाँका करोडौँ सनातन धर्मावलम्बीका लागि नेपाल केवल छिमेकी मुलुक होइन, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, लुम्बिनी, मनकामना, सुपादेउरालीजस्ता पवित्र तीर्थस्थल रहेको पुण्यभूमि हो । भारतका धार्मिक पर्यटकलाई योजनाबद्ध रूपमा नेपालका तीर्थस्थलसम्म आकर्षित गर्न सके पर्यटनबाट ठूलो आर्थिक लाभ लिन सकिन्छ । धार्मिक पर्यटनको सम्भावना केवल मन्दिर दर्शनमा सीमित छैन । यसले यातायात, होटल, भोजन, स्थानीय उत्पादन, हस्तकला र रोजगारीका अनेक अवसर सिर्जना गर्छ । यस सन्दर्भमा नेपालले एउटा व्यवस्थित धार्मिक पर्यटन परिपथको अवधारणा अघि सार्न सक्छ । भारतको उत्तर प्रदेशस्थित सुनौली नाकाबाट नेपाल प्रवेश गर्ने तीर्थयात्रीलाई बुटवल, पाल्पाको तानसेन, रिडी–रुरुक्षेत्र हुँदै कालीगण्डकी सभ्यतासँग परिचित गराउन सकिन्छ । रिडी धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण क्षेत्र हो । कालीगण्डकीमा पाइने शालिग्राम शिला, रुरुक्षेत्रको धार्मिक महिमा र ऋषिकेश भगवान्को रथयात्राजस्ता परम्पराले यस क्षेत्रलाई विशिष्ट तीर्थस्थल बनाएका छन् । राजा मणिमुकुन्द सेनसँग सम्बन्धित हृषीकेश भगवान्को परम्परालाई पनि ऐतिहासिक अध्ययन, प्रमाण संकलन र प्रचारका माध्यमबाट धार्मिक पर्यटनसँग जोड्न सकिन्छ । रिडीलाई भारतका तीर्थयात्रीका लागि परिचित गराउन सके पश्चिम नेपालका धार्मिक तथा सांस्कृतिक सम्पदाले नयाँ पहिचान पाउनेछन् । अथवा सुनौलीबाट बुटवल, नारायणगढ, मुग्लिन, मनकामना, पोखरा हुँदै बेनी–जोमसोम भएर मुक्तिनाथसम्म पुग्ने धार्मिक पर्यटन मार्ग विकास गर्न सकिन्छ । अथवा कालीगण्डकीको किनारै किनार उनीहरूलाई रिडी बाग्लुङ् हुँदै मुक्तिनाथ पनि लैजान सकिन्छ । मुक्तिनाथ हिन्दू र बौद्ध दुवै धर्मावलम्बीका लागि श्रद्धाको केन्द्र हो । मुक्तिनाथ दर्शनपछि फर्कने तीर्थयात्रीलाई बागलुङ, सेतीवेणी, रुद्रवेणी र पुनः रिडी हुँदै भारत फर्कने अर्को मार्गसमेत व्यवस्थित गर्न सकिन्छ । यसले एउटै यात्रामा अनेक तीर्थस्थलको दर्शन गराउने अवसर दिन्छ । आवश्यकताअनुसार सुपादेउराली, स्वर्गद्वारी तथा अन्य धार्मिक स्थललाई पनि यस परिपथमा जोड्न सकिन्छ । यसरी भारतबाट नेपाल प्रवेश गरी विभिन्न तीर्थस्थलको दर्शन गर्दै पुनः भारत फर्कने सुविधाजनक धार्मिक पर्यटन मार्ग तयार गर्न सकिन्छ । यो अवधारणा केवल सडकको नक्सा होइन, नेपालको धार्मिक सम्पदा र स्थानीय अर्थतन्त्रलाई जोड्ने दीर्घकालीन योजना हुनुपर्छ ।
यस्तो धार्मिक पर्यटनलाई सफल बनाउन सडक, यातायात, होटल, सरसफाइ, स्वास्थ्य सेवा, सुरक्षा, सूचना केन्द्र र बहुभाषिक मार्गदर्शनको व्यवस्था गर्नुपर्छ । भारतीय तीर्थयात्रीलाई लक्षित गरेर शाकाहारी तथा सात्त्विक भोजनको व्यवस्था गर्नु पनि उत्तिकै आवश्यक छ । नेपालका स्थानीय अन्न–कोदो, फापर, मकै, जौ तथा दुग्धजन्य परिकारका साथ स्याउ, अम्बा, स्थानीय केरा, खुर्पानी, ओखर आदि फलफूलहरूलाई पनि धार्मिक पर्यटनसँग जोड्न सकिन्छ । तीर्थयात्रा केवल मन्दिर दर्शनमा सीमित हुँदैन । त्यसले स्थानीय संस्कृति, खानपान, जीवनशैली र अर्थतन्त्रको अनुभवसमेत समेट्नुपर्छ । धार्मिक यात्राका क्रममा स्थानीय उत्पादनको खरिद र उपभोग बढेमा गाउँगाउँमा आर्थिक गतिविधि विस्तार हुनेछ । धार्मिक पर्यटनसँगै नेपालको कृषि, जडीबुटी, पशुपालन र जलविद्युत्को सम्भावनालाई पनि भारत भ्रमणमा प्राथमिकताका साथ उठाउनुपर्छ । नेपालमा उत्पादित चिया, कफी, अलैँची, अदुवा, फलफूल, तरकारी तथा अन्य कृषि उपजलाई भारतीय बजारमा सहज पहुँच दिलाउन सकिन्छ । उत्पादनको गुणस्तर, भण्डारण, प्रशोधन, ढुवानी र बजार व्यवस्थापनमा सहकार्य गर्न सके नेपाली किसानले ठूलो बजार पाउन सक्छन् । कृषि उत्पादनको निर्यातमा देखिने नीतिगत र प्राविधिक अवरोध हटाउन दुवै देशबीच प्रभावकारी संवाद आवश्यक छ । नेपालका हिमाली तथा पहाडी क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको वैज्ञानिक अनुसन्धान, प्रशोधन र बजार व्यवस्थापनका लागि भारतीय आयुर्वेदिक संस्थासँग सहकार्य गर्न सकिन्छ । औषधीय वनस्पतिको पहिचान, गुणस्तर परीक्षण, संरक्षण र निर्यातको व्यवस्थित नीति बनेमा यस क्षेत्रले नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान दिन सक्छ । कच्चा जडीबुटी सस्तोमा निर्यात गरेर मात्र होइन, नेपालमै प्रशोधन, औषधि निर्माण र मूल्य अभिवृद्धि गर्ने उद्योग स्थापना गरेर लाभ लिनुपर्छ । यसका लागि अनुसन्धान केन्द्र, प्रयोगशाला र दक्ष जनशक्ति विकासमा पनि सहकार्य आवश्यक छ । त्यस्तै, गाईभैँसीपालन, दुग्ध उत्पादन, घिउ, दही, पनिर तथा अन्य पशुजन्य उत्पादनको व्यावसायिक विकास गर्न सकिन्छ । गोबर र गौमूत्रमा आधारित जैविक मल तथा परम्परागत आयुर्वेदिक उत्पादनको सम्भावनालाई पनि वैज्ञानिक परीक्षण, गुणस्तर नियन्त्रण र कानुनी मापदण्डका आधारमा अघि बढाउनुपर्छ । यसबाट ग्रामीण रोजगारी, कृषि उत्पादन र स्थानीय उद्यमशीलता बढाउन सकिन्छ । धार्मिक पर्यटनका क्षेत्रमा स्थानीय दुग्धजन्य तथा सात्त्विक खाद्य उत्पादनको बजारसमेत विस्तार गर्न सकिन्छ ।
नेपालको जलविद्युत् अर्को महत्वपूर्ण आर्थिक आधार हो । भारतसँग विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, दीर्घकालीन विद्युत् खरिद सम्झौता र लगानी सहकार्यलाई पारस्परिक लाभका आधारमा अघि बढाउनुपर्छ । नेपालले ऊर्जा उत्पादन गर्ने र भारतले ठूलो बजार उपलब्ध गराउने सम्भावनालाई दुवै देशको आर्थिक समृद्धिसँग जोड्न सकिन्छ । तर जलस्रोतसम्बन्धी सम्झौतामा नेपालको दीर्घकालीन हित, वातावरणीय सन्तुलन र स्थानीय समुदायको अधिकारलाई प्राथमिकता दिनुपर्छ । नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रभावकारी बनाउन जनकपुर–अयोध्या, काशी–पशुपतिनाथ, प्रयागराज–देवघाट–रिडी र मुक्तिनाथजस्ता तीर्थस्थललाई जोड्ने सांस्कृतिक पर्यटन कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसका लागि दुवै देशका पर्यटन मन्त्रालय, धार्मिक संस्थाहरू, यातायात व्यवसायी र स्थानीय सरकारबीच समन्वय आवश्यक छ । भारतका तीर्थयात्रीलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्ने संयुक्त प्रचार अभियान पनि सञ्चालन गर्न सकिन्छ । धार्मिक स्थलहरूको ऐतिहासिकता, पुरातात्त्विक महत्त्व र शास्त्रीय परम्पराको अध्ययन तथा प्रकाशनले पनि तीर्थस्थलको आकर्षण बढाउन मद्दत गर्नेछ । नेपालको धार्मिक सम्पदा केवल आस्थाको विषय मात्र होइन, यो राष्ट्रिय पहिचान, सांस्कृतिक निरन्तरता र आर्थिक विकासको आधार पनि हो । धार्मिक पर्यटनको विकास गर्दा नेपालको बहुधार्मिक, बहुसांस्कृतिक र समावेशी चरित्रको सम्मान गर्नुपर्छ । यसको उद्देश्य कुनै एक धर्मलाई राज्यको विशेषाधिकार बनाउनु होइन, नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबाट सबै समुदाय र नागरिकले लाभ लिन सक्ने वातावरण बनाउनु हो । अतः प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा, सन्धि, व्यापार, पारवहन र ऊर्जा जस्ता विषयसँगै धार्मिक पर्यटनलाई पनि ठोस कार्ययोजनासहित उठाउनुपर्छ । नेपालले भारतबाट केवल पर्यटक आउने अपेक्षा मात्र नगरी ती पर्यटकलाई आकर्षित गर्ने पूर्वाधार, सेवा र प्रचार प्रणालीसमेत विकास गर्नुपर्छ । धार्मिक पर्यटन, कृषि, जडीबुटी, पशुपालन र जलविद्युत्लाई एकीकृत आर्थिक रणनीतिका रूपमा अघि बढाउन सके नेपालले आफ्नो प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदालाई समृद्धिको आधार बनाउन सक्छ । प्रधानमन्त्रीको भारत भ्रमण केवल कूटनीतिक भेटघाटमा सीमित नहोस; नेपालको राष्ट्रिय स्वाभिमानको संरक्षण गर्दै धार्मिक पर्यटन र आर्थिक समृद्धिका नयाँ ढोका खोल्ने ऐतिहासिक अवसर बनोस् ।