Butwal Today

साढे चार वर्षमा १ हजार २१८ उडान, यात्रु ६९ हजार मात्रै

७ मंसिर २०८३, सोमबार
अ
अ+
अ-

बुटवल ।
लुम्बिनी भ्रमणमा आउने पर्यटक र पश्चिम नेपालका यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे चार वर्ष बित्दा पनि नियमित उडानको प्रतीक्षामै छ । यस अवधिमा ट्रान्जिटसहित एक हजार २१८ अन्तर्राष्ट्रिय उडान भए पनि यात्रु संख्या ६९ हजार ३१६ मा सीमित भएको छ ।
विमानस्थलबाट नियमित र चार्टर्ड उडान भए पनि यात्रुको चाप बढ्न सकेको छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सन् २०२२ देखि २०२६ सम्म भएका उडानबाट उक्त सङ्ख्यामा यात्रुले सेवा लिएका हुन् । सन् २०२३ मा यात्रु संख्या चार हजार ७५१ मा सीमित थियो । सन् २०२५ मा बढेर १९ हजार ५९० पुगे पनि विमानस्थलको क्षमताको तुलनामा यो निकै कम हो ।
चालु वर्षमा अहिलेसम्म चार हजार १५३ यात्रुले मात्र अन्तर्राष्ट्रिय उडान सेवा लिएका छन् । हिउँदे उडान तालिका सुरु भइसके पनि कुनै वायुसेवा कम्पनीले नियमित उडानका लागि अनुमति लिएका छैनन् । अहिले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान ठप्प छ । वायुसेवा कम्पनीहरूले यात्रु अभावलाई उडान निरन्तरता दिन नसक्नुको प्रमुख कारण बताउँदै आएका छन् । तर, निजी क्षेत्रका प्रतिनिधिहरू भने यात्रु अभाव मात्रै समस्या नभई यात्रु जुटाउने र उडान प्रवद्र्धन गर्ने सरकारी संयन्त्र तथा व्यापारिक संरचनाको कमजोरी पनि जिम्मेवार रहेको बताउँछन् ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेलका अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने म्यानपावर कम्पनी, टिकट बिक्री गर्ने ट्राभल एजेन्सी र वायुसेवा कम्पनीका जनरल सेल्स एजेन्टलाई भैरहवाबाट सेवा विस्तार गर्न प्रोत्साहित गर्ने काममा सरकारले पर्याप्त चासो दिएको छैन । विदेशी वायुसेवा कम्पनीका जनरल सेल्स एजेन्ट काठमाडौंमा केन्द्रित हुँदा टिकट बिक्री र यात्रु व्यवस्थापन पनि त्यहीँबाट हुने गरेको उनले बताए ।
व्यापारिक संरचना काठमाडौंमै केन्द्रित भएकाले यात्रुलाई भैरहवाबाट उडाउनुभन्दा काठमाडौं पठाउन सहज मान्ने प्रवृत्ति देखिएको पोखरेलको भनाइ छ । यात्रु सङ्ख्या कम भएको देखाएर ठूला अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवामा उडान गर्न चासो नदेखाएको उनले बताए ।
ट्राभल व्यवसायी सञ्जय बजियमले सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रको हिमालयन एयरलाइन्सले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने बताए । “नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको भए विदेशी वायुसेवा कम्पनीलाई पनि सकारात्मक सन्देश जान्थ्यो,” उनले भने, “सरकारबाटै त्यो पहल नहुँदा अन्य विमान कम्पनीले पनि भैरहवा आउने चासो देखाएनन् ।”
विमानस्थलमा दैनिक तीन उडान सञ्चालन भएका बेला लुम्बिनी प्रदेशका मात्रै नभई मधेस, कोशी र सुदूरपश्चिमलगायत प्रदेशबाट समेत यात्रु भैरहवा आउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?