© 2026
बुटवल ।
विश्वव्यापी उष्णता (ग्लोबल वार्मिङ) को बढ्दो चुनौती र आजको व्यस्त जीवनशैलीका बीच वी लभ यु फाउन्डेसनको आयोजनामा बुटवल बसपार्कमा वृहत् सरसफाइ गरिएको छ ।
ुक्लिन वर्ल्ड अभियान अन्तर्गत बुटवल, बर्दघाट, तानसेन, घोराही र तुलसीपुरका सदस्यहरूको संयुक्त सक्रियतामा आयोजित उक्त कार्यक्रममा करिब १८० जनाको सहभागिता रहेको थियो । सवै आ– आफ्नै दैनिक काममा व्यस्त रहने समयमा पनि आफ्नो ठाउँको सरसफाइमार्फत सिङ्गो विश्वलाई नै शान्त, सफा र सुन्दर बनाउने पवित्र उद्देश्यका साथ स्वयंसेवकहरू सरसफाई अभियानमा संलग्न भएका थिए । अभियानका क्रममा बसपार्क परिसर तथा आसपासका क्षेत्रहरूबाट करिब २ क्विन्टल फोहोरमैला सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ९ का वडाध्यक्ष प्रदीप श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष नरेश्वर पौडेल, पश्चिम नेपाल बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष नारायण भट्टराई र नवशान्ति युवा क्लबका अध्यक्ष शिव भट्टराईको सहभागिता रहेको थियो ।
निलो ज्याकेटमा सजिएका स्वयंसेवकहरूले आफ्नो व्यक्तिगत असहजताको समेत परवाह नगरी फोहोर उठाउन देखाएको तल्लीनता र निस्वार्थ सेवाभावले जोकोहीको पनि मन छुने देखिन्थ्यो । अरूको हित र आफू बस्ने वातावरण सफा तथा स्वस्थ हुनुपर्छ भन्ने चेतनाका साथ उनीहरूले बसपार्क क्षेत्रलाई सफा र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्याएका छन् ।
सफा र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले (वी लभ यु फाउन्डेसन) ले सामाजिक तथा वातावरणीय क्षेत्रमा विभिन्न सकारात्मक र उल्लेखनीय कार्यहरू गर्दै आइरहेको छ । बुटवलजस्तो व्यस्त र यात्रुहरूको अत्यधिक चाप रहने बसपार्क क्षेत्रमा गरिएको यो सरसफाइ अभियानले आम नागरिकमा सरसफाइप्रतिको जनचेतना अभिवृद्धि गर्न र प्रकृति संरक्षणमा जुट्न थप प्रेरणा मिलेको सहभागीहरूले बताएका छन् ।