Butwal Today

सम्भव होला वामपन्थी एकताको कुरा ?

२१ बैशाख २०८३, सोमबार
अ+
अ-

नेपालमा निकै वर्ष पहिलेदेखि वामपन्थी एकताको कुरा निकै जोडतोडका साथ चल्दै आएको छ । साथै पटक पटक वामपन्थी एकता हुँदै र टुट्दै आएका उदाहरण पनि पुराना होइनन् ।

जति वेला नेपालका वामपन्थी दलहरू भित्र निकै सजिलो गरी केशरजंग रायमाझीको प्रवेश भयो उनले सहजै नेपाल कम्युनिष्ट पार्टीको महासचिवको पद हत्याउन सफल भए अनि वामपन्थी राजनीतिलाई दरवारमा बुझाउने प्रयास गरे । हो त्यतिवेलादेखि नेपालको वामपन्थी आन्दोलनले धक्का खाँदै आयो अनि पार्टी टुक्रने क्रम बढ्दै गयो ।

जसले एउटा सिंगो पार्टी टक्राउने प्रयास गरे उनीहरूलाई पनि राम्ररी थाहा थियो पार्टी विभाजन गर्न जति सजिलो छ त्यो भन्दा कठिन जुटाउन छ तर उनीहरूको आफ्नो स्वार्थका कारणले वामपन्थी दलहरू टुक्रिने क्रम चलिनै रह्यो । पार्टी विभाजन गर्दा सबैलाई घाटा हुन्छ भनेर जान्दाजान्दै पनि पार्टी विभाजन गरेर रमाउने नेताहरूको आकार अलिक ठूलो देखियो ।

कुनैपनि राजनीतिक पार्टी साधारण नागरिक, पार्टी कार्यकर्ता वा समर्थकका कारणले विभाजित भएको कुनै कतै उदाहरण छैन । छ त केवल नेताका आफ्ना स्वार्थका कारणले । पार्टी विभाजन मात्र नभएर पार्टीमा एकता हुने पनि नेताको कारणले नै हो । कार्यकर्ताको चाहनाले कुनैपनि पार्टी एकता भएको आजसम्म थाहा छैन । एउटाले अर्कोलाई सहजै आलोचना गरेर दिनहरू वितायो अनि जनतालाई आफ्नो पोल्टामा फसायो ।

विनाकारण पार्टी विभाजन गरेर सामान्य नागरिकलाई आफ्नो पार्टी सर्वश्रेष्ठ भनेर गफ दियो । यस्तै गतिविधिले गर्दा नागरिक अत्यधिक निराश हुन पुगेका हुन् । आज कुन विचारमा एकता हुन्छ अनि पार्टी एकता हुन्छ, अनि उहाँहरूका बीचमा नजिकको नाता जोडिन्छ । तत्काल पार्टी कहिल्यै फुटदैन भन्ने हल्ला चलाइन्छ ।

भोली के विचार मिल्दैन अनि तुरुन्तै घाँटी कोराकोर गरेको हल्ला सुन्न पाइन्छ । तेस्रो दिनको रात वितेर विहान नहुँदै चतुरराम नेताहरूले वेग्लै पार्टी बनाइसकेका हुन्छन् । यही तरिकाले नेपालका वामपन्थी दलहरू टुक्राटुक्रा भएका हुन् । नेपालमा २०५२ सालको युद्ध शुरु हुनुभन्दा केही महिना पहिले बनेको एकताकेन्द्र युद्धको घोषणा भए पछि विभाजित भयो । राजमो मोर्चा भन्ने दलबाट आएकाहरूको एउटा हिस्सा बाहिरियो । युद्धकालभर वामपन्थी पार्टीहरू कुनै कसैसंग मिल्न सकेनन् । वरु नेपाली काँग्रेसको नामको पार्टी टुक्रियो । गिरिजा र देउबा अलग भए ।

शान्तिवार्ता चलेपछि फेरी वामपन्थी दलहरूमा एकताको कुरा निकै शिखरमा आयो । २०६४ को संविधान सभाको निर्वाचन पश्चात वामपन्थी भित्रको एउटा पार्टी जसलाई हामीले नेकपा माओवादी भनेर चिन्दथ्यौं त्यही पार्टी विस्तारै चिरा पर्न लाग्यो । त्यो पार्टी यति चिरा पर्दै गयो धेरैले गाला बजाउने अवस्थासम्म पुग्यो । त्यसै पार्टीसंग युद्ध घोषणा हुनुभन्दा पहिले एकताकेन्द्रबाट बाहिरिएको एक हिस्सा पुन माओवादीमा मिल्न गयो ।

यता माओवादीमा परेको चिरा उनीहरूले नै गणना गर्न सकेनन् । २०४६ मा बहुदल व्यवस्था पुनः आगमनसंगै नेकपा माक्र्सवादी र नेकपा माले एक भएर एउटा ठूलो पार्टी बन्यो । जसलाई नेकपा एमालेका नामले चिनियो । अहिले पनि यो पार्टी सबै भन्दा धेरै अस्तित्वमा रहेको छ । पार्टी एकीकरणको लगत्तै यसै पार्टी भित्रबाट पनि माक्र्सवादीको एउटा हिस्सा फुटेर नेकपा १५ सेप्टेम्वर बनेको थियो । आजभोली १५ सेप्टेम्वर नामको पार्टी कतै अस्तित्वमा छैन ।

महाकालीसन्धी पछि नेकपा एमालेको एउटा हिस्सा फुटेर पुनः माले पार्टी बनेको हो । त्यसको एउटा हिस्सा नेकपा एमालेमा समाहित भयो भने एउटा हिस्साको नेतृत्व अहिले पनि सि.पी मैनालीले गरिरहनु भएको छ ।

यो पनि लोपउन्मुख अवस्थामा पुगेको छ । वामपन्थी एकताको लहडमा फसेर बिना विचार हतारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकताको सुत्रमा बाँधिन चाहे । उनीहरूको पार्टी एकताको रहर नमेटिदै आफै विभाजनमा पुगेको थाहै पाएनन् । वामपन्थी राजनीतिभित्र नेपालको लागि सबैभन्दा ठूलो धक्का यही थियो ।

विचारले एक नभएर पार्टीका नेताको स्वार्थको लागि जोडिएको पार्टी भन्ने उदाहरण यसैलाई दिए हुन्छ । पहिले त पार्टीको रणनीति के हो र कार्यनीति के हो ? तत्काल गर्नुपर्ने कार्य के हुन र दीर्घकालिन कार्यहरू के हुन् ? समाजवादमा जानका लागि गरिने ठोस कार्यहरू के हुन् ? नेपाली नागरिकले उक्त कार्यक्रम स्वीकार गर्न सक्छ कि सक्दैन ?

नेकपा एमालेले जनताको बहुदलीय जनवाद भनेको छ भने माओवादीले एक्काइसौ सताब्दीको जनवाद भनेको छ । यी दुईवटा विचारका बीचमा के समानता छ र के भिन्नता छ ? भन्ने वारेमा पहिले प्रष्ट हुनुपर्दथ्यो । यी कुरा कुनै पनि नसुल्झाईकन खाली सत्ता प्राप्तिको लक्ष राखेर गरिएको एकता जे हुनु थियो त्यही भयो । वास्तवमा एमाले र माओावदीको एकता भंग भए पछि धेरै कार्यकर्तामा नेपालमा भएका वामपन्थीहरूको एकता कुनै जरुरी छैन भन्ने सिद्ध भएको छ भन्ने बुझाई रहयो ।

जतिबेला दुवै दलका नेताहरू एउटै मञ्चमा बसेर हात हल्लाएका थिए त्यतिवेला सर्वसाधारण नागरिकले विचार मिलेकाले हात हल्लाएको हो की कुर्सी दौडको लागि हात हल्लाएको हो भन्ने प्रशस्त प्रश्न गरेका थिए । आखिर भयो त्यस्तै ।

निर्वाचनका समयमा एमालेका अध्यक्ष के.पी शर्मा ओलीलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरियो तर एक वर्ष नवित्दै माओवादी केन्द्रका अध्यक्ष पुष्यकमल दाहाललाई प्रधानमन्त्रीको पद चाहियो ।

वास्तवमा त्यतिवेलाको एकता यसकै कारणले टुटेको हो । यसको गुह्य कारण यही थियो । सहमतिमा एउटा अध्यक्षले पार्टी चलाउने र अर्को अध्यक्षले सरकार चलाएको भए दीर्घकालसम्म जाने थियो । यही नमिलेका कारणले पार्टीमा छिटै विभाजन आयो । एमाले सिध्याउनका लागि माधव नेपाल जस्ता व्यक्तिहरू दिलो ज्यानले लागे ।

आखिर उनीहरू दल विभाजन गरेर नयाँ दल तयार गरेर एमालेको तमासा हेर्न लागे । उता नेकपा कालमा पार्टीमा रहेका रामबहादुर थापा लगायतका नेताहरू पार्टी विभाजन संगै एमालेमा रहने अवस्था आयो ।

त्यतिवेलाको पार्टी एकता र पार्टी विभाजनको चर्चा अहिले पनि सेलाएको छैन । अर्को कुरा यो विभाजन विपक्षिहरूलाई एउटा राम्रो उदाहरण बनेको छ । वामपन्थी एकताको नाममा कुनै समयमा ८० प्रतिशत भूभागमा कब्जा जमाएर आएको तत्कालिन माओवादी विस्तारै खुम्चदै गएर विचार सिद्धान्त सबै बन्धक राखेर हँसिया हथौडाबाट चिप्लिएर तारामा झरेको छ ।

अहिले त्यहाँ सत्र चिराका वामपन्थी नेताहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी नामको पार्टी बनको छ । गत फागुनको निर्वाचनमा भविश्य हाम्रै हो किनभने अठार दलको शक्ति हामीसंग छ भनेर धक्कु लगाएको आम नेपाली नागरिकले सुनेका हुन । निर्वाचनको परिणाम हेर्दा टिठलाग्दो नतिजा आयो । त्यो अठार दलको ताकत प्रयाप्त रहेनछ ।

त्यत्रो एकातको औचित्य के रह्यो ? आज नागरिकले उत्तर खोजेका छन् । यो एकताको रहर मेटेको जस्तो मात्रै भयो । यो पनि कहिले कहाँबाट चिरा परिसक्छ । एकै पटक चिरा परेको समाचार पढन पाइने हो । यसो किन भनियो ? भन्दा यहाँ रहेका अत्यधिक नेताहरू विभिन्न स्वर्थमा रुमल्लिएका छन् भनिन्छ । यसकारण एकता रहरले गरिने खेल होइन ।

यो विचारले गरिने खेल हो । तत्काल नेपालका वामपन्थीहरूमा विचार मिल्छ र एक हुन्छन भन्ने कल्पना गर्नु आकाशको फल टिप्नु जस्तै हो । तसर्थ वामपन्थी एकताको कुरा गर्नु समय खेर फाल्नु हो । आफ्नै पार्टी बलियो बनाउँदा उत्तम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?