© 2026
फरक विचार र आस्था राख्ने जुन कुनै व्यक्ति यो देशका नागरिक हुन् । नागरिक हुनुको नाताले आफूलाई मन नपरेको विषयमा विचार राख्ने र टिप्पणी गर्न पाउने हरेकको अधिकार हो । तर, यही क्रममा सामाजिक सञ्जालमा मन नपरेको दल, व्यक्ति वा समूहलाई सत्तोसराप गर्ने प्रवृत्ति बढिरहेको छ ।
यसले देशलाई कहाँ पु¥याउला ? नेपाली समाज त्यति छाडा र असम्बेदनशील भैसकेको अवस्था छैन तर अराजकताको वेग यति जोडले चलिरहेको छ कि अगाडी पर्नेहरू किनारामा पुग्ने अवस्था देखिएको छ ।
यस्तो लाग्छ– नेपाली समाज अनुशासन र मर्यादाको सीमाबाट निकै पर धकेलिँदै गएको छ । विशेषतः सामाजिक सञ्जालमार्फत एक–अर्कालाई सत्तोसराप गर्ने, सिद्ध्याइदिने र आफू मात्र सही तथा अरू सबै गलत हुन् भन्ने भ्रम फैलाउने प्रवृत्ति खतरनाक रूपमा बढेको छ । चिन्ताको कुरा के छ भने बहसको विमर्श, विचारको स्वतन्त्रतामाथि विषवमन भइरहेको छ । यसले सिङ्गो समाजलाई नै असहिष्णुता र द्वन्द्वको दिशातर्फ धकेलिरहेको छ ।
आरोप–प्रत्यारोप, गाली–गलौज र प्रतिशोधको राजनीति हाबी हुँदै जाँदा राजनीति आफैँ विकृत र प्रदूषित बन्दै गएको छ । राजनीति भनेको मुलुक सञ्चालन गर्ने मूल नीति हो । तर जब यही नीति निर्माण गर्ने थलो फोहोर र असभ्य बन्छ, तब मुलुक कसरी सही दिशामा अघि बढ्न सक्छ ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
पछिल्लो समय जसरी सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको छ, यसले समाजमा अराजकता फैलाउने चिन्ता बढिरहेको छ । देश अहिले गम्भीर मोडमा उभिएको छ । नयाँ सरकारप्रति जनता अझै विश्वस्त हुन सकिरहेको अवस्था छैन । सुकुम्वासी बस्तीमा त्रास छ । एक महिना हुँदा पनि सरकारको गति कस्तो स्वरूपमा अघि बढ्ने हो भन्ने कुरामा एक खालको भय छ । देशमा आएको नयाँ नेतृत्व र आम जनताबिच अझै मन बाँधिन नसकेको अवस्था छ ।
हिजो शासन सञ्चालन गर्दा गरिएका गलत निर्णय, भ्रष्ट अभ्यास, सत्ताको दुरुपयोग र जनअपेक्षाप्रतिको उपेक्षाबाट पाठ सिक्नुको सट्टा आज पनि उही गल्ती दोहो¥याउने संकेत देखिने अवस्था छ । आज वैकल्पिक शक्तिको उदय आकस्मिक होइन; त्यो पुराना दलहरूप्रति जनताको असन्तुष्टिकै परिणाम हो । तसर्थ अव पुरानो इतिहास नदोहो¥याउने र नयाँ जनमत निर्माणका लागि नयाँ पुराना सवै दलहरूको सकृयता जरुरी छ ।
नयाँ सरकारलाई नराम्रो कामको लागि खबरदारी गर्ने जिम्मेवारीबाट पुराना दलहरू कमजोर हुनुहुँदैन । नयाँ र पुरानाको समीकरणबाट मुलुक अघि बढ्न सक्छ । तसर्थ अव पुराना दलहरूलाई पूर्णरूपमा निषेध गर्दै अघि बढ्नुपर्छ भन्ने होइन ।
इतिहासले सिकाएको पाठ के हो भने अनुभवबाट पाठ सिक्दै नयाँहरूको ऊर्जा, इमानदारिता र प्रतिबद्धतालाई तादात्म्य गरौं । अवको दिनमा नेपालीहरूमा समेत संयमता देखिनु जरुरी छ । हो जेनजी युवाहरूमा नयाँ दलप्रति आकर्षण होला भन्दैमा पुराना दल र नेताहरूलाई किनारमै पु¥याउने गरि सत्तोसराप गर्नु किमार्थ राम्रो होइन् ।
विगतका गल्ती र प्रवृत्तिबाट पाठ सिकेर मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता र दण्डहीनता अन्त्य गर्नेतर्फ सामूहिक पहल आवश्यक छ । गाली र आक्षेपले देश बन्दैन । बरु समाजलाई बिकृत र विसंगत बनाउन प्रेरित गर्नेछ ।
अतः अवको दिनमा दोषारोपणको राजनीति त्यागेर आत्मसमीक्षा, सहकार्य र समन्वयको बाटो रोज्न सके मात्र लोकतन्त्र बलियो हुन्छ र देशले सही दिशामा गति लिन्छ । अभिव्यक्ति स्वतन्त्रताको नाममा चरित्र हत्या, अपमान र घृणा फैलाउने कामलाई कुनैपनि अवस्थामा सहन सकिँदैन ।
कसैमाथि अनावश्यक दोषारोपण गर्ने, गाली–गलौज गर्ने र सामाजिक विद्वेष फैलाउनेहरूविरुद्ध कानुनी कारबाही गर्न ढिलाइ भइसकेको छ । यी सवै विषयमा नयाँ सरकारको ध्यान जाओस् ।