Butwal Today

शैक्षिक गन्तव्य बन्दै बुटवल

१४ बैशाख २०८३, सोमबार
अ+
अ-

बुटवल पश्चिम नेपालको शैक्षिक गन्तव्य बन्दै गएको छ । बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरूले माध्यमिक तहका सबै परीक्षामा उत्कृष्ट स्थान हासिल गर्दै आएका छन् ।

त्यो मात्रै होइन, बुटवलकै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले देश तथा विदेशमा उच्च शिक्षाको राम्रो अवसर समेत पाउँदै आएका छन् । यहाँका विद्यालयमा आकर्षक भौतिक पूर्वाधार, अत्याधुनिक प्रयोगशाला, चुस्त व्यवस्थापन उत्कृष्टताको मुख्य विशेषता हुन् ।

देशका सबैभन्दा बढी विद्यार्थीहरू रहेको ठुला विद्यालय तुलना गर्दा रुपन्देहीमा ५ वटा छन् भने बुटवलमा मात्रै ४ वटा विद्यालय रहेका छन् । ती विद्यालयहरूले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा पनि आफूलाई अब्बल बनाउँदै लगेका छन् ।

बुटवलमा स्थापित निजी मात्रै होइन, सामुदायिक विद्यालयले देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा उत्कृष्ट नतिजा प्राप्त गर्नुका साथै त्यसकै कारण पटक पटक सम्मानित समेत हुने सौभाग्य प्राप्त गरेका छन् । बुटवलमा ९७ वटा विद्यालयहरू रहेका छन् । त्यसमध्ये ३९ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालय छन् ।

त्यस्तै, चार मदरसा, एक धार्मिक विद्यालय र तीन प्राविधिक शिक्षालयहरू सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय अन्तर्गतका २५ वटा क्याम्पसहरू बुटवलमा सञ्चालनमा छन् ।

माध्यमिक विद्यालयले मात्रै होइन, बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस, कालिका क्याम्पस र सिद्धार्थ गौतम बुद्ध क्याम्पस लगायतका ठुला तथा स्नातकोत्तरसम्म अध्यापन हुने विद्यालयले पनि विज्ञान, शिक्षा, व्यवस्थापन र मानविकीतर्फका विद्यार्थीहरूलाई अध्ययनको अवसर जुराएका छन् ।

बुटवलमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, समाजशास्त्र, ग्रामीण विकास, होटल म्यानेजमेन्ट, कानुन, सूचना प्रविधि, सामाजिक मनोविज्ञान जस्ता विषयहरूमा पढाइ हुँदै आएको छ । यसै गरी बुटवलमा दुईवटा सरकारी प्राविधिक शिक्षालय कोरिया नेपाल प्राविधिक शिक्षालय र बुटवल टेक्निकल इन्ष्टिच्युट (बिटीआई) ले अटो मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इञ्जिनियरिङतर्फ हजारौं प्राविधिक जनशक्ति उत्पादन गर्दै आएका छन् ।

स्वास्थ्य शिक्षाको क्षेत्रमा फार्मेसी, अनमी, नर्सिङ, ल्याब असिस्टेन्ट र हेल्थ असिस्टेन्ट उत्पादन गर्ने १५ वटा शिक्षण संस्था बुटवलमै छन् । निजीस्तरका स्वास्थ्य प्राविधिक कलेजहरू पनि छन् । बुटवलले अबको केही वर्षमा लुम्बिनी प्रदेशमात्र होइन, देशकै प्रमुख शैक्षिक केन्द्रको रूपमा आफूलाई स्थापित गर्ने जमर्को गरेको छ ।

बुटवलमा माध्यमिक तहसम्म अध्ययन गर्ने विद्यार्थीको संख्या करिव ८० हजार छ । बुटवलको शैक्षिक विकासका लागि बुटवल उपमहानगरपालिकाले शिक्षामा जोडबल दिएको छ । बुटवल उपमहानगरले बुटवललाई मुलुककै आकर्षक शैक्षिक हब बनाउने गरी काम र योजना अघि बढाएको छ । यो सराहनीय प्रयास हो ।

अव शिक्षा क्षेत्रको व्यापक सुधारका लागि नीति तथा कार्यक्रममा शिक्षालाई पहिलो प्राथमिकतामा राख्नु जरुरी छ । बुटवल उपमहानगरपालिकाले विद्यालयस्तरीय पूर्वाधार निर्माण, शिक्षक तालिम, डिजिटल शिक्षा कार्यक्रम, सीपमूलक तालिम तथा छात्रवृत्तिमा समेत प्राथमिकता दिदै आएको छ ।

जसका कारण बुटवल शैक्षिक हबको रूपमा स्थापित हुँदै गएको कुरामा दुईमत छैन । लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र बुटवल पछिल्ला केही वर्षयता शैक्षिक केन्द्रको रूपमा परिचित र स्थापित बन्दै गएको यस क्षेत्रका विद्यालयहरूको उत्कृष्टताले स्पष्ट पारेको छ ।

संख्या र शैक्षिक गुणस्तरका हिसाबले पनि बुटवलका विद्यालयहरू देशकै उत्कृष्ट विद्यालयमा पर्दछन् । बुटवलका निजी तथा सामुदयिक विद्यालयको नतिजाले पनि बुटवल शैक्षिक केन्द्रको रूपमा विकास हुँदै गरेको छ भन्ने कुरा पुष्टी हुन्छ । गत बर्षमात्रै एसइईमा बुटवलका ४० जना विद्यार्थीले फोर जिपिए ल्याएको ऐतिहासिक रेकर्ड छ ।

यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरूमा अध्ययन गरेका विद्यार्थीको नतिजाले बुटवल शैक्षिक गन्तब्यको रूपमा स्थापित बन्दै गएको छ । बुटवलका विद्यालयले विद्यार्थीका लागि सुनौलो अवसरको ढोका खोलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?