काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई सफा बनाई काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘काठमाडौँ जलवायु कार्य सप्ताह’ लाई आज सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं ८ का सांसदसमेत रहेका मन्त्री श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्यावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट ठोस कार्ययोजना सार्वजनिक गरिएको जानकारी दिए ।
जथाभावी कङ्क्रिटका संरचना बन्दा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको तथा वर्षाको पानी सोस्ने जमिन नहुँदा बाढीको जोखिम बढेको उनले उल्लेख गरे । धुलो–धुवाँले शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदाको अवस्था बिग्रँदै गएको उनको भनाइ थियो ।
जलवायु परिवर्तनले सङ्कट अझ थपेको बताउँदै श्रेष्ठले केही दिनको अवधिमा विभिन्न नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताए ।
पछिल्ला चार वर्षमा लोप हुन लागेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो ब्युँताएर भूमिगत जलभण्डार जोगाउन भूमिका खेलेकामा काठमाडौँ महानगरपालिका, कार्यवाहक प्रमुख र वडा अध्यक्षको उनले प्रशंसा गरे ।
उनका अनुसार बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली जडान गरिने, बाढी आउनुअघि नै वडा र घरपरिवारले जानकारी पाउन सकून् भनेर जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढी मोडलिङ र पूर्वसूचना प्रणालीमा महानगर तथा अन्य सहरसँग सहकार्य गर्ने योजना अगाडि सारिएको जानकारी दिए ।
नवीन प्रविधिमा युवाको सक्रियताको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले कक्षा १२ का विद्यार्थीले मोबाइल नेटवर्कबिनै विपद्को सूचना पठाउने सञ्चार प्रणाली तयार पारेको उदाहरण दिए ।
कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका मन्त्री श्रेष्ठले रूखै–रूखले भरिएका शीतल सडक, १५ मिनेटमै हिँडेर पुग्न सकिने ऐतिहासिक टोल र बहाल, चोरी भएका मूर्ति फिर्ता, साइकल लेन र चराचुरुङ्गीको चिरबिरसहितको सफा बागमती–विष्णुमती करिडोर, काठमाडौँ वरिपरिका जङ्गल र राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलनको परिकल्पना गरिएको बताए ।
पार्कमा ज्येष्ठ नागरिकले घाम ताप्न, चोकमा बालबालिकाले सुरक्षित खेल्न र हरियालीयुक्त आधुनिक व्यावसायिक केन्द्र सञ्चालन गर्न सकिने उल्लेख गर्दै उनले सुन्दर काठमाडौँ निर्माणमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायतको उपस्थिति थियो ।