Butwal Today

भर्ना अभियान र शिक्षामा मौलाएको विकृति

११ बैशाख २०८३, शुक्रबार
अ+
अ-

आजकल गल्ली गल्ली वा टोल टोलमा शिक्षकहरूका झुन्ड देखिन्छन् । एउटा विद्यार्थीका घरमा पाँच÷छ वटा विद्यालयका शिक्षकहरू पुगेका छन् । सबैले आ–आफ्नो विद्यालयका राम्रा पक्षहरूको प्रचार गर्ने र सुविधाहरूको पोको दिने वचनबद्धता पनि प्रकट गरिरहेका छन् ।

चुनावताका नेता कार्यकर्ताहरू भोट माग्न आएजस्तै अहिले शिक्षकहरू बालबालिका माग्न ढोका ढोका पुगेका छन् । पछिल्ला वर्षहरूमा विद्यार्थी भर्ना अभियानका रूपमा वैशाखको पहिलो आधा महिनालाई प्रयोग गर्न थालिएपछि विद्यार्थी तानातानमा पर्न लागेका हुन् ।

अचेल चैत्र महिनाको अन्तिम सातादेखि नै शिक्षकहरू घरदैलो कार्यक्रम गर्ने र विद्यार्थी तान्ने अभियान चल्न थालेको छ । विशेष गरी धेरै विद्यालय भएका शहर केन्द्रित शिक्षण संस्थामा विद्यार्थी विकल्पका रूपमा विद्यालय परिवर्तन गरिरहने सम्भावना भैरहेको पाइन्छ ।

ग्रामीण क्षेत्रमा बसाइसराई र बालबच्चा पढाउनकै लागि शहर पस्ने प्रबृत्तिले गर्दा गाउँमै बालबालिका कममात्र बस्ने गर्नाले विद्यार्थी संख्या न्यून रहेको छ । वल्लोपल्लो विद्यालयको विकल्प नभएका कारण गाउँमा बाँकी रहेका विद्यार्थी पायक पर्ने विद्यालयमा अध्ययन गरिरहने देखिन्छ ।

त्यसैगरी विविध कारणले निजी विद्यालय छाडेर सामुदायिकमा र सामुदायिक विद्यालय छाडेर निजी विद्यालयमा भर्ना हुन जाने विद्यार्थीहरू पनि तानातानमा परेको पाइन्छ । निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा कक्षा ६ मा भर्ना हुने प्रबृत्ति बढ्दो छ ।

यसैगरी कक्षा ९ मा प्राविधिक विषयको विकल्प भएका ठाउँमा पनि विद्यार्थी भर्ना अस्थिर देखिन्छ । पहाडी स्थानीय तहहरूले विद्यार्थी संख्यालाई ध्यानमा राखेर कक्षागत विद्यार्थी संख्यालाई लचिलो मापदण्ड बनाएर तोकिएको संख्यामा विद्यार्थी संख्या नहुने विद्यालयहरू मर्ज गर्ने वा कक्षा घटाउने बताएको सुनिन्छ ।

यो हल्लाले एकातिर शिक्षकहरू विद्यालय मर्ज हुने भयले आतंकित बनेका छन् भने अर्कोतिर अभिभावकहरूसमेत विद्यालयको कक्षा टिकिरहने सुनिश्चितता नदेखेर पहिल्यै बालबच्चा अर्को सम्भव हुने विद्यालयमा भर्ना गर्न थालेका पनि छन् । यसले गर्दा कम विद्यार्थी भएका विद्यालयहरूमा झन बढी तनाव बढेको अवस्था छ ।

विद्यार्थी भर्नाका क्रममा केही गलत प्रबृत्ति देखापरेका छन् । विभिन्न सुविधा र सहुलियतको आश्वासन दिने र केही महिनापछि आश्वासान कार्यान्वयन नहुने गुनासा सुनिन्छ । एउटा विद्यालयमा बच्चा भर्नाकालागि हिँडेको अभिभावकवीच बाटोमा पुग्दा अर्कै विद्यालयको शिक्षकसँग भेट हुन्छ । कुराकानी हुन्छ र नयाँ विद्यालयमा भर्ना हुन पुग्छ ।

कतिपय विद्यालयका पक्ष वा विपक्षमा कुरा गर्ने र विद्यार्थी र अभिभावकलाई दिग्भ्रमित गरी भर्ना गराउने सँस्कृति बढ्न थालेको छ । तानसेनस्थित एउटा विद्यालयले प्रेस विज्ञप्ति जारी गरेर विद्यालयका विरुद्धमा गलत र भ्रमात्मक प्रचार नगर्न आग्रहसमेत गरेको छ ।

कुनै विद्यालयमा भर्ना भै पुस्तक, ड्रेस, झोलाआदि सुविधा लिइसकेपछि पनि अर्को विद्यालयमा भर्ना हुने र केहीले यी सामग्री फिर्ता गर्ने तर केहीले सामग्री फिर्ता नगर्ने गरेका गुनासापनि छन् । गाउँटोलमा राजनीतिक वा ब्यवहारिक वर्चश्व भएकाहरूले कुनै विद्यालयको पक्षमा गुटबन्दी गरी केही थान विद्यार्थीहरूलाई भर्ना गराउने र अस्वाभाविक फाइदा लिने विकृत चलन बढिरहेको छ ।

कतिपय मानिसहरू आफूलाई वा आफ्नो मान्छेलाई विद्यालयमा वा विद्यालयका शिक्षकले अवसर दिन नसकेको प्रतिशोध स्वरूप विद्यार्थी अर्को विद्यालयमा भर्ना गर्ने गरेको पनि भेटिन्छन् । अर्थात् केही अभिभावकले अर्कोको कुरा सुनेर वा केहीले आफै विभिन्न ब्यवहारबाट विद्यालयप्रतिको असन्तुष्टिका कारण फरक विद्यालयमा बालबच्चा भर्ना गर्ने गरेको पाइन्छ ।

यसको अर्थ विद्यालयको छनोट गर्ने बालबालिकाको अधिकार हनन भएको मात्र नभै सामान्यतया विद्यालय छनोटमा गुणस्तर पक्षको भूमिका न्यून भएको पाइन्छ । केही ठूला निजी विद्यालयहरूले सुरु गरेको बस सेवा अहिले प्रायःबजार क्षेत्रका प्रतिस्पर्धामा जाने सामुदायिक विद्यालयहरूले समेत बसको ब्यवस्था गरेका कारण वरिपरीका ग्रामीण वस्तीका विद्यालयका विद्यार्थी बसमा सरर बजारतिर लागेका छन् ।

यद्यपि अभिभावकका लागि बस भाडा र विद्यालयकालागि बस सञ्चालनको मूल्य महंगो परिरहेको अवस्था छ । अन्य शुल्क नलिने सामुदायिक विद्यालयहरूलाई बस सञ्चालन पनि चुनौति बनिरहेको छ ।

विद्यार्थी भर्नाका लागि पहाडी क्षेत्रमा विद्यार्थी संख्या घटेका कारण तनाव छ भने तराईमा विद्यार्थी संख्या अधिकभएका कारण कक्षाकोठामा चाप बढेको छ । जनसंख्याको असमान उपस्थितिले गर्दा पहाड र तराईमा अर्थ एवम् सामाजिक ब्यवस्थामा असन्तुलन आइरहेको छ ।

विद्यार्थी चाप बढि भएका विद्यालयमा थप भौतिक सुविधाको ब्यवस्था गर्ने, सेक्शन खोल्ने, थप शिक्षकको ब्यवस्था गर्ने काम भएका छैनन् । सामान्यतया धेरै विद्यार्थी भएका धेरै विद्यालयमा शिक्षक केन्द्रित ब्याख्यानात्मक विधि प्रयोग भैरहेका र विद्यार्थी सिकाईस्तर निर्धारण गर्न समस्या परेका कारण निरन्तर मूल्यांकन र उपचारात्मक सिकाइ जस्ता नविनतम विधि प्रक्रियाको प्रयोग हुन सकेको छैन ।

कक्षा सञ्चालन गर्ने र कक्षाकोठाको वातावरण शान्त राख्नेमै शिक्षकको समय खर्च भएको छ । विद्यालयको पहलमा सेक्शन खोल्ने, कक्षाकोठा निर्माण गर्ने र निजी स्रोतमा शिक्षक नियुक्ति गर्ने जस्ता कार्य गर्ने केही ठूला विद्यालयहरूले यी कार्यका लागि सहयोग स्वरूप शुल्क लिने गरेका छन् । तर ती विद्यालयहरूले शुल्क उठाउनु गैरकानुनी र संबिधानविपरित कार्य भएको भन्दै मुद्दा लाग्ने, विभिन्न संघ संगठनहरूबाट विरोध र नकारात्मक टिप्पणी हुने गरेका छन् ।

शिक्षकहरूलाई विद्यार्थी भर्ना, भौतिक संरचना, शिक्षण प्रक्रिया, गुणस्तीय सिकाई उपलब्धि र परीक्षणसमेतको भारी बोकाइएको छ । शिक्षकको काम त कक्षाशिक्षण र सिकाई उपलब्धि स्तरका लागि केन्द्रित हुनुपर्ने हो । आफै विद्यार्थी खोजेर विद्यालय सञ्चालन गर्नुपर्ने परिस्थितिका कारण सिकाइका लागि तयारी गर्ने वातावरण बनेको छैन ।

केहीवर्ष पहिलासम्म केही विद्यालयहरूले अघिल्लो शैक्षिक सत्रको समीक्षा र आगामी शैक्षिक सत्रका लागि पाठयोजना, शैक्षिक सामग्री निर्माण र अन्य तयारी गर्ने कार्य गर्दथे । अब यी सुधारात्मक कार्य छाडेर विद्यार्थी फकाउन घरघर जानुपर्ने बाध्यता बढेको छ । यो तानातानको अवस्थाबाट विद्यार्थी खोज्ने जिम्मा शिक्षकको हो ?

कि शिक्षकले जागिर जोगाउनकै लागि यसो गर्नुपरेको हो ? अहिले यस्तै चर्चा चलिरहेको छ: कि यो संख्यामा विद्यार्थी भर्ना गर । अन्यथा विद्यालय मर्ज वा स्तर घट्छ र शिक्षकलाई अन्यत्र सरुवा गरिन्छ । सरुवा नहुनका लागि शिक्षकहरू विद्यार्थी तानातानमा लागेका छन् ।

जनसांख्यिक वितरणको अवस्था हेर्दा अव यो तानातान विधिबाट विद्यालय टिकाउन सक्ने अवस्था देखिदैन । विद्यार्थी संख्या घट्नुका धेरै कारणहरू रहेका छन् । उदाहरणका लागि तराईतिर बसाइसराई र शहरकेन्द्रित बसाईका कारण पहाडी ग्रामीण भागमा मानिसहरूको वस्ती रित्तिएका छन् । अधिकांश घरमा बृद्धबृद्धामात्र बस्छन् ।

बसाइसराई नरोकिएसम्म बालबालिका गाउँमा रोकिने सम्भावना नै रहेन । ग्रामीण क्षेत्रका साना विद्यालयको भौतिक संरचना र शिक्षक संख्या तथा शिक्षकको गुणस्तर कमजोर छ । त्यसैले आर्थिक हिसाबले जसोतसो सकिएला भन्ने आशा भएका अभिभावकलाई बच्चाको शिक्षा कै लागि शहर वा तराईतिर डेरा गरी बस्न बाध्यता छ ।

शिक्षासाथै अन्य सुख सुविधाका कारण बसाइसराई बढेकोले विगतमा आवश्यक मानेर खोलिएका विद्यालय अहिले समस्यामा परेका छन् । कतिपय स्थानमा राजनीतिक पहुँच र सामाजिक ब्यक्तित्वहरूको महत्वाकांक्षाका कारण आवश्यकभन्दा बढी विद्यालय खोलिएका छन् ।

कतिपय स्थानमा भौगोलिक विषम बनोटका कारण अर्को विद्यालयसम्मको दूरी बढी भएका कारण पनि तल्लो तहका कम विद्यार्थी भएका विद्यालयहरू सञ्चालनमा रहेका छन् । विद्यालयमा सिकाई उपलब्धिको स्तर पनि विद्यार्थी भर्नामा प्रभाव पार्ने प्रमुख पक्ष हो तर विद्यार्थी तानातानमा परेका विद्यालयहरूको गुणस्तरको पक्षपनि फरकफरक रहेको छ ।

अथवा विद्यार्थी भर्नामा गुणस्तर पक्ष खासै वास्ता गरेको पाइएन । कतिपय विद्यार्थी आकर्षण बढिरहेका विद्यालयमा भन्दा कम विद्यार्थी संख्या भएका विद्यालयमा सिकाई उपलब्धिस्तर उत्कृष्ट रहेको पनि देखिएको छ ।

विद्यालय नक्शाङ्कन गरी जनसंख्याको आधारमा विद्यालय तह र संख्या निर्धारण गर्नुपर्ने आवश्यकता देखिएको छ । स्थानीय पालिकाहरूले निश्चित भौगोलिक क्षेत्रका लागि प्राथमिक विद्यालय, केही प्राथमिक विद्यालयहरूको पायक पर्ने ठाउँमा निम्नमाध्यमिक र विभिन्न निम्नमाध्यमिक विद्यालयहरूका विद्यार्थीहरूलाई पायक पर्ने गरी माध्यमिक विद्यालय स्थापना गर्ने रणनीति बनाई मर्ज वा स्तर घटबढ गर्नुपर्ने देखिन्छ ।

यसरी आवश्यक विद्यार्थी संख्या पुग्नेगरी बिग स्कूल स्थापनाका लागि फिडर विद्यालय क्षेत्रहरूबाट विद्यार्थी ओसारपसारका लागि आवश्यक सवारी साधनको ब्यवस्था गर्नुपर्छ ।

साधारण शिक्षा र प्राविधिक शिक्षाका लागि अलगअलग स्थानमा विद्यालयहरू खोलिनु पर्छ । एउटै विद्यालयमा साधारण र प्राविधिक धार सञ्चालन गर्दा भौतिक संरचना र जनशक्ति ब्यवस्थापनमा समस्या देखिनुका साथै गुणस्तरमा समस्या परेको छ । प्राविधिक धार सञ्चालन गरेका विद्यालयहरूमा समेत विद्यार्थी भर्ना उत्साहजनक देखिदैन ।

विद्यार्थी र अभिभावकका लागि प्राविधिक विषयको अध्ययनबाट भविष्यमा हुने फाइदाका बारेमा विषय अनुसारको परामर्श गर्नुपर्ने आवश्यकता छ । विशिष्टिकृत विद्यालयहरू सञ्चालन गर्न सकियो भने विद्यार्थीले चाहेको विषयवस्तु शिक्षण गर्ने विद्यालयमा भर्ना हुने जाने थिए ।

विषयगत शिक्षणको आवश्यकता पर्ने भएकोले पहाड र तराईमा शिक्षक विद्यार्थी अनुपात निक्र्योल गर्ने र आवश्यक भौतिक संरचना एवम् शिक्षक ब्यवस्थापनमा सरकारले काम गर्ने र शैक्षणिक गुणस्तरका लागि शिक्षकले कार्य गर्ने पद्धति हुनुपर्छ । अहिलेजस्तै वल्लो घरको पल्लो घरमा र पल्लो घरको तल्लो घरमा सारेर केही प्रगति हुनेवाला छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?