© 2026
प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको तीन साता भैसकेको छ । बालेन आउने वित्तिकै रातारात चमत्कार हुने आशा एवं विश्वास राखेका जनताले दक्षिण एसियाकै महँगो पेट्रोलियम उपहार पाएका छन् ।
पेट्रोलियममा भएको महँगीको असर अन्य उपभोग्य बस्तुमा परेको छ । महंगी नियन्त्रणमा आओस् भन्ने चाहना राखेका नागरिकको विश्वासमाथि तुषारापात भएको छ । यद्यपि सुधारका धेरै काम सुरु भएका छन् ।
त्यसलाई सराहना पनि गर्नुपर्छ । त्यसै पनि नेपालको आर्थिक अवस्था अहिले अत्यन्तै कमजोर भइरहेको बेला प्रधानमन्त्रीको सत्तारोहणले उपभोक्तामा धेरै आशा पलाएको थियो ।
नेपाली जनताको चासो र चिन्ता अहिले महंगी र बजार नियन्त्रण होस् भन्ने छ । महँगीले आम नागरिकको ढाड सेकेको छ । नेपालबाट तेस्रो देश निर्यात निरन्तर ओराली लागिरहेको अवस्थामा नेपालको बजारमा मूल्यवृद्धिको भार उच्चतहमा बृद्धि भएको छ । यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परिरहेको छ ।
सरकारले अर्थतन्त्र सुधारको कार्यक्रम सार्वजनिक गरेपनि त्यो प्रभावकारी नहुँदा नेपाली बजार उपभोक्ताको पहुँचभन्दा बाहिर गैरहेको छ । यो गंभीर परिस्थितिमा बाहिरी देशवाट नेपालमा आईरहेको रेमिटान्सले समेत बजारमा मूल्य बढाउन मद्दत गरिरहेको छ ।
सरकारले बजार मूल्य नियन्त्रणका लागि तत्काल कुनै कार्यक्रम सार्वजनिक गर्न नसक्दा तल्लो स्तरका जनता तथा उपभोक्ताले ठूलो भार खेप्नु परिरहेको छ । मूल्य नियन्त्रणको उपाय हुँदा पनि नेपाल सरकारले त्यसतर्फ खासै ध्यान दिएको छैन् ।
नयाँ पार्टी त्यसमा पनि दुई तिहाई नजिकको सरकारका प्रधानमन्त्रीको सत्तारोहणले नेपाली आम नागरिकका लागि ठूलो आशा सिर्जना गरेको थियो । तर, सरकार बनेको तीन साता हुँदापनि बालेन सरकारले नेपाली जनतालाई कुनै राहत दिन सकेन । यो चिन्ताको बिषय हो । मूल्य आकासिएको छ ।
बजारमा मूल्य बृद्धिको अनुगमन र नियन्त्रण गर्ने नेपाल राष्ट्र वैंकले समेत यो वर्ष यस विषयमा खासै ध्यान दिएको छैन । राष्ट्र वैंकले यो बर्ष महंगी धेरै बढ्ने प्रक्षेपण गरेको छ । बदलामा जम्मा दुई दशमलब ५ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य निर्धारण हुनुले नेपालको अहिलेको अवस्था कस्तो छ भन्ने प्रमाणित भएको छ ।
अन्ततः नेपाली जनता महँगीको कडा मारमा पर्न विवस भएका छन् । सरकारले पेट्रोलियममा लाग्दै आएको कर घटाएपनि पेट्रोलियमको आकासिएको भाउ घटाउन सकेन । मुल्य नियन्त्रण गर्ने र जनतालाई राहत दिने सरकारको दायित्व हो तर सरकारले महंगी नियन्त्रण भन्दा बढाउने काम गरेको छ ।
मूल्य बृद्धि नियन्त्रण नहुँदा सर्वसाधारण जनता ठूलो मारमा परेका छन् । अर्कोतर्फ वजारमा महंगी बढ्दा सरकारले हस्तक्षेप नगर्नु अर्को दुःखद पक्ष हो । अझैपनि समय छ– सरकारले महंगी नियन्त्रण गर्न गंभीररूपमा कदम चाल्नु जरुरी छ । बजारको पहुँच आम उपभोक्तासम्म छैन । यो टाढाको कुरा बन्दै गएको छ ।
पेट्रोलियम एउटा उदाहरण हो । मूल्य सवै बस्तुमा बढेकोले बालेन सरकारको ध्यान त्यसतर्फ जाओस् । अव सरकारले पेट्रोलियमको मूल्य घटाएर भएपनि उपभोक्तालाई राहत नदिने हो भने आर्थिक अवस्था झनै कमजोर पीडादायी हुनेछ ।
अहिले जनतालाई आश्वासन होइन, तत्काल राहत चाहिएको छ । सरकारको ध्यान त्यसतर्फ जाओस् । सरकारले सार्वजनिक प्रशासनमा सुधार गरेर मात्रै हुँदैन, जनताले प्रत्यक्ष अनुभूत गर्ने कार्यक्रम घोषणा गर्नेतर्फ ध्यान जाओस् ।
अहिले सिमान्तकृत उपभोक्ता महँगीको मारमा परेका छन् । यही बेला किसानका लागि खेतीको दिन सुरु हुँदैछ । तेलको मूल्य बृद्धि हुँदा ट्रयाक्टरबाट खेत जोताई गर्ने किसान मारमा परेका छन् ।
किसानमात्रै होइन, त्यसको प्रभाव खेतदेखि उपभोक्ताको भान्सासम्म परेको छ । अतः सरकारप्रति जुन आशा र अपेक्षा छ, त्यो मर्न नदेउ । बालेन सरकार उपभोक्तालाई महँगीको भारबाट बाहिर निकाल्ने काम गर । अनिमात्र सरकार हुनुको अनुभूति महसुस हुनेछ ।