© 2026
बुटवलको जितगढी किल्ला बुटवलको ऐतिहासिक गौरव र पहिचान हो । यो गढी हाम्रा वीर पुर्खाले छोडेर गएको अमूल्य उपहार हो ।
२११ वर्षअघि यही किल्ला अङ्ग्रेजबाट बचाउन वीर गोर्खाहरूले जुन त्याग र बहादुरी गरे, त्यसको प्रशंसा गरेर कहिल्यै सकिदैन् । आज त्यही वीर गोर्खाले जितगढी जोगाउन गरेको साहस, बहादुरी र त्यागकै कारण आज जितगढी उत्सव मनाउन पाइएको छ । नेपालको यहीमात्र एक किल्ला हो– जहाँबाट अंग्रेज फौज परास्त भएको थियो ।
युद्धका दौरानमा नेपाली सेनाका धेरै वीर सपुतको रगत बगेको छ । आज ती वीर सपुतलाई सम्झनु पर्दछ जसले नेपालको भूमि जोगाउन ठूलो योगदान दिएका थिए ।
त्यसका लागि जितगढी युद्धमा ज्यान गुमाउने वीर गोर्खाप्रति हार्दिक श्रद्धाञ्जली । वीर गोर्खाले गरेको बहादुरीको सलाम । गोर्खाको त्यही त्याग, बलिदान र साहसको फलस्वरूप नेपालीहरू बेलायत, सिंगापुर, ब्रनाई, भारत लगायतका देशमा बहादुरीको निशान प्रस्तुत गरेर नेपालको नाम र सान फैलाईरहेका छन् ।
आज त्यसैको फलस्वरूप हामी नेपालीले वीर गोर्खालीको सन्तान भन्ने गर्व र गौरव पाएका छौं । आजकै दिन अर्थात २११ बर्ष अघि बैशाख ७ गते बुटवलको जितगढी किल्लामा भएको अंग्रेज र नेपालको लडाईमा नेपाली वीर फौजले अंग्रेजलाई परास्त गरेको थियो ।
त्यो दिन नेपालको इतिहासमा स्वर्णाक्षरले लेखिएको बहादुरीको दिन थियो किनभने बुटवलको जितगढी किल्लामा अंग्रेजले बिजय हासिल गरेको भए आज हाम्रो बुटवल र हामी बुटवलबासीको पहिचान अन्यत्र कुनै प्रान्तमा रूपान्तरित हुनेथियो ।
त्यसैकारण आजको दिन बुटवलबासीका लागि अझै गौरवको दिन हो । त्यो मात्रै होइन, सम्पूर्ण नेपालीले गौरव गर्ने दिनपनि हो । ‘देर आए दुरुस्त आए’ भनेजस्तै बुटवलको जितगढी किल्लामा बुटवल उपमहानगरपालिकाले जितगढीमा अंग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै बैशाख ७ गतेलाई जितगढी बिजयोत्सव दिवसको रूपमा मनाउँदै आएको छ ।
यो अत्यन्त महत्वपूर्ण बिषय हो । यसका लागि जितगढी बिजयोत्सवको २०७५ सालदेखि सुरुवात गर्ने बुटवल उपमहानगरको तत्कालीन टिमलाई धन्यबाद । साथै बिजयोत्सवलाई निरन्तरता दिने बर्तमान नेतृत्वप्रति आभार प्रकट गर्न कञ्जुस्याई गरिनुहुँदैन । आगामी दिनमा पनि जितगढी बिजयोत्सवलाई बुटवलको गौरवको रूपमा मनाईरहने अवस्था बनिरहोस् । यो परम्पराले कम्तिमा भएपनि हरेक बर्ष जितगढीको बयान र बखान गर्ने अवसर मिल्नेछ ।
नयाँ पुस्ताले जितगढीको महत्व र हाम्रा वीर पुर्खाले जितगढी जोगाउन गरेको योगदान बुझ्ने अवसर पाउनेछन् ।
इतिहासकै कुरा गर्दा बुटवलको जितगढी किल्लामा भएको नेपाल अंग्रेज युद्धमा उजिरसिंह थापाको कप्तानीमा रहेको नेपाली फौजले अंग्रेजलाई परास्त गरेको थियो ।
तसर्थ बुटवलको जितगढी किल्ला वीर पुर्खाहरूको पौरख रक्तरञ्जित भएको ऐतिहासिक किल्ला हो । अवको दिनमा जितगढीको इतिहास, यसको गौरव आदिलाई ह्दयंगम गरि जितगढी किल्लालाई विश्व सम्पदामा सुचिकृत गर्नेतर्फ सरकारले अविलम्ब पहल गर्नुपर्छ । जितगढी किल्लाको बिस्तृत उत्खनन बाँकी छ ।
यसको नेतृत्व अव बुटवल उपमहानगरको बर्तमान नेतृत्वले गरोस् । अवको दिनमा हामी सवै बुटवलबासीले जितगढी युद्धको नेतृत्व गर्ने कर्णेल उजीर सिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्दछ ।
बुटवलको जितगढीदेखि पाल्पाको नुवाकोट गढीसम्मको इलाका र प्राचीन बटौली बजारलाई समेत जोडेर यस क्षेत्रको विकासमा प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउनुपर्दछ ।
अवको दिनमा जितगढीको बिस्तृत गुरुयोजना निर्माण गरेर जितगढीलाई पुरातात्विक स्थलको रूपमा विकास गर्ने तथा जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजनाका साथ काम अघि बढाउनु जरुरी छ ।
बुटवल उपमहानगरपालिकाले जितगढीको संरक्षण, विकास र विस्तारमा ठूलो सहयोग पु¥याएको छ । अवको दिनमा पनि जितगढीलाई नेपालकै राष्ट्रिय सम्पदाको रूपमा स्थापित गर्न र नेपालको सय गन्तब्य सूचीमा समावेश गर्नेतर्फ पहल भयो भने विकासमा ठूलो टेवा पुग्नेछ । अतः सम्वन्धित निकायको ध्यान जाओस् ।