© 2026
केही दिनअघि असुरक्षित गर्भपतनबाट पाल्पाको बगनासकाली गाउँपालिका २ कि गीता पाण्डेको मृत्यु भएपछि बुटवलमा हुँदै आएको अवैध र असुरक्षित गर्भपतन तथा भ्रुण हत्याको घटना छताछुल्ल भएको छ ।
असुरक्षित गर्भपतनको श्रृंखला बुटवलमा बर्षौदेखि चलिरहेको थियो । पछिल्लोपटक गीता पाण्डेको मृत्यु भएपछि यसको जालोको एक भाग मात्रै सार्वजनिक भएको छ ।
बुटवलमा यस्ता अवैध क्लिनिक दर्जनौं छन, जहाँ असुरक्षित रूपमा गर्भपतन सेवा उपलब्ध हुन्छ । अवैधरूपमा बसेको गर्भ फाल्नेदेखि पेटको बच्चा पहिचान गरि छोरा भए राख्ने छोरी भए फाल्ने सेवा पनि बुटवलमै चल्दै आएको छ ।
यी अवैध र मानवीयताको हिसावले पनि कलंक लाग्ने काममा चिकित्सक, स्वास्थ्यकर्मी र क्लिनिकहरूको संलग्नता छ भन्ने कुरा गीता पाण्डेको दुःखद घटनाले स्पष्ट गरेको छ । भ्रुणभित्र पहिला छोरा छोरी पहिचान गर्ने र छोरी भए गर्भ तुहाउने काम मानवका लागि शोभनीय हुँदै होइन ।
यो क्रम बढ्दै गएको र यसले सामाजिक जीवनमा ठूलो खाडल उत्पन्न गर्दै आएको छ । जसको उदाहरण राष्ट्रिय जनगणनाको तथ्याँकले पुष्टी गर्दछ । पछिल्लो १० बर्षयता नेपालमा बालिकाहरूको संख्यामा कमी आउँदै गरेको कुरा जनगणनाको रिपोर्ट छ ।
त्यसको प्रमुख कारण भनेको भ्रूण पहिचान गरि छोरी भए गर्भपतन गर्ने गंभीर अपराध देखिएको छ । समाजलाई नै लज्जित बनाउने यस्ता जघन्य अपराधका घटना बारम्बार दोहोरिँदै आउनु गम्भीर चिन्ताको विषय हो ।
छोरी भ्रूणमा हुनु पनि अपराध भैरहेको छ । कस्तो बिडम्वना छोरीलाई गर्भमै मार्ने गरिएको छ । आखिर छोरीमाथि किन यति निर्मम बनिरहेको छ नेपाली समाज ? निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७ बर्ष भयो । अपराधी अझै पत्ता लाग्न सकिरहेको छैन । छोरी भएकै कारण निर्मलाको बिभत्स हत्या भएको कुरामा दुई मत छैन ।
हरेकपटक परिवर्तन हुने सरकारले अपराधी पत्ता लगाउने दाबी त गर्छ तर अपराधी पक्राउ परेको कुनै संकेतसम्म देखिदैन । पछिल्लोपटक बालेनका गृहमन्त्री सुधन गुरुङले समेत यो विषय ‘टच’ गरे तर उनले फाईल खोल्न नपाउँदै बहिगर्मनमा परे । यी र यस्तै कारण निर्मला पन्तको बिषय सेलाउँदै गएको छ ।
असुरक्षित गर्भपतनका कारण मृत्युवरण गर्न बाध्य भएकी गीताको घटनामा संलग्न चिकित्सक निलम्वनमा परेका छन् । दुई क्लिनिक बन्द गरिएका छन । यस्ता धेरै अवैध काम बुटवलमा भैरहेका छन् । त्यसमा प्रशासनको निगरानी जरुरी छ ।
जुन समाजमा व्यक्तिको बाँच्न पाउने अधिकार सुरक्षित हुँदैन, त्यस मुलुकमा सरकार सामाजिक सुरक्षा र समृद्धिको कुरा गर्छ भने त्यसलाई लज्जास्पद मान्नुपर्छ । वास्तवमा अहिले बढ्दोरूपमा देखिएको भ्रूण हत्याको अपराधलाई निस्तेज गर्नेतर्फ प्रयास जरुरी छ । बालिकाहरू गर्भमै हुँदा मर्नुपर्ने कस्तो बिडम्वना ।
छोरा पाउने नाममा लिंग पहिचान गर्दा छोरीहरूको हत्या भैरहेको छ । यो क्रम बढ्दो छ । यस्तो अपराधमा संलग्नमाथि हदैसम्मको कारवाही जरुरी छ । खासगरी पैसाको लोभमा स्वास्थ्यकर्मीहरू यो काममा बढी नै लागेका छन् ।
स्वास्थ्यकर्मीहरूले भ्रुण पहिचान गर्न रोकिदिए भने यो समस्या समाधान हुन्छ तर पैसाको नाममा स्वास्थ्यकर्मीहरूबाट ठूलो अपराध भैरहेको छ । यहीकारण छोरी जन्मने क्रम छोराको तुलनामा आधा बढीले घटेको छ ।
निश्चितरूपमा यस प्रकारका कृयाकलापले समाजलाई नै असन्तुलित बनाउने अवस्था देखापरेको छ । अन्ततः भ्रुण हत्याको असर सृष्टिमै पर्ने अवस्था नआउला भन्न सकिदैन् ।
अहिले जसरी छोरा भए राख्ने र छोरी भए गर्भबाटै फाल्ने जुन प्रवृत्ति देखिएको छ, त्यसले भोलीको दिनमा ठूलो समस्या निम्त्याउने छ । अवको दिनमा यस प्रकारका घटना नियन्त्रण गर्नेतर्फ ध्यान जाओस् । खासगरी स्थानीय प्रशासनले निरन्तर खबरदारी र अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ ।