Butwal Today

निर्णय कागजमै, स्कुलमा ताला

२१ बैशाख २०८३, सोमबार
अ+
अ-

अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय कागजमै सीमित बनेको छ । नगर कार्यपालिकाले नियमित पठनपाठन सुदृढ गर्ने उद्देश्यले आइतबार समेत विद्यालय खोल्ने निर्णय गरे पनि अधिकांश विद्यालयमा शिक्षकहरू अनुपस्थित हुँदा विद्यार्थीहरू गेटमै अलपत्र परेर घर फर्किन बाध्य भएका छन् ।

आइतबार बिहानै उत्साहका साथ विद्यालय पुगेका विद्यार्थीहरूले गेटमा ताला लागेको र शिक्षकको उपस्थिति नभएको देखेपछि निराश हुँदै फर्किनुपरेको स्थानीयहरूले बताएका छन् । यस घटनाले अभिभावकहरूमा समेत व्यापक आक्रोश पैदा भएको छ ।

नगरपालिकाले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेपछि अभिभावकहरू सकारात्मक देखिएका थिए । तर व्यवहारमा शिक्षकहरूको बेवास्ता र अटेरीका कारण उक्त निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन ।

नगरप्रमुख झविलाल थापाले शिक्षकहरूले नगर कार्यपालिकाको निर्णयको अवहेलना गर्दै विद्यालय बन्द गरेको आरोप लगाउँदै कुनै पनि हालतमा कार्यपालिकाको निर्णय कार्यान्वयन गरिने बताए । “निर्णय नमान्ने विद्यालय तथा शिक्षकमाथि अनुगमन गरेर कारबाही गरिन्छ”, उनले भने ।

उनले नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी गरे पनि अपेक्षित प्रतिफल नआएको गुनासो गर्दै सुधारका लागि नै आइतबार समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको स्पष्ट पारे ।

यता, शिक्षकहरू भने निर्णयप्रति उदासीन देखिएका छन् । विद्यार्थीहरूको शैक्षिक नतिजा कमजोर बन्दै जाँदा पनि जिम्मेवारी बहन नगरी उल्टै विद्यार्थी र अभिभावकलाई दोष थोपर्ने प्रवृत्ति बढ्दै गएको स्थानीय अभिभावकहरूको आरोप छ । “विद्यालय नखोल्ने, पढाइ नहुने अनि रिजल्ट बिग्रियो भनेर हामीलाई नै दोष दिने यो कस्तो न्याय ?” भन्दै अभिभावकले आक्रोश व्यक्त गरेका छन् ।

स्थानीयहरूका अनुसार शिक्षकहरूको लापरबाही र गैरजिम्मेवार व्यवहारले शिक्षा क्षेत्र थप संकटमा पर्ने खतरा देखिएको छ । अब नगरपालिका कति कडा रूपमा प्रस्तुत हुन्छ र शिक्षकहरू जिम्मेवार बन्छन् कि बन्द कोठामै सीमित रहन्छन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?