© 2026
काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव ९ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।
मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार उक्त कार्यक्रमका लागि चालु आवमा रु पाँच अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको थियो ।
पहिलो त्रैमासिकमा छुट्याइएको रु ६२ करोड ७४ लाख बजेटमध्ये रु १४ करोड ७० लाख खर्च भएको छ, जुन त्रैमासिक बजेटको २३ दशमलव ४ प्रतिशत हो । सोही अवधिमा त्रैमासिक लक्ष्यको तुलनामा ३४ दशमलव नौ प्रतिशत भारित भौतिक प्रगति भएको छ । उक्त अवधिमा दुई दशमलव नौ किलोमिटर तटबन्ध निर्माण र एक हेक्टर जग्गा उकास भएको महाशाखाका प्रमुख थापाले बताए ।
उनका अनुसार केही आयोजनाले भने त्रैमासिक लक्ष्यभन्दा उल्लेखनीय काम गरेका छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन) ले त्रैमासिक भौतिक लक्ष्यको १६० दशमलव आठ प्रतिशत प्रगति हासिल गरेको छ । टार–बजार संरक्षण कार्यक्रमले लक्ष्यको १०८ प्रतिशत प्रगति गरेको छ । लमही (दाङ) ले ८६ दशमलव पाँच प्रतिशत, कञ्चनपुरले ८२ दशमलव पाँच प्रतिशत र जनकपुर (धनुषा) ले ८२ दशमलव तीन प्रतिशत भौतिक प्रगति हासिल गरेको महाशाखाले जनाएको छ ।