Butwal Today

भिडियो कलबाटै विशेषज्ञ उपचार, बिरामीलाई सहज

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

चन्द्रौटा ।

विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्दा टाढाका अस्पताल धाउनुपर्ने बाध्यता अब कम हुने भएको छ । सामान्य उपचारका लागि आफ्नै अस्पताल पुग्ने बिरामीले अब भिडियो कलमार्फत विशेषज्ञ चिकित्सकसँग पनि परामर्श लिन पाउने भएका छन् ।

कपिलवस्तुको बहादुरगञ्जस्थित शिवराज अस्पतालमा सुरु भएको टेलिमेडिसिन सेवाले स्थानीय स्वास्थ्य सेवामा नयाँ सम्भावना थपेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सञ्चालनमा आएको यो सेवाले बिरामीलाई प्रविधिसँग जोड्दै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच स्थानीयस्तरमै विस्तार गर्ने अपेक्षा छ । अब बिरामीले अस्पतालमै बसेर भिडियो कलमार्फत विशेषज्ञ चिकित्सकसँग आफ्नो स्वास्थ्य समस्या राख्न, परीक्षण प्रतिवेदन देखाउन र उपचारसम्बन्धी सुझाव लिन सक्नेछन् ।

विशेषज्ञ चिकित्सकको सेवा लिन टाढा जानुपर्ने अवस्था कम हुने अस्पताल प्रशासनको विश्वास छ । विशेषगरी समय, खर्च र यातायातको समस्याका कारण विशेषज्ञ सेवा लिन नसक्ने बिरामीलाई यो सेवा उपयोगी हुने बताइएको छ ।

कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले अस्पतालमा आउने बिरामीलाई ओपिडीमार्फत सेवा दिइने बताए । अस्पतालसम्म आउन नसक्ने बिरामीलाई भिडियो कलमार्फत विशेषज्ञ परामर्श उपलब्ध गराउने व्यवस्था गरिएको समेत उनले बताए ।

शिवराज अस्पतालको विशेष अनुरोधमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक मिश्राले बताए । उनका अनुसार यस सेवाले विशेषज्ञ चिकित्सकको परामर्शका लागि अन्यत्र जानुपर्ने बिरामीलाई आफ्नै अस्पतालबाट सेवा लिन सहज बनाउनेछ ।

सेवाको पहिलो दिन प्रतिष्ठानका कन्सल्टेन्ट फिजिसियन डा. सञ्जय पौडेलले भिडियो कलमार्फत पहिलो विशेषज्ञ परामर्श दिएका छन् । यससँगै अस्पतालमा प्रविधिको प्रयोगबाट विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने नयाँ अभ्यास सुरु भएको छ । सेवाअन्तर्गत शिवराज अस्पतालका चिकित्सकले बिरामीको स्वास्थ्य अवस्था, लक्षण र परीक्षण प्रतिवेदन विशेषज्ञ चिकित्सकलाई पठाउनेछन् ।

त्यसपछि विशेषज्ञ चिकित्सकले उपलब्ध विवरणका आधारमा स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरी आवश्यक थप परीक्षण, उपचार प्रक्रिया र औषधिबारे सुझाव दिनेछन् ।

अस्पतालका प्रशासन प्रमुख तथा मेडिकल अफिसर डा. दुर्गेशलाल चौधरीले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष सेवा तत्काल उपलब्ध हुन नसक्ने अवस्थामा टेलिमेडिसिन प्रभावकारी माध्यम बन्न सक्ने बताएका छन् । बिरामीको स्वास्थ्य अवस्था र परीक्षण प्रतिवेदनका आधारमा विशेषज्ञसँग परामर्श लिन सकिने भएकाले उपचार प्रक्रिया सहज हुने उनको भनाइ छ ।

सेवा सञ्चालनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइली, सहायक निर्देशक डा. निरोज खनाल, कन्सल्टेन्ट फिजिसियन डा. पौडेल, टेलिमेडिसिन फोकल पर्सन डा. द्रोणाचार्य घिमिरे, प्रशासकीय अधिकृत शालिकराम कालाथोकी तथा सूचना प्रविधि विभागले सहकार्य गरेका छन् ।

कृष्णनगर–८, मा रहेको शिवराज अस्पतालका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. मिश्रा र प्रशासन प्रमुख तथा मेडिकल अफिसर डा. चौधरीले सेवा सञ्चालनका लागि समन्वय गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?