© 2026
आजभन्दा २५७० वर्ष अघि अर्थात् इसा पूर्व ५६३ मा लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्वशान्तिका प्रवर्द्धक हुन । विश्वकै मानव जातिको कल्याणका अग्रदूत हुन् ।
मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि बुद्धले २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकार सहित गृह त्याग गरेका थिए । हिंसा र दुःखको कारण तथा समाधानको उपायको खोजीमा गृह त्याग गरेका सिद्धार्थ गौतम बुद्धले भातृत्व र मानव कल्याणका लागि समाजलाई महान दार्शनिक बिचारबाट दिक्षित गरेका छन् ।
उनको उपदेश र शिक्षा आजको मानव समाजका लागि अत्यन्त महत्त्वपूर्ण छन् । बुद्धको सन्देशले मानिसलाई सत्कर्मको बाटोमा हिड्न प्रेरणा प्रदान गरेको छ । २५७० वर्ष अघि बुद्धले दिएका उपदेशहरू आज पनि उत्तिकै महत्त्वपूर्ण रहेका छन् । अझै भनौं ती सन्देश वर्तमान विश्वका लागि अनिवार्य वनेका छन् ।
विश्व आज हिंसा, युद्ध र द्वन्द्वका कारण अशान्तिको भुमरीमा परेको छ । त्यसकारण पनि बुद्धका उपदेश र सन्देश विश्वका लागि अझै महत्त्वपूर्ण बनेका छन् । बुद्ध केवल बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएका छन् ।
बुद्धको सन्देश ग्रहण गर्ने र अपनत्व मात्रै गर्न सक्ने हो भनेपनि विश्व शान्तिका लागि ठूलो सहयोग हुनेछ । बुद्ध नेपालका लागि मात्र होइन शान्तिप्रेमी आम विश्व समुदायका लागि उत्तिकै प्रिय र प्रेरणादायी छन् । बुद्धले जहाँ पनि पुगेर जति सन्देश दिएका छन् ती सवै शान्तिका सन्देश हुन् । आजको विश्वका लागि बुद्धका अहिंसाको सन्देश महत्त्वपूर्ण रहेका छन् । तर, बिडम्वना बुद्धको जन्मस्थल लुम्विनीको अवस्था अझैपनि उस्तै छ ।
स्वरूपमा केही परिवर्तन भएको छ तर लुम्विनीबासी जनता लुम्बिनीको बिकासबाट खुसी छैनन् । उनीहरूलाई लुम्बिनीप्रति अपनत्व हुन सकेको छैन । बर्षमा एकपटक हुने बुद्ध जयन्ती समारोहमा पनि उनीहरूमाथि बिभेद गर्ने गरिएको छ । जबसम्म स्थानीय लुम्बिनीका जनताले लुम्बिनीको अपनत्व ग्रहण गर्दैनन् तबसम्म लुम्विनीको विकासले सार्थकता पाउन सक्दैन ।
अर्को दुःखको कुरा के छ भने जापानका पुरातत्वविद प्रो. केन्जो टाँगेले सन. १९७८ मा बनाएको लुम्विनी गुरुयोजना अझै पूरा भएको छैन । लुम्विनीमा बार्षिक करोडौं रूपैयाँ दान पनि आउँछ । सरकारले समेत बार्षिक रकम विनियोजन गर्दै आएको छ तर खोई लुम्विनीको विकास ? खोई गुरुयोजना अनुसारको काम ? अझै कति वर्ष लाग्ने हो लुम्बिनी गुरुयोजना पूरा गर्न ? स्वयं लुम्बिनी विकास कोषका पदाधिकारी समेत अनभिज्ञ हुनु चिन्ताको बिषय हो ।
करिब पाँच दशकअघिदेखि सुरु भएको लुम्बिनी गुरुयोजनाको काम मुस्किलले ९० प्रतिशत भन्दा बढि हुन सकेको छैन् । सरकारले राष्ट्रिय गौरवका परियोजनाको रूपमा राखेपनि बजेट अभावमै गुरुयोजना पूरा हुन नसक्नु कसको कमजोरी हो ? अव खोज्नुपर्ने भएको छ ।
अर्कोतर्फ लुम्बिनी विकास कोष नामक संस्था भ्रष्टाचारको अखडा मात्रै बन्दै गएको गुनासो छ । कोषभित्र ठूलो भ्रष्टाचार हुने गरेको कुरा धेरै पहिलेदेखि उठेको विषय हो । तर, अहिलेसम्म त्यस विषयमा कुनै छानविन हुन नसक्नु विडम्वना हो । स्थानीय मिडियालाई समेत कोषले हेलचेक्राई गर्दै आएको छ ।
काठमाण्डौंबाट आउने मिडियाकर्मीलाई लाखौं छुट्याउने कोषले स्थानीय जिल्लाका मिडियामा आफैले दिएको सूचना विज्ञापन समेत भुक्तानी नदिएर स्थानीय संचार माध्यममाथि घोर अन्याय गरेको छ ।
अव समय आएको छ– लुम्बिनी विकास कोषलाई खारेज गरेर लुम्बिनीको विकास फरक ढंगले गर्नु जरुरी छ । होइन भने अहिलेसम्म दुहुनो गाई बनेको लुम्बिनी विकास कोष अझै भ्रष्टाचारको अखाडा मात्रै बन्नेछ ।
अझै सोचिएन भने लुम्बिनीबाट स्थानीयको मात्रै होइन, आम नेपाली जनताको मोहभंग हुने अवस्था आउन सक्छ । तसर्थ बुद्ध जयन्तीको यो अवसरमा सरकारले लुम्बिनीको विकासको नयाँ मोडल जारी गरोस् ।