Butwal Today

महाभिनिष्क्रमणका पाइलाहरूले सिकाएको पाठ

१८ बैशाख २०८३, शुक्रबार
अ+
अ-

आधुनिक युगसम्म आइपुग्दा, मानव सभ्यताको विकाससँगै भौतिक सुखका साधनहरूमा अभूतपूर्व प्रगति भएको छ । विज्ञान र प्रविधिको यस्तो चमत्कारले मानिसको जीवनलाई सुविधा सम्पन्न बनाउँदै लगेको छ ।

यति हुँदाहुँदै पनि मानिसमा हृदयको रिक्तता भने झन् गहिरिँदै गएको छ । वास्तवमै मानिस बाहिरी रूपमा समृद्ध र शक्तिशाली देखिए पनि, भित्री रूपमा उत्तिकै अशान्त, चिन्तित र दिशाहीन बन्दै गएको छ ।

विकासको यो अन्धवेगले मानिसलाई उपभोक्तावादी संस्कारको जालोमा जकड्दै लगेको छ । त्यसैले बढ्दै गएको ‘तृष्णा’ लाई नियन्त्रण नगरेसम्म मानिसलाई यस्तो भुमरीबाट निस्कन असम्भव छ ।

बुद्धले २६०० वर्षअघि नै मानिसको दुःखको मूल कारण तृष्णा हो भनी उद्घोष गरेका थिए । वास्तवमै मानिसले आफ्नो तृष्णा र असीमित चाहनाको अन्त्य नगरेसम्म उसले साँचो खुसीको स्वाद प्राप्त गर्न सक्दैन ।

तृष्णाले नै मानिसको मति भ्रष्ट बनाउँछ, जसका कारण ऊ आफ्नो स्वार्थका लागि अरूको अहित गर्न रत्तिभर हिचकिचाउँदैन । भ्रष्टाचार बढ्दै जानुमा पनि मानिसमा रहेको तृष्णा वा लोभको भावना बढ्दै जानु मुख्य कारक हो ।

तसर्थ, शान्ति र खुसीका निम्ति सबैभन्दा पहिले मानिसमा रहेको तृष्णाको अन्त्य हुनु आवश्यक छ । भौतिक वस्तुहरूप्रतिको चहनालाई कम गर्नु र त्यागको भावना बृद्धि गर्नु नै सबै खाले समस्याहरूको समाधान हो ।

सिद्धार्थको त्याग अर्थात् महाभिनिष्क्रमणका पाइलाहरू 
कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमको ‘बुद्ध’ बन्ने यात्रा कुनै सामान्य घटना वा सानो वैराग्यको परिणाम थिएन । यसलाई सुखको उत्कर्षबाट सत्यको खोजीमा गरिएको एउटा महान् विद्रोह भन्दा फरक पर्दैन ।

सिद्धार्थसँग ती सबै कुराहरू थिए, जसको प्राप्तिका लागि आजको मानिस आफ्नो सम्पूर्ण जीवन खर्चिने मात्र होइन, नैतिकता र इमान समेत दाउमा लगाउन तयार देखिन्छ । राजा शुद्धोधनले आफ्ना छोरालाई संसारका कुनै पनि दुःखको छायाँ समेत पर्न नदिन तीनवटा ऋतुका लागि भव्य दरबार र विलासिताका सम्पूर्ण साधनहरू उपलब्ध गराएका थिए ।

तर, एक दिन आफ्ना सारथी छन्नसँग नगर भ्रमणमा निस्कँदा सिद्धार्थले चार महत्वपूर्ण दृश्यहरू देखे । वृद्ध, रोगी, मृत शरीर र एक शान्त संन्यासी । यस घटनाले उनको जीवनको धारा नै बदलिदियो ।

उनले भौतिक सुख केवल क्षणिक भ्रम मात्र हो भन्ने कुरा बुझे । ती राजसी सुखहरूले बुढ्यौली, रोग र मृत्युबाट कसैलाई पनि बचाउन सक्दैनन् । यही बोध भएपछि उनले एक रात आफ्नी सुत्केरी पत्नी यशोधरा, नवजात पुत्र राहुल र विशाल राज्यलाई त्यागेर सत्यको खोजीमा निस्किए । सिद्धार्थको यो त्यागलाई महाभिनिष्क्रमण भनिन्छ ।

यो केवल एउटा व्यक्तिगत त्याग मात्र थिएन, बरु सम्पूर्ण मानवताको दुःख निवारणका लागि गरिएको महान् बलिदान थियो । उनले देखाएको यो त्यागको उदाहरणले आज पनि हामीलाई ठूला उपलब्धि हासिल गर्न साना र निजी स्वार्थहरूलाई तिलाञ्जली दिनु अनिवार्र्य छ भन्ने कुरा सिकाउँछ ।

चार आर्य सत्यः मानव मनोविज्ञानको विश्लेषण
बुद्धले प्राप्त गरेको ज्ञानको सार ‘चार आर्य सत्य’ मा निहित छ । यो केवल धार्मिक उपदेश मात्र नभएर मानव चित्तको गति र संसारको यथार्थ चित्रण पनि हो । बुद्धका अनुसार यी चार सत्यलाई नबुझी मानिस दुःखचक्रबाट मुक्त हुन सक्दैन ।

चार आर्यसत्यमा पहिलो सत्य हो, दुःख छ (दुःख सत्य) । संसारमा दुःख छ भन्ने कुरालाई स्वीकार गर्नु नै ज्ञानको पहिलो खुड्किलो हो । जन्मनु, बुढो हुनु, मर्नु, शोक र शारीरिक–मानसिक पीडा सबै दुःखका स्वरूप हुन् ।

प्रिय कुराको वियोग र अप्रिय कुराको संयोग पनि दुःख नै हो । दोस्रो सत्य हो, दुःखको कारण छ (दुःख समुदाय) । हरेक कार्यको कारण हुन्छ । दुःख पनि बिनाकारण उत्पन्न हुँदैन । यसको मूल जड ‘तृष्णा’ अर्थात् लालसा हो । इन्द्रिय सुखको चाहना, अस्तित्वको चाहना र वैभवको तृष्णाले नै मानिसलाई दुःखको दलदलमा धकेल्छ ।

त्यसैगरी तेस्रो सत्यको रूपमा रहेको छ, दुःखको निरोध सम्भव छ (दुःख निरोध) । तृष्णाको पूर्ण त्याग र अविद्याको नाश भएपछि दुःखको अन्त्य सम्भव छ । यो नै शान्ति र निर्वाणको अवस्था हो । अन्तिम अर्थात् चौथो सत्य हो, दुःख निरोधको मार्ग (दुःख निरोधगामिनी प्रतिपदा) । दुःख मुक्तिका लागि एउटा स्पष्ट मार्ग छ, जसलाई बुद्धले ‘आर्यअष्टाङ्गिक मार्ग’ भनेका छन् ।

यी चार आर्य सत्यले आजको मानिसलाई आफ्नो समस्याको पहिचान गर्न र त्यसको समाधान आफैँभित्र खोज्न प्रेरित गर्दछ । हामी प्रायजसो आफ्नो दुःखको दोष अरूलाई वा भाग्यलाई दिने गर्छौँ । तर बुद्धले दुःखको स्रोत आफ्नै मनभित्र रहेको प्रष्ट पारेका छन् ।

आर्यअष्टाङ्गिक मार्गः चित्त शुद्धिका आठ खुड्किला
बुद्धले प्रतिपादन गरेको अष्टाङ्गिक मार्गले मानिसको मतिलाई भ्रष्ट हुनबाट बचाई शान्ति र खुसी प्रदान गर्दछ । यसलाई बुद्ध दर्शनमा शील, समाधि र प्रज्ञा गरी तीन मुख्य सोपानमा बाँडिएको छ ।

प्रज्ञाअन्तर्गत सम्यक दृष्टि र सम्यक संकल्प पर्दछन् । सम्यक दृष्टिले हामीलाई सही र गलत, नित्य र अनित्यबीचको भेद ठम्याउन मद्दत गर्छ । हाम्रो दृष्टिकोण सही भएमा मात्र हाम्रा संकल्पहरू पनि पवित्र र कल्याणकारी हुन्छन् ।

त्यसैगरी दोस्रो सोपान हो, शील । यसअन्तर्गत सम्यक वचन, सम्यक कर्म र सम्यक आजीविका पर्दछन् । आफ्नो बोलीले कसैको चित्त नदुखाउनु, झुटो नबोल्नु र कठोर शब्द प्रयोग नगर्नु सम्यक वचन हो ।

त्यसैगरी, कसैलाई हानि नपु¥याई गरिने सत्कर्म सम्यक कर्म हो । अन्याय, अत्याचार र हिंसाको मार्ग नअपनाई गरिने पवित्र व्यवसाय सम्यक आजीविका हो । आजको भ्रष्टाचार र अनैतिकताले भरिएको समाजमा यी तीन मार्गहरू अत्यन्तै सान्दर्भिक छन् ।

अष्टाङ्गिक मार्गको अन्तिम सोपान भनेको समाधि हो । यसअन्तर्गत सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् । मनमा रहेका दूषित भावनालाई हटाउने प्रयास गर्नु सम्यक व्यायाम हो ।

वर्तमान क्षणमा सजग रहनु र होसमा रहनु सम्यक स्मृति हो । र मनको एकाग्रता र निर्मलता नै सम्यक समाधि हो । यी आठ मार्गको पालना गर्दा मानिसको जीवनबाट लोभ, मोह र राग बिस्तारै हट्दै जान्छ ।

आधुनिक विश्वमा बुद्ध दर्शनको प्रभाव र सान्दर्भिकता
आजको विश्वका अधिकांश मुलुकहरू सांसारिक जीवनको भागदौड र आणविक त्रासबाट विक्षिप्त छन् । यस्तो अवस्थामा बुद्धको अहिंसा र मध्यम मार्गको शिक्षा विश्व शान्तिको निर्विकल्प उपाय बन्न सक्दछ ।

श्रीलंका, म्यानमार, थाइल्याण्ड, जापान र भुटान जस्ता देशहरूले बुद्ध दर्शनलाई आफ्नो राष्ट्रिय गौरव र जीवन पद्धतिको रूपमा अपनाएका छन् ।

भुटानले आर्थिक समृद्धिको साटो कुल गार्हस्थ्य खुसी (जिएनएच) को अवधारणा ल्याउनु र थाइल्याण्डले बौद्ध अर्थशास्त्रलाई प्राथमिकता दिनुले लोभमा आधारित अर्थतन्त्र भन्दा सन्तोषमा आधारित अर्थतन्त्रले मानिसलाई बढी सुखी बनाउँछ भन्ने कुराको पुष्टि गर्दछन् ।

आजका कर्पोरेट क्षेत्रमा समेत माइंडफुलनेस वा सजगताको अभ्यास गराइन्छ, जुन बुद्धको सम्यक स्मृतिकै आधुनिक रूप हो । बुद्ध नेपालमा जन्मिएका हुन् भनेर गर्व गर्नु मात्र पर्याप्त छैन, उनले देखाएको त्याग र सन्तुलनको मार्गलाई आफ्नो दैनिक व्यवहारमा उतार्नु आजको मुख्य आवश्यकता हो ।

र अन्त्यमा ……
लोभको डडेलोले मानिसको बुद्धि र विवेकलाई खरानी बनाइदिन्छ । यस सन्दर्भमा बुद्धका उपदेशहरू शितल जल समान प्रतित हुन्छन् । हामीले आफ्नो मनलाई लोभ, राग र द्वेषबाट मुक्त राख्न सक्यौँ भने मात्र हाम्रो मति सङ्लो रहनेछ र हामीले साँचो खुसी प्राप्त गर्नेछौँ ।

बुद्धलाई केवल एउटा ऐतिहासिक पात्र वा मन्दिरको मूर्तिमा मात्र सीमित नराखी एउटा जीवन्त जीवन पद्धतिका रूपमा स्वीकार गर्नुपर्छ । पञ्चशीलको पालना र अष्टाङ्गिक मार्गको अभ्यासले नै विश्वबाट युद्ध, हिंसा र व्यक्तिगत पीडाको अन्त्य हुन सक्छ । अतः आफ्नो बुद्धिलाई भ्रष्ट हुन नदिन र जीवनलाई अर्थपूर्ण बनाउन बुद्धका उपदेशहरूको पालना गर्नु नै आजको युगको वास्तविक आवाज हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?