Butwal Today

सीमाको कडाइले फर्कियो नेपाली बजारमा रौनक

२३ बैशाख २०८३, बुधबार
अ+
अ-

चन्द्रौटा (कपिलवस्तु) । कुनै समय किनमेलका लागि दैनिक जसो सीमापारि जाने नेपालीहरूको भीडले भरिभराउ हुने बजारहरू अहिले फेरिएका छन् ।

सीमामा कडाइ बढेसँगै त्यही भीड अब आफ्नै गाउँ–सहरका पसलतिर फर्किन थालेको छ । परिणामस्वरूप, सुस्ताउँदै गएको नेपाली बजारमा फेरि चहलपहल देखिन थालेको छ ।

कपिलवस्तु जिल्लाकै ठुलो कृष्ण नगर भन्सार नाकादेखि चन्द्रौटा बजारसम्म यति बेला व्यापारिक गतिविधि बढेको व्यवसायीहरू बताउँछन् । पहिले सीमापारि सस्तो सामानको आकर्षणले स्थानीय बजार ओझेलमा पर्ने गरेको थियो । तर पछिल्लो समय सरकारले भन्सार नीतिमा कडाइ गर्दै निगरानी बढाएपछि त्यो प्रवृत्तिमा परिवर्तन आएको देखिन्छ ।

स्थानीय व्यवसायी बब्लु गुप्ता भन्छन्, “पहिले नियम त थियो, तर कार्यान्वयन कमजोर थियो । अहिले कडाइ भएपछि व्यापार बिस्तारै उठ्न थालेको छ ।” उनका अनुसार सुरुमा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसले बजारलाई स्थिर बनाउने विश्वास बढेको छ ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि दैनिक उपभोग्य वस्तु ल्याउन अझै सहजता रहेको भए पनि अवैध ढुवानीमा भने स्पष्ट रोक लाग्न थालेको व्यवसायीहरूको अनुभव छ । यसले राज्यको राजस्व मात्र बढाएको छैन, स्थानीय व्यापारमा पनि सकारात्मक प्रभाव पारेको छ ।

चन्द्रौटाका व्यवसायी सुदर्शन थारुका अनुसार खुला सीमाको फाइदा उठाउँदै हुने अनियन्त्रित किनमेलका कारण केही समयअघि बजार अस्तव्यस्त बनेको थियो । “अहिले अवस्था फेरिएको छ, ग्राहकहरू फर्किएका छन्, बजारमा ऊर्जा आएको छ”-उनले भने । तर सीमाको यो कडाइको प्रभाव एकतर्फी छैन । सीमापारिका भारतीय बजारहरूमा भने यसको उल्टो असर देखिएको छ ।

अर्को तर्फ बढ्नी बजारका व्यापारी निसार खानले नेपाली ग्राहक घटेपछि व्यापारमा उल्लेख्य गिरावट आएको बताए । “पहिले दिनभरि ग्राहकले भ्याई नभ्याई हुन्थ्यो, अहिले पसलमै बस्दा समय बिताउन गाह्रो हुन्छ,” उनले सुनाए ।

अर्का व्यापारी सुबास मित्तल पनि यही अनुभव सुनाए । उनी भन्छन्– “दैनिक रूपमा सेवाग्राहीलाई डिल गर्न भ्याई नभ्याई हुन्थ्यो तर, अहिले काम नभएर समय कटाउन पनि गाह्रो छ ।” उनका अनुसार नेपाली ग्राहक नै मुख्य आधार रहेकाले आवागमन घट्दा बजार सुनसान बनेको हो ।

सीमामा गरिएको कडाइले तस्करी नियन्त्रण, राजस्व वृद्धि र स्थानीय बजार सुदृढीकरणजस्ता सकारात्मक सङ्केत दिएको छ । तर यसले सीमापारि निर्भर अर्थतन्त्रमा चुनौती पनि थपेको छ ।

अधिकांश स्थानीयले सामाजिक सञ्जालमार्फत सीमावर्ती बासिन्दाका दैनिक समस्या उठाउँदै निश्चित मूल्यसम्मका सामानमा भन्सार सहज गर्नुपर्ने धारणा राखेपछि विषय सार्वजनिक चासोको केन्द्र समेत बनेको छ ।

सीमावर्ती नागरिकको दैनिक जीवन प्रभावित हुन नदिन भन्सार नीतिमा लचकता आवश्यक रहेको स्थानीयले प्रतिक्रिया जनाएका छन् । विगतदेखि नै एक सय रूपैयाभन्दा बढीको सामान ल्याउँदा भन्सार गराउनु पर्ने कानुनी प्रावधान रहेको छ ।

यद्यपि, सरकारको भन्सार महसुल ऐन २०८१ अनुसार एक सय रुपैयाँभन्दा माथिका सामानमा महसुल अनिवार्य रूपमा असुल गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । सरकारी पक्षले भने राजस्व चुहावट रोक्न र अवैध व्यापार नियन्त्रण गर्न सीमा नाकामा कडाइ गरिएको स्पष्ट पारेको छ । गृह मन्त्रालयको निर्देशनअनुसार देशभरका सीमा नाकामा निगरानी र जाँच प्रक्रिया थप कडा पारिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमावर्ती क्षेत्रमा संयुक्त रूपमा सञ्चालन गरिएका अभियानहरूले सकारात्मक नतिजा दिन थालेको छ । सीमामा हुने साना–ठुला तस्करीका प्रयासहरूमा कमी आउनुका साथै शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई निगरानीमा राखिएको छ ।

पहिले खुला रूपमा हुने अवैध कारोबार अहिले घट्दो क्रममा छ, जसले यहाँको समग्र सुरक्षा अवस्था उल्लेखनीय सुधार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?