© २०२३
बुटवल, ४ बैशाख । बुटवलमा जारी यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगितामा श्री शान्ति नमुना स्कुल विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट्रन क्रिकेट क्लब बुटवलको आयोजना बिहिबार भएको खेलमा शान्ति नमुनाले लुम्बिनी वल्र्ड स्कुललाई ९ बिकेटले पराजित गरेको हो ।
नरैनापुर क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले ब्याटिङ रोज्दै १५ ओभरमा सबै बिकेट गुमाएर केवल ३१ रनको लक्ष्य खडा गरेको थियो । लुम्बिनीका अजितेस राज गुप्ताले ३० बलमा १४ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न शान्ति नमुनाका दिवस अर्याल र शिशिर भु्रतेलले समान ४–४ बिकेट लिए ।
झिनो लक्ष्यलाई शान्ति नमुनाले ४.१ ओभरमा १ बिकेटमा समेटियो । शान्तिका रुद्रान्स भट्टराईले ११ बलमा २० रन जोडे । लुम्बिनीका गोकर्ण राज भण्डारीले १ बिकेट लिए । खेलमा शान्ति नमुनाका शिशिर भ्रुतेल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि १४ वर्ष मुनिका खेलाडीहरुको १२ वटा टिमलाई दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाएर समूहको शिर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष भुवन पाण्डेले बताए । प्रतियोगितामा विजेता टिमले नगद ४१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले २१ हजार नगद राशी प्राप्त गर्ने उनले बताए । यसैगरी विधागत तर्फ उत्कृष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार नगद राशीले सम्मान गरिने उनले बताए ।