© २०२३
हेटौँडा ।
लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ। करिब छ महिनाको अवरोधपछि मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति पूरा भएपछि उद्योगले उत्पादन प्रक्रियामा पुनः पाइला चालेको हो। गत मङ्गलबारदेखि उद्योगले चुनढुङ्गा प्रशोधनको काम सुरु गरिसकेको छ। केही दिनभित्रै सिमेन्ट उत्पादन समेत सुरु हुने तयारी छ। उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार आवश्यक प्रक्रिया पूरा भइसकेको छ र अब उत्पादन कार्य तत्काल प्रारम्भ गरिनेछ।
“हामीले दैनिक ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएका छौँ,” कर्णले जानकारी दिए। तर, उनले उद्योगभित्रका संरचना र प्रविधि निकै पुराना भएको भन्दै दीर्घकालीन सुधार आवश्यक रहेको धारणा राखे। विसं २०३३ मा जडान गरिएका यन्त्रहरू अहिले जीर्ण अवस्थामा पुगेका छन्। नयाँ यन्त्र खरिद गर्नुपर्ने स्पष्ट आवश्यकता देखिए पनि आर्थिक अभावका कारण त्यो सम्भव नदेखिएको कर्णको भनाइ छ। “नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने महसुल र कर्मचारीहरूको पारिश्रमिकको व्यवस्थापनमै चुनौती भइरहेको छ,” उनले दुःखेसो पोखे, “यस्तो अवस्थामा नयाँ यन्त्र खरिद गर्नु त गाह्रो छ नै, नियमित सञ्चालनमै पनि धेरै बाधा छन्।” यद्यपि, उनले उद्योगलाई सञ्चालनमै राख्न सरकारबाट आवश्यक सहयोग प्राप्त हुनेमा आशावादी रहेको जनाए।