© २०२३
सल्यान, ०५ वैशाख ।
सल्यानको छत्रेश्वरी गाउँपालिकामा मेलमिलापकर्ताहरूको लागि आधारभूत तालिम सुरु भएको छ । विवादको साटो, मेलमिलापको बाटो भन्ने मुख्य नारा सहित वडास्तरका मेलमिलापकर्ताहरूका लागि मेलमिलाप सम्बन्धी आधारभुत तालिम बिहीबारदेखि सुरु भएको हो ।
तालिम उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले न्यायिक समितिले प्रभावकारी न्याय सम्पादनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै अन्तरविरोध तथा अन्तरकलहमा एक पक्षको जीत र हार नभएर दुवै पक्षको जीत हुनेगरी वडास्तरमा नै मेलमिलाप गराउनमा मेलमिलापकर्ताहरूले महत्वर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
यस्तै गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बुद्ध कुमारी खत्रीले मेलमिलापकर्तामा विवादको गाँठो फुकाउन सक्ने क्षमता दिलाउन यो तालिमले टेवा पुर्याउने विश्वास व्यक्त गर्दै समाजमा एकआपसमा हुने विवादलाई जटिल अवस्थामा पुग्न नदिनका लागि मेलमिलापकर्ताले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले मेलमिलापकर्ताहरूले पक्ष विपक्षको गोपनीयता राख्नुपर्ने, आफूलाई आर्थिक लाभबाट प्रभावित गर्नु नहुने, एकको कुरा अर्कालाई सुनाउनु नहुने जस्ता आचरण पालना गर्नुपर्नेमा जोड दिए ।
छत्रेश्वरी गाउँपालिकाको आर्थिक सहयोगमा संवाद सहजिकरण तथा मेलमिलापका लागि शेयर सेन्टर, सुर्खेतले आजदेखि सुरु गरेको तालिम वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । सातवटै वडाहरूबाट छनौट भएका तीन तीन जना मेलमिलापकर्ताहरू सहित न्यायिक समितिका सदस्यहरू, न्यायीक शाखाका कर्मचारी लगायत तालिममा सहभागी छन् । तालिमका प्रशिक्षकहरूमा अर्जुन प्रसाद घिमिरे र सन्तोष प्रसाद खनाल रहेका छन् ।