© 2026
सिद्धार्थनगर ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सिद्धार्थनगरस्थित श्री रण अम्बिका शाह आँखा अस्पताल अगाडिको सडकमा अव्यवस्थित पार्किङका कारण स्थानीय व्यवसायी, सर्वसाधारण, बिरामी तथा पैदलयात्रीले सास्ती खेप्नुपरेको छ । अस्पताल आसपासको सडकमा सवारी साधन जथाभावी पार्किङ गरिँदा आवतजावतमा कठिनाइ हुनुका साथै सडक दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको गुनासो छ ।
अस्पताल अगाडि नै ‘नो पार्किङ’ को बोर्ड राखिएको भए पनि त्यसकै मुनि बाटो ओगटेर गाडी, बस तथा मोटरसाइकल पार्किङ गर्ने गरिएको छ । सडक, जेब्रा क्रसिङ तथा दृष्टिविहीन र अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएको क्षेत्रमा समेत ई–रिक्सा, ठेला र अन्य सवारी साधन दोहोरो–तेहोरो लाइनमा राखिँदा पैदलयात्रीलाई सडक पार गर्नसमेत कठिन हुने गरेको छ ।
स्थानीय गोपाल भण्डारीका अनुसार अस्पताल क्षेत्रमा पार्किङको उचित व्यवस्था नहुँदा आसपासका सडक अस्तव्यस्त बनेका छन् । अस्पतालमा दैनिक ठूलो सङ्ख्यामा सेवाग्राही आउने भए पनि उनीहरूको सवारी साधन व्यवस्थापनका लागि पर्याप्त व्यवस्था हुन नसकेको उनको भनाइ छ । अस्पतालले सेवाग्राहीलाई आवश्यक पार्किङ सुविधा उपलब्ध गराउन नसक्दा समस्या सडकसम्म फैलिएको उनले बताए ।
स्थानीय व्यवसायीहरूका अनुसार तीव्र गतिमा गुड्ने सवारी साधन र सडक किनारमा जथाभावी पार्किङ गरिएका सवारीका कारण दुर्घटनाको जोखिम बढेको छ । विशेषगरी आँखा उपचारका लागि आउने बिरामी, ज्येष्ठ नागरिक, दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू बढी जोखिममा पर्ने गरेका छन् ।
पार्किङ व्यवस्थापनमा नगरपालिका र ट्राफिक प्रहरीको भूमिकाप्रति पनि स्थानीयले प्रश्न उठाएका छन् । विगतमा नगरपालिकाले ठेक्कामार्फत पार्किङ सञ्चालन गरे पनि अहिले प्रभावकारी व्यवस्थापन हुन नसकेको उनीहरूको आरोप छ । स्थानीयले निजी जग्गा उपलब्ध गराउँदासमेत दीर्घकालीन समाधान खोज्न नसकिएको र नगरपालिका तथा ट्राफिक प्रहरीले एक–अर्कालाई जिम्मेवारी पन्छाउने गरेको स्थानीयको गुनासो छ ।
यता, अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले अस्पतालको दीर्घकालीन गुरुयोजनाअनुसार पार्किङलगायत आवश्यक पूर्वाधार विस्तारको काम अगाडि बढिरहेको बताएका छन् । अस्पतालले सेवाग्राहीको सुविधालाई प्राथमिकतामा राख्दै उपलब्ध आर्थिक स्रोत र बजेटअनुसार संरचना निर्माण गरिरहेको उनको भनाइ छ ।
रायमाझीका अनुसार यसअघि अस्पतालमा अस्थायी पार्किङको मात्रै व्यवस्था थियो । अहिले गुरुयोजनाअन्तर्गत इन–पेसियन्ट ब्लक (मोड्युलर ओपीडी भवन) निर्माण कार्य अघि बढाइएको छ । उक्त भवनको बेसमेन्ट र पहिलो तल्लालाई प्राथमिकताका साथ छिटो निर्माण सम्पन्न गरी सेवाग्राही तथा बिरामीका आफन्तको पार्किङ समस्या समाधान गर्ने अस्पतालको योजना रहेको उनले बताए ।
उक्त संरचना निर्माणका लागि २०८० सालमा सम्झौता भएको र आयोजना दुई वर्ष तीन महिनाको अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको व्यवस्थापक रायमाझीले जानकारी दिए । तर निर्माण कार्य निर्धारित योजनाअनुसार पुरा गर्न अस्पताल चुकिरहेको छ ।
अस्पतालमा मौसमअनुसार दैनिक दुई हजारभन्दा बढी बिरामी ओपीडी सेवा लिन आउने गरेको व्यवस्थापक रायमाझीको भनाइ छ । रातिको समयमा वा अपायक समयमा आउने बिरामी तथा उनीहरूका सवारी साधनको व्यवस्थापन अस्पताल परिसरभित्रै गर्ने गरिएको उनले बताए । अस्पताल अगाडिको राजमार्गमा निर्माण गरिएको पार्किङ लेनसमेत सेवाग्राहीले प्रयोग गर्दै आएको र त्यसलाई आगामी दिनमा थप व्यवस्थित बनाउने योजना रहेको उनले स्पष्ट पारे ।
यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीकी प्रमुख प्रतिमा कार्कीले अस्पताल क्षेत्रको अव्यवस्थित पार्किङ नियन्त्रणका लागि ट्राफिक प्रहरीले पटक–पटक प्रयास गर्दै आएको बताइन् । ट्राफिक प्रहरीबाट पार्किङ नगर्न आग्रह गर्ने, सम्झाउने तथा आवश्यक निर्देशन दिने काम हुँदै आए पनि कतिपय चालकले अटेर गर्दा समस्या पूर्ण रूपमा समाधान हुन नसकेको उनको भनाइ छ ।
उनले सडकलाई व्यवस्थित र सुरक्षित बनाउन ट्राफिक प्रहरीको प्रयास मात्रै पर्याप्त नहुने भन्दै अस्पताल प्रशासन, सिद्धार्थनगर नगरपालिका, स्थानीय व्यवसायी, सर्वसाधारण र सवारी चालक सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताइन् । सडकमा जथाभावी सवारी पार्किङ नगर्न र तोकिएको स्थानमै पार्किङ गर्न चालकलाई आग्रह गर्दै उनले समस्या समाधानका लागि सबै पक्षबिच सहकार्य र हातेमालो आवश्यक रहेकोमा जोड दिइन् ।
दैनिक हजारौँ बिरामीको उपचार हुने संवेदनशील स्वास्थ्य संस्थाको आसपासमा पार्किङ र सडक सुरक्षा व्यवस्थापनलाई सामान्य विषयका रूपमा लिन मिल्दैन । अस्पतालको गुरुयोजनाअनुसार निर्माणाधीन संरचना सम्पन्न भएपछि पार्किङ समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिए पनि तत्कालका लागि सडकमा हुने अव्यवस्थित पार्किङ नियन्त्रण गर्न आवश्यक देखिएको छ ।
अस्पताल व्यवस्थापन, सिद्धार्थनगर नगरपालिका, ट्राफिक प्रहरी र स्थानीय व्यवसायीबीच समन्वय गरी अल्पकालीन तथा दीर्घकालीन योजना लागू गर्न सके मात्रै बिरामी, पैदलयात्री र स्थानीयले भोग्दै आएको सास्ती कम हुने देखिन्छ ।
अव्यवस्थित पार्किङ र सडक किनारको व्यापारलाई तत्काल व्यवस्थित गर्नुपर्ने माग गर्दै स्थानीय व्यवसायीले सम्बन्धित निकायलाई दबाब दिएका छन् । व्यावसायिक क्षेत्रमा भूमिगत पार्किङ अनिवार्य गर्ने नीति ल्याउनुपर्ने उनीहरूको माग छ ।