© 2026
बुटवल । दाङको धार्मिक तथा पर्यटकीय क्षेत्र बाह्रकुने दहको प्रवद्र्धन योजना अलपत्र परेको छ । पाँच वर्षअघि गुरुयोजना तयार गरी बाह्रकुने दहलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य अनुसार कान्छा बराहथान मन्दिर, जलाशय, पार्क, प्रवेशद्वार र काउन्टर घरलगायतका पूर्वाधार निर्माण थालिएको थियो ।
तर अहिलेको स्थानमा रहेको कान्छा बराह स्थानलाई अनेत्र सार्ने विषयमा स्थानीयबिचको विवादका कारण निर्माणका काम अलपत्र परेका छन् । घोराही उपमहानगरपालिका–१३ मा रहेको उक्त क्षेत्रलाई नयाँ मोडेलमा विकास गर्ने गरी २०७८ काम सुरु गरिएको थियो । बराह क्षेत्र संरक्षण तथा सम्वद्र्धन धार्मिक समितिका अध्यक्ष देवबहादुर घर्तीमगरले हाल रहेको स्थानबाट कान्छा बराहथान मन्दिर अन्यत्र सार्ने विषयमा विवाद हुँदा चार वर्षदेखि काम अघि बढ्न नसकेको बताउनुभयो । जसका कारण निर्माणाधीन मन्दिर, जलाशय, पार्क र प्रवेशद्वारलगायतका संरचना अलपत्र परेका छन् ।
गुरुयोजना अनुसार हालको स्थानमा रहेको मन्दिरलाई करिव दुई मिटर दक्षिण डाडामा सार्ने र अहिले रहेको बाह्रकुने दहलाई विस्तार गरि जलाशय निर्माण गर्ने योजना रहेको थियो । तर मूल मन्दिर सार्ने विषयमा स्थानीयबिच मतभेद भएपछि सम्पूर्ण काम रोकिएको अध्यक्ष घर्तीमगरले बताए । उनका अनुसार अन्य पूर्वाधार निर्माणमा विवाद नरहेपनि काम हुन नसकेको बताए ।
बाह्रकुने दहमा बहुउद्देश्यीय पार्क निर्माणका लागि वि.सं. २०७८ जेठ ३१ गते नागार्जुन शिव निर्मल जेभीसँग ६ करोड ६ लाख ५२ हजार ५४९ रुपियाँ ९२ पैसामा ठेक्का सम्झौता भई काम थालिएको थियो । २०८० जेठ ३१ गतेभित्र काम सक्नुपर्ने गरी सुरु भएको उक्त योजनामा कम्पाउण्डसहितको मन्दिर, टिकट घर, गार्ड घर, जलाशय, पार्क र फुटपाथ निर्माण गर्ने कार्य समावेश छन् । निर्माण कम्पनीका प्रतिनिधि राजेन्द्र वलीले हालसम्म काउन्टर घर र सुरक्षा गार्ड बस्ने घरसँगै प्रवेशद्धार आधा निर्माणको काम सकिएको बताए ।
उनले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणअन्तर्गत काम सुरु भएपनि मुख्य काम मन्दिर सार्ने र जलाशय निर्माणका विषयमा विवाद हुँदा काम गर्न नसकिएको बताए । स्थानीयका बिचमा सहमति हुने र काम गर्ने वातावरण बने बाँकी निर्माणका कामलाई अघि बढाउन तयार रहेको उनको भनाइ छ ।