Butwal Today

सरावलमा विद्यालय सुधार परियोजनाको अनुगमन

१४ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

नवलपरासी ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सञ्चालित विद्यालय सुधार परियोजनाको स्थानीय परियोजना सल्लाहकार समिति (एलपीएसी) ले अनुगमन गरेको छ । अनुगमनका क्रममा विद्यालयको भौतिक पूर्वाधार निर्माण, शिक्षकको क्षमता अभिवृद्धि, बालमैत्री तथा समावेशी शिक्षण पद्धति र गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा जोड दिइएको छ ।

चाइल्डफण्ड जापान र इन्द्रेणी सामाजिक विकास मञ्चको सहकार्यमा तथा जापान सरकारको परराष्ट्र मन्त्रालय (एमओएफए) को आर्थिक सहयोगमा सञ्चालित ‘बालमैत्री तथा समावेशी शिक्षाका लागि विद्यालयको वातावरण सुधार कार्यक्रम’ अन्तर्गतका गतिविधिको अनुगमन गरिएको हो।

अनुगमन टोलीले सरावल गाउँपालिका–५ स्थित जनता आधारभूत विद्यालय, धनगडवामा निर्माणाधीन छ कोठे आरसीसी भवन, छ कोठे आरसीसी शौचालय तथा चारवटा धारा जडित खानेपानी संरचनाको अवस्थाबारे जानकारी लिएको थियो । त्यस्तै, गाउँपालिका–६ स्थित महेन्द्र जनता माध्यमिक विद्यालय, गडौरीमा परियोजनामार्फत सञ्चालन गरिएका शिक्षक तालिम तथा अन्य सहयोगका कार्यक्रमको पनि अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा निर्माणाधीन संरचनाको प्रगति र गुणस्तर, निर्धारित मापदण्डको पालना, शिक्षक तालिमको प्रभावकारिता तथा तालिमबाट प्राप्त ज्ञान र सीपको कक्षाकोठामा प्रयोगबारे समीक्षा गरिएको थियो । साथै, शिक्षण सिकाइ क्रियाकलापमा बालमैत्री तथा समावेशी पद्धतिको प्रयोग, विद्यालयको सिकाइ वातावरण र विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरणका गतिविधिको अवस्थासमेत अवलोकन गरिएको थियो ।

परियोजनाका गतिविधिलाई स्थानीय तहको नीति, योजना तथा कार्यक्रमसँग जोड्दै प्रभावकारी कार्यान्वयन, स्रोतसाधनको सदुपयोग र परियोजनाको दिगोपनाका विषयमा समेत छलफल गरिएको थियो । अनुगमन टोलीले निर्माण कार्यको गुणस्तर कायम राख्न, शिक्षक तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न तथा विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न आवश्यक सुझाव र पृष्ठपोषण दिएको जनाएको छ ।

यसैबीच, सरावल गाउँपालिकामा आयोजित समीक्षा तथा छलफल कार्यक्रम गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा परियोजना प्रबन्धक बिना चौधरीले परियोजनाको हालसम्मको प्रगति, उपलब्धि, चुनौती र सिकाइका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् । इन्जिनियर दुर्गा प्रसाद ढकालले परियोजनाअन्तर्गत भइरहेका निर्माण कार्य तथा भौतिक पूर्वाधारको प्रगतिबारे जानकारी गराएका थिए ।

परियोजनाले विद्यालयको भौतिक संरचना सुधारसँगै गुणस्तरीय शिक्षा, बालमैत्री तथा समावेशी विद्यालय वातावरण निर्माण र विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेको छ । सुरक्षित पूर्वाधार निर्माण, शिक्षकको क्षमता अभिवृद्धि र प्रभावकारी शिक्षण सिकाइ प्रक्रियामार्फत बालबालिकाको सिकाइ उपलब्धिमा सुधार ल्याउनु परियोजनाको मुख्य उद्देश्य रहेको छ ।

अनुगमनमा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमति हरिजन, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख महेन्द्र सुवेदी, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, शिक्षा शाखा प्रमुख प्रमोद यादव, इन्द्रेणी सामाजिक विकास मञ्चकी उपाध्यक्ष धनमति सापकोटा, कार्यकारी निर्देशक पुष्पराज आचार्य, चाइल्डफण्ड जापानका प्रोजेक्ट म्यानेजर मनोज थारू, परियोजना प्रबन्धक बिना चौधरी, इन्जिनियर दुर्गा प्रसाद ढकाल, लेखा अधिकृत यासोद सुवेदी तथा परियोजना फिल्ड अफिसर जितेन्द्र प्रसाद हरिजनलगायतको सहभागिता रहेको थियो ।

स्थानीय परियोजना सल्लाहकार समितिको अनुगमनले परियोजनाका गतिविधिमा पारदर्शिता र प्रभावकारिता बढाउनुका साथै स्थानीय तह, विद्यालय, समुदाय तथा सरोकारवालाबीचको समन्वय सुदृढ गर्ने अपेक्षा गरिएको छ। शिक्षक तालिमबाट प्राप्त ज्ञान र सीपको व्यावहारिक प्रयोग तथा शिक्षण सिकाइ प्रक्रियामा सुधार ल्याउनसमेत अनुगमनले सहयोग पुग्ने विश्वास गरिएको छ ।

चाइल्डफण्ड जापान र इन्द्रेणी सामाजिक विकास मञ्चको सहकार्यमा सञ्चालित उक्त परियोजना पश्चिम नवलपरासीका सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिकाका चार–चार गरी कुल १२ सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको छ । गुणस्तरीय शिक्षा र विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजनाका मुख्य विषयगत क्षेत्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?