Butwal Today

गुल्मीमा पूर्वाधार विकास डिभिजन कार्यालय

१४ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

गुल्मी । संघीय सरकार मातहत रहने गरी गुल्मीमा नयाँ पूर्वाधार विकास डिभिजन कार्यालयको स्थापना गरिएको छ । जिल्लामा पहिलो पटक सदरमुकाम तमघासमा शुक्रबार उक्त कार्यालयको स्थापना गरिएको हो । कार्यालयले अबदेखि गुल्मी सहित अर्घाखाँची र पाल्पा गरी तीन जिल्लाको पूर्वाधार विकासको काम हेर्ने भएको छ ।

कार्यालय स्थापना भएसँगै स्वीकृत बजेट भित्र रहेर तीन वटै जिल्लाका सडक, पुल लगायतका भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका कामहरू अगाडि बढाइने भएको छ । आगामी तिहार लगत्तै कार्यालयले तीन वटै जिल्लाका निर्माण तथा विकासका आयोजनाहरूलाई पूर्ण रूपमा अघि बढाउने तयारी गरेको डिभिजन प्रमुख इन्जिनियर नवीन श्रेष्ठले बताए ।
यस अघि रूपन्देही स्थित कार्यालयले १२ वटा जिल्लाको पूर्वाधार विकासको जिम्मेवारी सम्हाल्दै आएको थियो । कामको चाप घटाउन र सेवालाई छिटोछरितो बनाउन प्रत्येक तीन जिल्ला हेर्ने गरी चार वटा डिभिजन कार्यालय स्थापना गर्ने निर्णयनुसार गुल्मी जिल्लामा उक्त कार्यालय स्थापना गरिएको हो ।

नयाँ स्थापना गरिएको कार्यालयको डिभिजन प्रमुखका रूपमा इन्जिनियर नवीन श्रेष्ठ लाई जिम्मेवारी प्रदान गरिएको छ । कार्यालय शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्री, रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटा लगायत विभिन्न सरकारी निकायका प्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

संघीय सरकार मातहतका सडक तथा पुल निर्माणका आयोजनाहरू अब नजिकैको डिभिजनबाट सञ्चालन हुने भएपछि काममा तीव्रता आउने र विकास निर्माणले गति लिने अपेक्षा गरिएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले बताए । उनले उक्त कार्यालय स्थापना हुनु जिल्लावासीका लागि खुसिको कुरा भएको बताए । केही समयका लागि अस्थायीरूपमा जिल्ला समन्वय समितिमा उक्त कार्यालयको स्थापना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?