© 2026
तम्घास । भदौ १२ र १३ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण बेलिब्रिज भत्किए पछि पहिलेको सहजतालाई यहाँका स्थानीयहरुले स्मरण गर्न थालेका छन् ।
कालीगण्डकी नदीको पुल बाढीले भत्काएपछि सबै सहजताहरु पुलसँगै गएको कालीगण्डकी गाउँपालिका वडा नम्वर एक हर्मिचौरका स्थानीयहरुले बताएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिको वडा नम्वर १ हर्मिचौरका हिमलाल पाण्डेले गुल्मीको कालीगण्डकी गाउँपालिको वडा नम्वर १ हर्मिचौर र स्याङजाको कालीगण्डकी गाउँपालिका वडा नम्वर ७ मिर्मी जोड्ने गरी कालीगण्डकी नदीको रेप्कामा रहेको बेलिब्रिज भत्किएपछि पहिले सहज रुपमा कसैको रोकावटवीना २४सैँ घण्टा आवतजावत गर्ने गरेको बताउँदै अहिले सम्झनामा मात्र सीमित हुन पुगेको बताए ।
सोही स्थानका स्थानीय बासुदेव पाण्डेले बाढीका कारण पुल भत्किएपछि वारीपारी गर्नका लागि समस्या भएको बताएका छन् । यस बेलिब्रिज भएर दर्जनौँ गाडी गुड्ने गरेको बताउँदै अहिले सबै सुनसान भएको हो । यसका साथै त्यी गाडीहरु उपल्लाखण्डमा रोकिएर खाजा नास्ता र खाना खानेगर्दा यसका चहलपहल पनि हराउँदै गएको उनको भनाइ छ । यस्तै सोही बेलिब्रिज भएर दैनिक रुपमा मिर्मी, गल्याङ, पोखरा बुटवलहुँदै काठमाडौँ चल्ने सवारीहरु नचल्दा हर्मिचौरका खाजा पसलसँगै अन्य ब्यापारमासमेत कमी आएका हर्मिचौरका ब्यापारीहरुले बताएका छन् ।
हाल अस्थायीरुपमा रेप्कामाथि गुल्मी खण्डमा रहेको सुरुङ र कालीगण्डकी जलविद्युत आयोजना कार्यालय परिसरको ड्यामको भित्री सडक प्रयोगमा ल्याइएको छ । आयोजना,गुल्मी र स्याङजाका जिल्ला प्रशासनका प्रतिनिधिसँगै सुरक्षा निकाय, गुल्मी र स्याङजाका कालीगण्डकी गाउँपालिकका प्रमुखलगायतको उपस्थितिमा तत्कालका लागि उक्त सडक प्रयोग गर्ने सहमति भएको हो ।
कालीगण्डकी जलविद्युत आयोजना प्रशासन शाखाका ठाकुर पाण्डेका अनुसार करिव तीन सय मिटर दुरीको सुरुङ र कार्यालय परिसरको ड्याम भित्रको सडक हाललाई प्रयोगमा ल्याएको बताए । उनका अनुसार दुई पाङग्रे, तीन पाङगे र चार पाङगे हलुका सवारीहरुले मात्र उक्त सडक प्रयोग गर्न सक्ने छन् । मालवहाक र ठूला बसहरु भने हाललाई सञ्चालनमा रोक लगाइएको छ ।
कालीगण्डकी जलविद्युत आयोजना निर्माणको क्रममा २०५३ सालमा इटालीयन सरकारले निर्माणका लागि सामग्री ढुवानी गर्न निर्माण गरेको बेलिब्रिज र सुरुङ निर्माण गरेको थियो । बेलिब्रिज हालसम्म प्रयोगमै रहेको थियो भने सुरुङ हालसम्म प्रयोगमा आएको थिएन् ।
गुल्मी कालीगण्डकी गाउँपालिका वडा नम्वर १ हर्मिचौरका वडा अध्यक्ष लालुप्रसाद पाण्डेले सुरुङ सफा गरी सुरुङभित्र २४ सै घण्टा बल्ने गरी लाइटको ब्यबस्था गरिएको छ । हाललाई केही मात्रामा भए पनि राहतको महसुुस भएको बताउँदै दीर्घकालीन समाधान भने यो नभएको उनको भनाइ छ । यसका लागि दुबै जिल्ला र प्रदेशको पहलमा केन्द्रिय सरकारले नै पुल गर्नमा जतिसक्दो छिटो पहल गर्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीका उप सभापति प्रगति रानाले उक्त स्थानमा पुलका लागि केन्द्रिय सरकार र मन्त्रीहरुलाई पटक पटक ध्यानआर्कषण गराउँदै आइएको बताएका छन् ।