© 2026
सल्यान ।
सल्यानमा शुक्रबार साँझ भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा जिप र बोलेरो दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सिद्धकुमाख गाउँपालिका, २ रातामाटे खोलास्थित भित्री कच्ची सडकमा श्रीनगरबाट टाकुरागाउँतर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप शुक्रबार साँझ करिब ६ः३५ बजे सडकबाट करिब १५० मिटर तल खोलामा खसेको थियो ।
दुर्घटनामा जिपमा सवार १० जना घाइते भएका थिए । घाइतेमध्ये देबहादुर विक (२४), कृष्णी बस्नेत (४२) र सुशीला चलाउने (५८) को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई अस्पतालमा पुर्याइए पनि उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य सात जनामध्ये केहीलाई जिल्ला अस्पताल सल्यान, दाङ र बाँकेको नेपालगन्ज रिफर गरिएको छ भने केहीको उपचार भइरहेको छ । घाइते हुनेमा सीता विक (४५), कमल बुढाथोकी (१५), बिमला भनिने रुपा बुढाथोकी (७), साउने रोका (४३), राधिका चलाउने (१३), दीपक रोका (२२) र युवराज परियार (१०) रहेका छन् ।
त्यस्तै, शुक्रबार राति करिब ८ः४० बजे बनगाड कुपिण्डे नगरपालिका, ११ गरास्थित खलंगा–बालुवा संग्राही सडकखण्डमा अर्को दुर्घटना भएको थियो । चौरबाट बालुवा संग्राहीतर्फ आउँदै गरेको रा १ च १७२३ नम्बरको डबल क्याप बोलेरो सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बोलेरोमा सवार १२ जना घाइते भएका छन् । घाइतेमध्ये चालक अम्मरबहादुर घर्ती (२३) र पप्पु डाँगी (२५) को अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।
त्यस्तै, निर्मला ओली (३२), पुनम बुढा (२२), तिलक वली (१५), उत्तम डाँगी (१८) , छितिज डाँगी (२६), पवित्रा डाँगी (१२), झलक डाँगी (१५), पिमकली डाँगी (२१), हरिमाया ओली (२५0र समीक्षा ओली (१८0 घाइते भएका छन् । उनीहरूमध्ये केहीको सल्यानमै उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
दुवै दुर्घटनामा घाइतेहरूको उद्धार गरी प्रहरी टोलीले अस्पताल पुर्याएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।